राजनीति

सरकारले प्रतिपक्षीलाई द्वन्द्वका लागि खुला आमन्त्रण गर्‍यो: कांग्रेस

मुखमा लोकतन्त्रको रामराम र बगलीमा स्टालीनवादको धङधङी

सरकारले प्रतिपक्षीलाई द्वन्द्वका लागि खुला आमन्त्रण गर्‍यो: कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले वर्तमान सरकारले अघिल्लो सरकारले गरेको नियुक्ति खारेज गरेर प्रतिपक्षलाई द्वन्द्वका लागि खुला आमन्त्रण गरेको टिप्पणी गरेको छ ।गत असार १४ गतेदेखि फागुन २ गतेसम्म गरिएका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेर विधिलाई उल्लंघन गरेको ठहर गर्दे कांग्रेसले निर्णयमार्फत् सरकारले द्वन्द्वका लागि प्रतिपक्षलाई खुला आमन्त्रण गरेको टिप्पणी गरेको हो ।

 

बिहीबार पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शेरबहादुर देउवा सरकारले गरेको नियुक्ति खारेज गरेर सरकारले विधिको शासनको उलंघन गर्नुका साथै द्वन्द्व बढाउन चाहेको बताएका हुन् । कांग्रेसले सरकारको निर्णयको प्रतिवाद गर्दै अघि बढ्ने पनि बताएको छ ।

 

‘‘अघिल्लो सरकारले गरेको निर्णय संसदबाट निर्वाचित सरकारकै निर्णय थियो । आचारसंहिता जारी भएको समयमा भएका निर्णयहरु पनि निर्वाचन आयोगबाट सहमति लिएर सम्बन्धित बोर्ड, संस्थानमा परिषद्को प्रक्रिया बमोजिम भएका नियुक्ति थिए,’’ शर्माले भने । 

 

उनले थपे, "प्रश्न व्यक्तिको होइन, विधिको हो । प्रश्न नियुक्ति या नियुक्ति बदरको होइन, प्रश्न यसबारेको स्थापित कानुनी प्रक्रियाको हो । यो सरकार यस प्रकरणमा कानून उलंघन गरेको छ र निर्णय बदनियतपूर्ण छ ।"


सहज राजनीतिक अवस्थामा मुलुकलाई हार्दिक ढंगले अघि बढाउनुपर्ने प्रधानमन्त्रीले त्यसको विपरीतको बोली र व्यवहार प्रस्तुत गरेपछि प्रतिवाद गर्नुपर्ने कांग्रेसको कर्तव्य हुने प्रवक्ता शर्माले बताए ।


पछिल्ला क्रियाकलापहरूबाट सरकार स्वेच्छाचारी ढंगबाट अघि बढ्न लागेको ठहर गर्दै कांग्रेसले निर्णय नसच्याए चुनौतीको सामना गर्न सरकारलाई तयार हुन चेतावनी दिएको छ । ‘‘सरकारले स्वेच्छाचारीलाई निरन्तरता दियो भने हामी सरकारलाई चौतर्फी दबाब दिनतर्फ लाग्छौं । त्यो क्रममा संसद, सडक, सञ्चारमाध्यम, सामाजिक सञ्जाल र सत्याग्रहको प्रक्रियालाई हामी अपनाउँछौं,’’ प्रवक्ता शर्माले चेतावनी शैलीमा भने  । 

 

माइतीघर मण्डला लगायतका ठाउँमा सभा र प्रदर्शन गर्न निषेध गर्नुलाई सरकारको निरंकुशतातर्फको यात्रा भन्दै कांग्रेसले निषेधाज्ञा फिता नलिए त्यसलाई निरन्तर उलंघन गरिरहने बताएको छ ।

 

‘‘क्रमशः बढ्दो स्वेच्छाचारिताकाविरुद्ध प्रदर्शन गर्न रोक लगाउने उद्देश्यले माइतीघर मण्डलासम्म लगाइएको निषेधाज्ञालाई हामीले निरंकुशतातर्फ बढ्न सहज हुने सरकारको मिठो भ्रमका रुपमा लिएका छौं । निषेधाज्ञा फिर्ता नलिए निरन्तर त्यसलाई उल्लघंन गरिने प्रष्टोक्ती दिन चाहन्छौं,’’ प्रवक्ता शर्माले भनेका छन् ।

 

कांग्रेसले डा. गोविन्द केसीको माग पूरा गर्न पनि सरकारलाई आग्रह गरेको छ । सरकारको मुखमा लोकतन्त्रको रामराम र बगलीमा स्टालीनवादको धङधङी रहेको कांग्रेसले अाराेप लगाएकाे छ ।


 ‘सञ्चार माध्यमहरुमा बढ्दो हस्तक्षेप, ढुंगेल प्रकरण मार्फत न्यायलयको अपमान, संसदमा हलुका जवाफ, सडक प्रर्दशनमा रोक जस्ता व्यवहारबाट सरकारको ‘मुखमा लोकतन्त्रको राम राम बगलिमा स्टालिनवादको धङधङति’ हामीले महसुस गरिरहेका छौं’ प्रवक्ता शर्माले भने ।

नेपाली काँग्रेस सरकार केपी अाेली प्रवक्ता विश्वप्रकाश शर्मा

विशेष