मुख्य समाचार राजनीति

गृहमन्त्री बादलको छुद्र जवाफ : ‘डा. केसी तानाशाही, पन्ध्रहजार गंगामाया छन्’

गृहमन्त्री बादलको छुद्र जवाफ :   ‘डा. केसी तानाशाही, पन्ध्रहजार गंगामाया छन्’

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले अनशनरत डा. गोविन्द केसीका विषयमा अनौठो टिप्पणी गरेका छन् । गृहमन्त्रीले डा. केसीलाई ‘तानाशाही चरित्र’ का व्यक्ति भनी चित्रण गरे ।   


राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले डा. केसी र गंगामायाका विषयमा सरकारले जवाफ नदिएसम्म सदनको कारबाही अगाडि बढ्न नदिने भनी बैठक अवरुद्ध गरेपछि सार्वजनिक महत्वको विषयमा बुधबार जानकारी दिँदै गृहमन्त्री थापाले भने, ‘डा. केसीको आफूले मात्र भनेको हुनुपर्ने भन्दै अनशन बस्ने शैली तानाशाही प्रवृत्ति हो ।’


गृहमन्त्री थापाले गंगामायाका विषयमा पनि छुद्र टिप्पणी गरेका छन् । उनले भने, ‘मुलुकमा एउटामात्र गंगामाया छैनन् । सरकारलाई पन्ध्र हजार गंगामायाको आँशु हेर्नुपरेको छ ।’  उनले जनताको क्रियाकलाप प्रभावित नहोस् भन्ने हेतुले सरकारले अति संवेदनशील केही स्थानमा निषेधाज्ञा जारी गरेको जानकारी दिए । 


राष्ट्रियसभाको बैठकमा गृहमन्त्री थापाले मुलुकमा सुशासन कायम राख्न र लोकतन्त्रको सुदृढीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताए । विगतमा भएका सम्झौतालाई नै आधार मानेर विधेयक सामान्य प्रक्रियाबाट ल्याउने प्रयास भइरहेको बताउँदै उनले सरकारले अदालतको निर्णयलाई अवज्ञा नगर्ने बताए । 


सामाजिक विकृति र विसंगतिका रूपमा रहेको छाउपडीलगायत कुप्रथाको अन्त्य गर्न सामाजिक जागरणको अभियान सञ्चालन गर्नुपर्नेमा उनको जोड थियो । ‘मुलुकमा भएको अविरल वर्षापछि आएको बाढीपहिरोबाट जनधनको क्षति भएको छ, तराईमा डुबान हुँदैछ, यही असार १५ गते यता हालसम्म झन्डै दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको छ, १५ जनाभन्दा बढी मानिस बेपत्ता छन्’ गृहमन्त्री थापाले भने । 

 

उनले भने, ‘विपत् न्यूनीकरणका लागि सदनमा उठिरहेको आवाज, राहत र उद्धारका कार्यक्रमलाई सम्बोधन गर्न सरकार सचेत र जागरुक रहेको छ ।’ प्राकृतिक प्रकोपका घटनामा परेर कमभन्दा कम क्षति होस् भन्नेतिर सरकारको पर्याप्त ध्यान रहेको छ भन्दै गृहमन्त्री थापाले द्वन्द्व पीडितका बारेमा प्रश्न उठेकालाई समाधान गर्न राहत वितरण गर्ने र सबै समस्यालाई दीर्घकालीन ढंगबाट होस् भन्ने हिसाबले गृहकार्य भइरहेको बताए । 

गृहमन्त्री छुद्र जवाफ

विशेष