ओलीलाई मधेसविरोधी भन्ने उपेन्द्र यादव अहिले उनकै छहारीमा छन् (भिडियोसहित)
काठमाडौं । बहुल राष्ट्रिय समाजवादी पार्टीका अध्यक्ष किशोरकुमार विश्वासले वर्तमान सरकारले नातिको पालमा पनि नसकिने योजनाहरुको बढी प्रचार गरेको बताएका छन् । नेपालआजसँगको कुराकानीका क्रममा अध्यक्ष विश्वासले जनताका तत्कालका आवश्यकता पूरा गर्नु त कता हो कता सरकार मोनो रेल, मेट्रो रेल, पानीजहाज जस्ता विषयमा बढी रुमल्लिएको दाबी गरे । जनताले दैनिक भोगिरहेको सास्तीबारे सरकार बेखबर जस्तै हुने अनि देशमा रेल चल्दैछ भनिरहने रवैयाले सबै आजित भइसकेको उनको टिप्पणी छ ।
मधेसी दलहरुसँग बढी आक्रामक हुने गरेका अध्यक्ष विश्वासले भने, ‘यो संविधानमा पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान हुँदैन भने महाभारत हुन्छ भन्ने उपेन्द्र यादव हो ।’
राजेन्द्र महतोसहितकाले मधेस अलग राष्ट्र हो, एमाले मधेसविरोधी राजनीतिक दल हो भनेर घोषणा गरेका थिए । उनीहरुको उद्देश्य नामांकन र सीमांकन संशोधनको माग थियो । अध्यक्ष विश्वास भन्छन्, ‘संविधानको पुनर्लेखन हुनुपर्छ भन्ने उपेन्द्र यादव नै हो । तर राजपा र संघीय समाजवादी सरकारमै गएका छन् ।’
सप्तरीको मलेठमा संविधानमा कुरा मिलेन भनेर पाँच जनाको हत्या गरियो । केपी ओलीलाई मधेसविरोधी करार दिइयो । पाँच जनाको शवमा उपेन्द्र र महन्थहरुले राजनीति गरे । मर्ने मरिहाले अहिले दुवै थरी शक्ति मिलेर जनताको शवमा आफ्नो सत्ताको कुर्सी राखेर मस्ती गरिरहेका छन्–अध्यक्ष विश्वास भन्छन् ।
उनले थपे, ‘संविधानका अन्तर्वस्तु त फगत कुरा मात्रै रहेछन् । यदि भित्री कुरा यस्तो थियो भने पाँच पाँच जना जनता किन एकै ठाउँमा मारियो ? आफ्नो सत्ताका लागि जनताको बली दिन मिल्छ ? ’
किशोरकुमार विश्वास बहुल राष्ट्रिय समाजवादी पार्टी