मुख्य समाचार समाज देश

इयूले ६१.४ मिलियन युरो सहयोग दिने घोषणा

इयूले ६१.४ मिलियन युरो सहयोग दिने घोषणा

काठमाडौं । नेपाल र युरोपियन युनियनबीचको १० औं संयुक्त आयोगको बैठक ब्रसेल्समा सम्पन्न भएको छ ।  युरोपियन युनियनले गत बिहीबार ब्रसेल्समा जारी गरेको विज्ञप्तिअनुसार संयुक्त आयोगको बैठकमा दुई पक्षबीच आपसी चासो र नेपालको हितका सम्बन्धमा गहन छलफल भएको थियो ।

 

बैठकमा युरोपियन युनियनले नेपालमा हालै सम्पन्न तीन तहको निर्वाचनबाट हासिल गरेको राजनीतिक उपलब्धिलाई समर्थन र बधाईज्ञापन गरेका छन् । 


त्यस्तै बैठकमा नेपाली पक्षले निर्वाचनपछि गठित सरकारका विकासका गतिविधि र आर्थिक उन्नतिका लागि गरिएका प्रयासका सन्दर्भमा विस्तृत अवधारणा प्रस्तुत गरिएको थियो । 


बैठकमा युरोपियन युनियनले समर्थन र सहयोग गरेका क्षेत्रहरू जस्तै, शिक्षा (प्राथमिक, माध्यमिक र व्यावसायिक) मा प्राप्त उपलब्धिप्रति सन्तोष प्रकट गरिएको थियो । त्यसैगरी नेपालमा सञ्चालित पोषण तथा ग्रामीण क्षेत्रमा गरिएको कफीखेतीका माध्यमबाट सिर्जना भएको रोजगारीले नेपालको आर्थिक विकासमा टेवा पुर्याएको समीक्षा गर्नुका साथै उक्त कार्यक्रमलाई सरकारले प्राथमिकता तोकेका क्षेत्रमा निरन्तरता दिन पनि बैठकमा सहमति भएको  थियो ।


बैठकमा आगामी वर्षका लागि कृषि तथा ग्रामीण, शैक्षिक विकास कार्यक्रमलगायत सञ्चालनार्थ करिब ६१.४ मिलियन युरो सहयोगसम्बन्धी सम्झौतामा दुबै पक्षले हस्ताक्षर गरेका छन् । बैठकमा नेपालको व्यापार तथा निकासीजन्य वस्तुहरूको अवस्थाका सम्बन्धमा पनि उल्लेखनीय छलफल भएको थियो । 


युरोपियन युनियनले र नेपालले क्षेत्रीय व्यापार अवधारणाअन्तर्गत सार्क र बिमस्टेकको महत्वलाई बैठकले प्राथमिकता दिएको छ । 
बैठकमा नेपाल संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित भएको तथा नेपालमा मानवअधिकारको स्थिति सन्तोषजनक एवं नेपालले मानव बेचबिखन नियन्त्रण गर्न गरेका प्रयासप्रति युरोपियन युनियनले प्रशंसा गरेको थियो ।

 

त्यस्तै युरोपियन युनियन र नेपालले प्रजातान्त्रिक सिद्धान्त, कानुनको शासन, सुशासन र  मानवअधिकार तथा आधारभूत स्वतन्त्रताप्रति प्रतिबद्धता जनाएको छ । 


बैठकमा क्लाइमेट चेन्जसम्बन्धी पेरिस सम्झौताअनुरूप दुबै पक्षले सहकार्य गर्दै जाने सहमति पनि व्यक्त गरिएको छ । नेपाली पक्षको तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागी र युरोपियन युनियनको तर्फबाट एसिया प्यासिफिकका लागि डेपुटी म्यानेजिङ डाइरेक्टर पाउला पाम्पालोनीको सहअध्यक्षतामा बैठक सम्पन्न भएको थियो । नेपाल र युरोपियन युनियनबीचको संयुक्त आयोगको बैठक सन् २०२० मा नेपालमा हुनेछ ।          
 

युरोपियन युनियन

विशेष