अन्तरवार्ता भिडियो

कांग्रेस नेता डा. रिजाल भन्छन् : ‘नेकपामा झलनाथ खनालको अधिकार सुरक्षित छ ?’ (भिडियोसहित)

कांग्रेस नेता डा. रिजाल भन्छन्  : ‘नेकपामा झलनाथ खनालको अधिकार सुरक्षित छ ?’ (भिडियोसहित)

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभाका सदस्य डा. मिनेन्द्र रिजालले डा. गोविन्द केसीको विषयमा केपी ओलीको सरकारले ठूलो घमण्ड र ज्यादतीको प्रदर्शन गरेको बताएका छन् । 


डा. रिजालले गोविन्द केसीका मागका सम्बन्धमा सरकार पहिले वार्ताका लागि तयार नभएको र अहिले सघन रूपमा वार्ता गर्नुपर्छ भनेर आखिरमा जनताका अगाडि झुक्नु पर्दछ भन्ने मान्यतामा सरकार गएको पनि बताए । 


नेपाल आजसँग सामयिक विषयमा कुराकानी गर्दै नेता रिजालले नयाँ संविधानले आ–आफ्नो आस्थाअनुसार हकहितका लागि लड्न पाउने अधिकार सुरक्षित गरेअनुरूप नै डा. केसी आफ्नो आस्थाका लागि लडिरहेको र उनले विनारोकटोक लड्न पाउनुपर्नेमा जोड दिए । उनले असली लोकतन्त्रको पहरेदार जनता भएको पनि उल्लेख गरे ।


‘प्रधानमन्त्रीमा अरूलाई जिस्क्याउने, खिसी गर्ने दम्भ देखिएको छ’

उनले भने, ‘डा. केसीको माग पूरा नगरिनु पछाडि सरकार शुभलाभतर्फ अभिप्रेरित देखिन्छ । अर्को प्रधानमन्त्रीदेखि लिएर मन्त्रीहरूसम्म अर्कालाई जिस्क्याउने, खिसीटिउरी गर्ने र आफू निकै ठूलो छ भनेर देखाउने दम्भ देखिएको छ ।

 

यहाँसम्म कि सरकारमा जनता प्रमुख होइन, नियम, कानुन प्रमुख होइन, हामीसँग दुई तिहाइ छ, संविधान प्रमुख होइन हाम्रो नीति निर्देशनअनुरूप चल्नुपर्दछ भन्ने अहं भाव उत्पन्न भएको छ । एउटा कुरा के छ भने वर्तमान सरकारमा संविधान बदल्ने ताकत छ भनेर संविधान मान्दिनँ भन्न पाइन्न । संविधान हुँदासम्म संविधान मान्नु पर्दछ ।’


नेता डा. रिजालले संविधान, ऐननियम बदल्ने ताकत छ भन्दैमा संविधान मान्दिनँ, ऐन मान्दिनँ भन्नु त्यो नै हो अधिनायकवाद, त्यो नै हो सर्वसत्तावाद हो भन्ने टिप्पणी गरे ।  


डा. रिजालले ओली सरकारले प्रतिपक्ष नै छैन भने कांग्रेसलाई होच्याएर बोल्नु र गोविन्द केसीलाई केही होइन भन्नु सत्ताको उन्माद र शुभलाभको कुरा हो टिप्पणी गर्दै भने, ‘कांग्रेसलाई पेल्न ओली र प्रचण्ड एक ठाउँमा उभिएका हुन् ।

 

सबभन्दा पहिले उहाँहरूले यो भन्नु प-यो संघीयता र गणतन्त्रको विषयमा दुबैको एउटै विचार हो ? अर्कोतर्फ एउटा अर्केस्ट्रा मिलाएर प्रधानमन्त्रीलगायत राज्यले एक भएर कांग्रेसलाई गाली गरेका छन् ।

 

यो भनेको कांग्रेस सकिन थालेको होइन उहाँहरू कांग्रेससँग आत्तिन थालेको हो । उहाँहरूमा निर्वाचनको विजय उन्माद रहेता पनि मुलुकमा कांग्रेस रहेसम्म लोकतन्त्रलाई तलमाथि गर्न सकिँदैन्, कांग्रेस रहेसम्म जनताको हक, अधिकारसँग खेलवाद गर्न सकिँदैन् र कांग्रेस रहँदासम्म यो संविधान सुरक्षित रहन्छ भनेर उहाँहरू आत्तिनु भएको हो ।’


‘सरकारलाई संविधान नै चाहिएको छैन ।  कांग्रेसको अधिकारको त कुरा छोड्नुस्, उहाँहरूको पार्टीमा राजनीतिक कार्यकर्ताको अधिकार कहाँ छ ? कार्यकर्ताको पनि कुरा छोड्नुस्, उहाँहरूको पार्टीको अध्यक्ष भइसकेका महासचिव एवं प्रधानमन्त्री भइसकेका झलनाथ खनालको अधिकार सुरक्षित छ कि छैन कसैले जवाफ दिनुपर्दैन ? आम नागरिकले बुझेको कुरा हो ।

 

जुन नेताको नेतृत्वमा त्यति ठूला नेताको त अधिकार सुरक्षित छैन आम कार्यकर्ताको कुरैै छोड्दिनुस् । अहिले उहाँहरूको पार्टीमा लाइन लगाइएको छ । दुईटा अध्यक्षलाई हिजो महाराज कि जय हो भनेर बोल्यो भने मात्रै हामीहरू सुरक्षित छौं भन्ने उहाँहरूको पार्टीमा प्रवृत्ति देखिन्छ’, डा. रिजालको टिप्पणी थियो । 


डा. रिजालले एक प्रसंगमा नेपाली कांग्रेस संघीयताअनुरूप पार्टी सुढृढीकरणतर्फ लागेको र सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले सक्रिय नेतृत्वभन्दा पनि कांग्रेसमा अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने विचार पनि अभिव्यक्त गरेका छन् ।

डा. मिनेन्द्र रिजाल केपी ओली

विशेष