समाज देश

कस्तो छ डा. गोविन्द केसीलाई ?

कस्तो छ डा. गोविन्द केसीलाई ?

सुर्खेत  । स्वास्थ्य अवस्था निकै कमजोर बन्दै गएपछि वरिष्ठ हाडजोर्नी चिकित्सक डा गोविन्द केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा भर्ना गरिएको छ ।

 

पाँच दिनदेखि जुम्लामा अनशनरत डा केसीलाई प्रतिष्ठानको शिक्षण अस्पताल, जुम्लाको आकस्मिक कक्षमा बुधबार साँझ भर्ना गरिएको हो । स्वास्थ्य निकै गम्भीर अवस्थामा पुगेपछि एम्बुलेन्सबाट उनलाई अस्पतालमा पुर्‍याइएको प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा पूजन रोकायाले जानकारी दिए ।

 

‘अनशनस्थल नै जोखिमपूर्ण भएको र उहाँको समस्या बल्झिन थालेपछि हामी अस्पताल लैजान बाध्य भयौँ,’ डाइरेक्टर रोकायाले भने । डा केसीलाई अस्पताल पुर्‍याएसँगै सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापा र प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले उनीसँग भेट गरेका थिए ।

 

स्वास्थ्यजस्तो संवेदनशील कुरामा ध्यान दिएर डा केसीको उपचारका लागि कुनै कसर बाँकी नराख्न चिकित्सकलाई निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी बुढ्थापाले बताए । यता डा विनोद अर्यालले एक्कासि डा केसीको मिर्गौला र छातीमा समस्या आएपछि उनलाई अस्पताल लैजानुको विकल्प नरहेको जनाए ।

 

डा अर्यालले भने, ‘निषेधाज्ञालाई तोडेर भएपनि उपचारार्थ डा केसीलाई प्रतिष्ठानमा पुर्‍याएका छौँ, आशा गरौँ स्वास्थ्यमा सुधार आउला ।’ उनका अनुसार चिकित्सकको निरन्तर प्रयासले मात्र अस्पताल लान सम्भव भएको हो । नत्र डा केसीको जीवन झनै खतरायुक्त बन्दै जाने अवस्था रहेको उनको भनाइ थियो ।

 

उनलाई सघन उपचार कक्षमा राखिएको प्रतिष्ठानले जनाएको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका उनले विभिन्न व्यवधानको बीच जुम्लाको विद्युत् लगायत कुनै सेवा नभएको कभर्डहलमा १५ औँ पटकको अनशन शनिबारदेखि शुरु गरेका थिए ।

 

आइतबारदेखि स्वास्थ्य अवस्था जटिल बन्दै गएपनि सरकारले मागको सुनुवाइ नगरुञ्जेल अनशन नतोड्ने अडान उनले राख्दै आएका छन् । रासस

डा गोविन्द केसी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

विशेष