स्थायी कमिटी बैठकमा ओलीले भनेः सरकारमाथि चौतर्फी प्रहार भयो, हामीले दृढतापूर्वक प्रतिवाद गर्नुपर्छ
"अब नेपालको स्वतन्त्र परराष्ट्र नीति प्रभावकारी कार्यान्वयनकाे यात्रामा"
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत तथा चीन भ्रमण मुलुकको हितमा भएको बताएका छन् ।
नेकपाकाे स्थायी कमिटी बैठकमा भ्रमणबारे रिपोर्टिङ गर्दै उनले दुवै देशकाे भ्रमणबाट नेपालको स्वतन्त्र परराष्ट्र नीति प्रभावकारी कार्यान्वयनको प्रक्रिया अगाडि बढेको बताए । भ्रमणबाट दुवै छिमेकीसँग सकारात्मक सम्बन्ध स्थापना गर्न सहयोग पुगेको र नेपालको हितमा केही सन्धिसम्झौताहरू भएको प्रधानमन्त्री ओलीले बैठकमा जानकारी गराएका थिए ।
अर्काे प्रसंगमा उनले राम्राे काम गर्दागर्दै पनि सरकारलार्इ चाैतर्फी रूपले घेरा बन्दीमा पर्ने कार्य भइरहेकाे बताए । ओलीले भने, ‘चाहे गोविन्द केसीको केसमा होस्, चाहे अरु केसमा होस् । सबै मिलेर सरकारलाई प्रहार गर्ने काम भइरहेको छ । हामीले दृढतापूर्वक प्रतिवाद गर्नुपर्छ ।’
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि वर्तमान समसामयिक राजनीतिक परिस्थितिबारे रिपोर्टिङ गरेका थिए । बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वयको रिपोर्टिङका साथै पार्टीको नियमावलीबारे छलफल भएको जानकारी दिए ।
श्रेष्ठका अनुसार राजनीतिक स्थितिको थप समीक्षाा र तीनै तहका सरकारको कामकारबाहीबारे छलफल गर्न स्थायी कमिटीको अर्को बैठक बस्ने भएको छ । “संघ, प्रदेश र स्थानीय सरकारका कामकारबाहीको समीक्षा गर्न र अझ प्रभावकारी बनाउन स्थायी कमिटीको छुट्टै बैठक बस्नेछ,” उनले भने ।
बैठकमा पार्टीको प्रस्तावित नियमावलीबारे स्थायी समितिका सबै सदस्यले सुझाव दिएका थिए । सबै सुझावलाई ध्यानमा राखेर सचिवालयले त्यसलाई अन्तिम रुप दिने श्रेष्ठले बताए ।
पार्टी कमिटिको संख्या, पदाधिकारी, कसरी सबैलाई समावेश गर्ने भन्नेबारेमा सुझावहरु प्राप्त भएको उनले जानकारी दिए । पार्टी महासचिव विष्णु पौडेल संयोजकत्वको कार्यदलले नियमावलीको मस्यौदा सचिवालयलाई बुझाइसकेको छ ।