मेरो गाउँपालिकामा बिजुली, खानेपानी, स्वास्थ्य, सिंचाई, मोटरबाटो केही पनि छैन (भिडियोसहित)
काठमाडौं । कर्णाली विकट छ, विकासमा पछाडि परेको छ । कर्णाली प्रदेश अन्तर्गत पर्ने कालिकोट जिल्ला कस्तो होला ? कालिकोटको वास्तविकता वर्णन गर्न हामीले सो जिल्लाको पचाल झरना गाउँपालिकाका प्रमुख खड्गराज सेजुवाललाई नेपाल आजमा निम्तो गरेका छौं ।
सेजुवाल साविकका तीन गाविस मिलेर बनेको पचाल झरना गाउँपालिकाका प्रमुख छन् । उनको गाउँपालिका घुम्न मोटरबाटो छैन । पैदल घुम्दा १५ दिन जति लाग्छ । आकारमा पचाल झरना ठूलो छ भन्ने १५ दिने कुराले स्पष्ट पार्छ । पचाल झरनाका जनताका लागि बिरामी पर्दा गतिलो स्वास्थ्य केन्द्र छैन । बालबालिकाका लागि गुणस्तरीय शिक्षा दिने विद्यालय पनि छैन । सरकारी विद्यालय कर्णाली जत्तिकै पछाडि परेका छन् । यो गाउँपालिकाको बीचबाट कर्णाली नदी बग्छ, तर अधिकांस खेतबारी, डाँडाहरु सुख्खा छन् । सिंचाईको सुविधा छैन । बिजुली पनि छैन ।
राम्रो उब्जनी नभएका कारण यो क्षेत्रका जनतामा पर्याप्त खाद्य र पोषणको व्यवस्था पनि छैन । बालबालिकाहरु बेला बेला कुपोषणको सिकार हुन्छन् । यो क्षेत्रसम्म पुग्न एक दिनको पैदल हिँड्नुको विकल्प छैन । गाउँपालिका प्रमुख सेजवालको दावीअनुुसार नेपालकै सबैभन्दा लामो झरना ‘पचाल झरना’ हो । तर प्रचार अभावमा यो विषय बाहिर आउन सकेको छैन ।
भौतिक विकासमा मात्रै होइन, सामाजिक विकास र चेतनामा पनि पचाल झरना निकै पछाडि छ । कृषि, पशुपालन आदि फस्टाएको छैन । उद्योग कलकारखना भन्ने त यो क्षेत्रका जनताले थाहा पाउने कुरै भएन । वर्षभर काम गर्दा पनि खान पुग्ने गरी अन्न उत्पादन हुँदैन । किनभने सिंचाईको सुुविधा उपलब्ध छैन ।
गाउँपालिकामा जनप्रतिनिधि आएपछि अहिले सौर्य ऊर्जामा आधारित वाटर लिफ्ट गरेर सिंचाई गर्ने एउटा नमूना परीक्षण सेजवालले गरेका छन् । हरेक वडाबाट १० –१० जनाको युवा समूह बनाएर विकासे काममा लगाएका छन् । यो बाहेक द्रूत गतिमा काम अगाडि बढेको छैन ।
जम्मा १४ हजार जनसंख्या रहेको पचाल झरनाका मानिसहरु सबैलाई अर्को व्यवस्थित ठाउँमा बसाई सार्नु सबैभन्दा उपयुक्त छ । तर मानिसहरु बसाईमा जान मान्दैनन् । गाउपालिका एक्लैले त्यो गर्न सक्दैन । केन्द्र सरकारलाई यसबारे सोच्ने फुर्सद पनि छैन । एउटा डाँडाको टाकुरामा दुई घर, अर्को टाकुरामा चार घर जसरी बस्ती बसेको छ । जसका कारण ती क्षेत्रमा विकासका पूर्वाधार लैजान गाह्रो परेको छ । लैजान बढी खर्चिलो पनि छ ।