जुत्ता नलगाई सवारी चलाए ५ सय रुपैया जरिवाना
बिराटनगर । ट्राफिक प्रहरी कार्यालयले नयाँ नियम ल्याएको छ । सार्वजनिक सवारी चालकलाई अनिवार्य रुपमा जुत्ता लगाएरै गाडि चलाउने नियम आएको छ । अटेर गरी जुत्ता नलगाई सवारी चलाएमा चालकले न्यूनतम ५ सय रुपैयाँ जरिवाना तिर्नुपर्ने नियममा रहेको छ ।
चालकहरुलाई जुत्ता लगाएर सवारी चलाउन ट्राफिकले एक साताको समय दिएको थियो । जुत्ता नलगाइ चलाउने चालकलाई पहिलोचरणमा ट्राफिक कार्यालयमा ल्याएर जुत्ता किनाउने समेत गरिएको छ ।
यदि दोस्रो पटक पनि जुत्ता नलगाएको भेटिएमा कारवाहीमा परिने ट्राफिक प्रहरी कार्यालयका प्रमुख शिवप्रसाद पोखरेलले जनाए । ‘पहिलो चरणमा कार्बाही भन्दा पनि जुत्ता नलगाउने सवारी चालकलाई कार्यालयमा ल्याएर परामर्शसहित जुत्ता किन्न लगाउने गरेका छौं’ उनले भने ।
हालसम्म जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले ८० वटा सार्वजनिक सवारीका चालकलाई कार्यालयमा ल्याएर जुत्ता किन्न लगाइसकेको छ ।
यस्तै जुत्ता लगाउन बारम्बार अटेर गर्ने ५ जना चालकलाई भने कार्बाही नै गरिएको पोखरेलले जानकारी दिए । जुत्ता नलगाउनेमा धेरैजसो अटो र सिटीसफारीका चालकहरू रहेका छन् । यस्तै बस, माइक्रो बस, जीप तथा अन्य भाडाका सवारी चालकहरूलाई पनि जुत्ता लगाउन सचेत गराई सकिएको छ ।
बुढीगंगा गाउँपालिका स्थित नेमुवा र विराटनगरको बस पार्कमा सार्वजनिक यातायातका चालकले जुत्ता लगाएको वा नलगाएको भन्नेबारे दिनहुँ अनुगमन हुने भैरहेका पोखरेलले बताए । चप्पल लगाएर सवारी चलाउँदा दुर्घटनाको संभावना धेरै हुने गरेको छ ।
खुट्टामा पासिना आउने र चप्पल चिप्लीएर दुर्घटना हुने गरेको छ । निजी सवारी साधनका चालकलाई भदौ देखि जुत्ता अनिवार्य गर्ने योजना रहेको पोखरेलले बताए ।