मुख्य समाचार देश

२ सय ७४ सिटे दोस्रो वाइड बडी जहाज 'मकालु' काठमाडाैं अाइपुग्याे

२ सय ७४ सिटे दोस्रो वाइड बडी जहाज 'मकालु' काठमाडाैं अाइपुग्याे

काठमाडौं । उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले दोस्रो वाइड बडी जहाजलाई बिहीबार काठमाडाैं भित्र्याएकाे छ ।  ‘९एन–एएलजेड’ कलसाइन दिइएको  उक्त जहाज ९ घन्टा लगाएर फ्रान्सको टुलुसस्थित एयरबसको कारखानाबाटसिधै काठमाडौं ल्याएकाे हाे । 

 

 निगमले यो जहाजको नाम ‘मकालु’ राखेको छ । दोस्रो वाइड बडीलाई पहिलो झैं हाइफ्लाई एक्सकै पाइलटले उडाएर काठमाडौं ल्याएका हुन् । पहिलो वाइड बडीलाई ‘९एन–एएलवाई’ कलसाइन र नाम ‘अन्नपूर्ण’ दिइएको छ । निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा उत्पादित २ सय ७४ सिट क्षमतायुक्त ‘ए३३०–२००’ सिरिजको वाइड बडी जहाज दुईथान खरिद सम्झौता विगतमै गरेको थियो । यसमा १८ बिजनेस क्लास र २ सय ५६ इकोनोमी क्लास सिट छन्।

निगमले भने हालसम्म महेश्वरमान (एमएम) डंगोल र श्रवण रिजालसहित ६ जना पाइलट तयार पारेको छ । ती ६ जनाले अहिले नै वाइड बडी कमान्ड गरेर उडाउन भने पाउँदैनन् । केही सय घन्टासम्म कमान्डर (क्याप्टेन) सँग फस्र्ट अफिसर (कोपाइलट) भएर उडेपछि मात्र क्याप्टेनका रूपमा जहाज कमान्ड गरेर उडाउन पाइन्छ।

 

पहिलो वाइड बडीलाई आगामी बुधबार (साउन १६ गते) बाट नियमित व्यापारिक उडानमा प्रयोग गर्ने निगमले जनाएको छ । पहिलो वाइड बडीको पहिलो उडान कतारको दोहाका लागि हुने तालिका बनाइइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । यो जहाजले गत सोमबार काठमाडौंबाट भारतको नयाँदिल्लीका लागि ‘प्रुभिङ’ उडान गरेको थियो।

 

सम्बद्ध अधिकारीका अनुसार निगमलाई जहाज बेच्ने ग्लोबल टेन्डर जितेको अमेरिकी उड्डयन सहयोग कम्पनी एएआर कर्पोरेसन, पोर्चुगलको हाइफ्लाई एयरलाइन्स र जर्मन क्यापिटलको सहवित्तीयकरणमा खडा भएको कम्पनी ‘हाइफ्लाई एक्स’ को नाममा पहिलो किस्तावापत ८ अर्ब रुपैयाँ पठाइएको थियो । हाइफ्लाईले त्यही रकम एयरबसलाई पठाएर दुइटा ए ३३० खरिद अर्डर गरेको थियो ।

 

निगमले दुईथान वाइड बडी जहाज खरिद गर्न आवश्यक २४ अर्ब रुपैयाँमध्ये १२ अर्ब सञ्चय कोष र बाँकी १२ अर्ब नागरिक लगानी कोषसँग लिन ऋण सम्झौता गरेको थियो । सरकारले २०७४ वैशाख ७ गते निगमले खरिद गर्ने दुईथान वाइड बडी जहाजलाई आवश्यक करिब २५ अर्ब रुपैयाँमा जमानी बस्ने निर्णय गरेको थियो। 

नेपाल नागरिक उड्डयन प्राधिकरण दोस्रो वाइड बडी जहाज

विशेष