मुख्य समाचार राजनीति

चार रिक्त नियोगमा राजदूत नियुक्तिको तयारी

संसदीय सुनुवाइ समिति गठन भएपछि राजदूत नियुक्ति गर्छौँ : परराष्ट्रमन्त्री 

चार रिक्त नियोगमा राजदूत नियुक्तिको तयारी

सरकारले न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय स्थायी नियोग तथा तीन देशमा राजदूत नियुक्तिको तयारी गरेको छ । हाल रिक्त रहेका भारत, मलेसिया र संयुक्त अरब इमिरेट्स (युएई)स्थित दूतावासमा राजदूत नियुक्तिको तयारी भएको हो । यसका लागि सरकारले संसदीय सुनुवाइ समिति पर्खेको छ ।

 

‘संसदीय सुनुवाइ समिति गठन भएलगत्तै हामी रिक्त रहेका नियोगमा राजदूत नियुक्त गर्छौं,’ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नयाँ पत्रिकासँग भने, ‘त्यतिवेलासम्म सरकारले राजदूत नियुक्तिसम्बन्धी मापदण्ड पनि टुंग्याउनेछ ।’ उनका अनुसार परराष्ट्र मन्त्रालयले राजदूतको योग्यतालगायतको मापदण्ड तयार गरेको छ र मन्त्रिपरिषद्ले  पारित गर्नेछ ।

 

न्युयोर्कस्थित नियोगका स्थायी प्रतिनिधि दुर्गा भट्टराईको म्याद सकिए पनि अर्को निर्णय नभएसम्म काम गर्नु भन्ने सरकारको निर्देशन छ । भारतका लागि राजदूत दीपकुमार उपाध्यायको राजीनामा १ कात्तिकदेखि लागू हुनेगरी अघिल्लो सरकारले स्वीकृत गरेको थियो । राजदूत नभएकै अवस्थामा प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण भयो भने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गरे ।

 

मलेसियामा डा. निरञ्जनमानसिंह बस्न्यात पदावधि सकेर फर्केपछि राजदूत खाली छ । युएई लामो समयदेखि कार्यवाहकले चलाउँदै आएका छन् । अघिल्लो सरकारले कांग्रेस कोटाबाट यशोदा लामालाई राजदूत नियुक्त गरे पनि उनको योग्यता र क्षमताको प्रश्न उठेपछि सरकारले निर्णय
उल्ट्याएको थियो ।


 राजदूतको मूल्यांकन हुँदै

सरकारले राजनीतिक पृष्ठभूमिका आधारमा नभएर कार्यक्षमताका आधारमा राजदूत फिर्ता बोलाउने भएको छ । सरकार बदलिएपछि अर्को दलको पृष्ठभूमि बोकेका राजदूत फिर्ता बोलाउने चलन नदोहो-याउने परराष्ट्रमन्त्री ज्ञवालीले बताए ।

 

‘हामी राजनीतिक आस्थाका आधारमा राजदूतसम्बन्धी निर्णय गदैैनौँ, उहाँहरूलाई त्यही आधारमा फिर्ता बोलाउँदैनौँ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘सबैको कार्यसम्पादन मूल्यांकन गर्छौं, त्यसका आधारमा आवश्यक निर्णय लिन्छौँ ।’


 प्रधानसेनापति चीन र म्यानमार जाँदै
प्रधानसेनापति राजेन्द्र क्षत्री चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणामा चीन र म्यानमारका समकक्षीको निमन्त्रणामा त्यसतर्फ जाने भएका छन् । उनी मंगलबार चीनबाट म्यानमार हुँदै १० दिनपछि स्वदेश फर्किने कार्यक्रम छ ।

 

चीनमा प्रधानसेनापतिले चिनियाँ समकक्षीसहित उच्च सैन्य तथा सरकारी अधिकारीसँग भेटवार्ता गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । तिब्बत र सिन्जियाङ हेर्ने पश्चिम थियटर कमान्डका प्रमुख लेफ्टिनेन्ट जनरल लिउ सियाओउ नेतृत्वको उच्चस्तरीय टोली सोमबार भारत पुगेको भोलिपल्ट क्षत्री चीन जान लागेका हुन् ।

 

नेपालसँगको सैन्य सम्बन्धका लागि जनरल लिउ महत्वपूर्ण मानिन्छन् । सैनिक स्रोतका अनुसार पाँच दिनपछि सिचुआन फर्किन लागेका लिउ र प्रधानसेनापति क्षत्रीबीच चीनमा भेटवार्ता हुन सक्ने सम्भावना छ । प्रधानसेनापति क्षत्री २९ असारमा स्वदेश फर्किने कार्यक्रम छ ।


चर्चामा को को ?

