नेपाल-भारत जलमार्ग सम्झौता कार्यान्वयन हुँदै
काठमाडौं । नेपाल र भारतका प्रधानमन्त्रीबीच नेपाललाई जलमार्गबाट जोड्ने सम्बन्धमा भएको सम्झौता कार्यान्वयन गर्न दुवै देशका अधिकारीहरूबीच छलफल हुने भएको छ। आगामी असार ३१ र ३२ काठमाडौंमा दुवै देशका छुट्टाछुट्टै संयन्त्रको संयुक्त बैठक बसी जलमार्गका सम्भावना, प्राविधिक तथा आर्थिक पक्ष र कुन नदीमा कस्तो खालको पानीजहाज चलाउन सकिन्छ भन्नेबारेमा विस्तृत छलफल हुने भएको हो।
बैठकमा जलस्रोत, ऊर्जा तथा सिंचाइ मन्त्री वर्षमान पुनले गठन गरेको समिति र भारतको इनल्यान्ड वाटरवेज अथोरिटीका अधिकारीबीच छलफल हुन लागेको नेपालतर्पmका संयोजक एवं जल तथा ऊर्जा आयोग सचिवालयका सहसचिव माधव बेलबासेले बताए।
मन्त्री पुनले बेलबासेको संयोजकत्वमा मन्त्रालयका सहसचिव प्रवीण अर्याल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव गोपाल सिग्देल, परराष्ट्र मन्त्रालयकी उपसचिव रीता धिताललगायत वाणिज्य मन्त्रालयका अर्का उपसचिव रहेको समिति गठन दुई साताअघि गरेका थिए। यही समितिले भारतीय अधिकारीहरूसित जलमार्ग सञ्चालनको विस्तृत पाटो अध्ययन गरी भारतसित सहमति गर्ने कार्यादेश पाएको छ।
सहसचिव बेलबासेका अनुसार प्रारम्भिक अध्ययनले भारतको हल्दिया बन्दरगाहलाई जलमार्गबाट जोड्ने उपयुक्त नदी गण्डक र कोसी देखिएको छ। उनका अनुसार यी दुवै नदीमा अति सुख्खायाममा समेत डेढदेखि दुई मिटरको गहिराइ उपलब्ध छ।
५०० टनको सामान ओसार्ने बार्ज यो नदीसम्म ल्याउन डेढ मिटर गहिराइ पर्याप्त रहेको बेलबासेले बताए। हल्दियादेखि कोसीको नेपाल भारत सीमा क्षेत्रसम्म सात सय २५ किलोमिटर दूरी छ भने गण्डकसम्म आठ सय ५० किलोमिटर पर्छ। अन्नपूर्णपाेष्ट दैनिकबाट ।
जलमार्ग नेपाल-भारत सम्झौता