कूटनीतिक स्रोतका अनुसार सरकारले भारत र मलेसियामा परराष्ट्र सेवाबाहिरबाट राजदूत पठाउनेछ भने न्युयोर्कस्थित नियोग र युएईमा परराष्ट्रका सहसचिवलाई पठाउनेछ ।

 

भारतका लागि पूर्वप्रमुख निर्वाचन आयुक्त डा. नीलकण्ठ उप्रेती, पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको नाम नेकपा वृत्तमा चर्चामा छ । उनीहरूले पटक–पटक अवसर पाएको हुनाले विकल्प खोज्नुपर्ने दबाब पनि पूर्वएमाले वृत्तले दिइरहेको छ ।

 

परराष्ट्र सचिवलाई न्युयोर्क पठाउने पछिल्लो प्रचलन रहे पनि परराष्ट्र सचिव शंकरदास वैरागीले अनिच्छा व्यक्त गरेको बुझिएको छ । सचिवका रूपमा उनको कार्यकाल अझै अढाइ वर्ष छ । वैरागी नगएको अवस्थामा परराष्ट्रका वरिष्ठ सहसचिव भरतराज पौड्याललाई न्युयोर्क पठाउने सम्भावना रहनेछ ।

 

वैरागी गए पौड्यालले सचिवमा पदोन्नति हुने अवसर पाउनेछन् । अहिले बहालवाला सहसचिवमध्ये वरिष्ठ रहेका थाइल्यान्डका लागि राजदूत खगनाथ अधिकारीले उमेरहदका कारण अब एक महिनाभित्रै अवकाश पाउँदै छन् । त्यसकारण वैरागीपछि वरीयता र क्षमताका आधारमा पौड्याल परराष्ट्र सचिव हुने सम्भावना छ ।

 

तर, पूर्वएमाले वृत्तमा परराष्ट्र सचिव वैरागीलाई भारतका लागि राजदूत बनाएर न्युयोर्कमा परराष्ट्रबाहिरका व्यक्तिलाई पठाउने विकल्पका बारेमा पनि छलफल भइरहेको छ ।

 

राजनीतिक तबरमा सम्बन्ध सुदृढ रहेको अवस्थामा सचिवलाई राजदूत बनाएर दिल्ली पठाउँदा भारतको कर्मचारीतन्त्रसँग सशक्त संवाद गर्न सकिने सम्भावना सरकारले देखेको छ । तर, यसबारे सचिव वैरागीसँग सघन छलफल नभएको कूटनीतिक स्रोतले बतायो ।

 

न्युयोर्कका लागि भने भदौ अन्तिम साताबाट अवकाश पाउन लागेका प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई पठाउनुपर्ने सुझाब पनि प्रधानमन्त्रीकहाँ पुगेको बुझिएको छ । क्षत्री निकटस्थले उनलाई न्युयोर्क पठाए राष्ट्रसंघमा नेपालको उपस्थिति सशक्त हुने सुझाब दिएका छन् ।

 

प्रधानमन्त्री केपी ओलीको अघिल्लो कार्यकालमा भारतीय नाकाबन्दी हटाउन क्षत्रीले गरेको सैन्य कूटनीतिक पहलका बारेमा क्षत्री निकटस्थले प्रधानमन्त्रीलाई सम्झाइरहेको बालुवाटार स्रोतको भनाइ छ ।

 

मलेसियाका लागि पूर्वएमाले नेता उदय पाण्डेलाई राजदूत बनाउने तयारी छ । युएईका लागि परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाललाई पठाउने सम्भावना देखिएको छ । उनी यसअघि लामो समय नयाँदिल्लीस्थित दूतावासमा उपनियोग प्रमुख एवं कार्यवाहक राजदूत थिए ।

 

पूर्वराजदूत दीपकुमार उपाध्यायसँग खटपट भएपछि उनलाई परराष्ट्र मन्त्रालयले फिर्ता बोलाएको थियो । उनी भरतराज पौड्यालपछि परराष्ट्रका वरिष्ठतम् सहसचिव हुन् ।

प्रदीपकुमार ज्ञवाली राजदूत नियुक्ति

विशेष