अन्तरवार्ता भिडियो

अरुण सुवेदीकाे विश्लेषणः भारतले माल्दिभ्समाथि किन नाकाबन्दी लगायाे? (भिडियोसहित)

अरुण सुवेदीकाे विश्लेषणः भारतले माल्दिभ्समाथि किन नाकाबन्दी लगायाे?  (भिडियोसहित)

काठमाडौं । लेखक एवं राजनीतिक विश्लेषक अरुण सुवेदीले माल्दिभ्समाथि भारतले लगाएको नाकाबन्दी हिन्द महासागरमा उत्पन्न अन्तर्राष्ट्रिय राजनीतिको उपज भएको टिप्पणी गरेका छन् । 

 

नेपाल आजको नियमित स्तम्भ ‘कुरा खस्रा मीठा’ मा वार्तालाप गर्दै सुवेदीले भने, ‘माल्दिभ्सका शासकले साउदी अरेबियाको अभीष्ट पूरा गर्न र उसैको कठपुतली भएर भारतको सुरक्षा मामिलामा दुःख दिने कार्य भएकाले भारतले नाकाबन्दी लगाएको हो । 



छिमेकी राष्ट्रले आफ्नो रणनीतिक चाखभन्दा बाहिर गएर केही कामकुरा गर्‍यो भने दबाब दिने उद्देश्यले नाकाबन्दी लगाउने अभ्यास सामरिक र कूटनीतिक क्षेत्रमा नयाँ होइन । त्यसलाई स्वाभाविक रूपमा लिइन्छ ।’ 

 

‘माल्दिभ्सका शासक जो साउदी अरेबियाको इशारामा चल्छ, उसले आफ्नो वर्चस्व कायम गर्न पूर्वराष्ट्रपतिलगायत अन्य उच्चपदस्थ व्यक्तिहरूलाई गिरफ्तार गरेर दुःख दिनाले भारतले प्रजातन्त्रका लागि माल्दिभ्समाथि नाकाबन्दी लगाउनुपर्ने परिस्थिति सिर्जना भएको हो’, विश्लेषक सुवेदीको कथन छ । 

 

उनले माल्दिभ्समाथि नाकाबन्दीको परिस्थिति किन सिर्जना हुन गयो त भन्ने विश्लेषण गर्दै भने, ‘साउदी अरेबिया र पश्चिमा राष्ट्रहरूले हिन्द महासागरमा आफ्नो उपस्थिति बलियो बनाउन र चीनलाई घेर्ने रणनीतिअन्तर्गत अन्तर्राष्ट्रिय राजनीतिक टकरावअनुसार माल्दिभ्स पिल्सिएका हुन् । यस्तो स्थिति आमन्त्रण गर्न माल्दिभ्सका वर्तमान शासनाधिकारी जिम्मेवार छन् ।’

 

सुवेदी भन्छन्, ‘ख्यातिप्राप्त प्रजातान्त्रिक छवि भएका नेता नरेन्द्र मोदी माल्दिभ्समाथि नाकाबन्दी जस्तो अमानवीय कदम चाल्न किन वाध्य भए त भन्दा माल्दिभ्सको आन्तरिक राजनीतिमा साउदी अरेबियाको हस्तक्षेप र त्यसैको प्रतिफल नाकाबन्दी हो ।’

 

विश्लेषक सुवेदीले भने, ‘दक्षिण एसियालाई अस्थिर र द्वन्द्वमा फसाइराख्न साउदी र पश्चिमाहरूले हमेशा प्रयत्न गर्दै आएको र त्यसमा नेपाल पनि उपयोग भइरहेको र अहिले आएर साउदी अरेबियालगायत अमेरिकाले भारतमाथि इरानसँग पेट्रोलियम पदार्थको कारोबार नगर्न सीधै दबाब दिएको र त्यसलाई भारतले नमानेपछि सन् २०१९ मा हुने भारतीय लोकसभाको चुनावमा नरेन्द्र मोदी र उसको पार्टीलाई असफल बनाउन घेराउ नीतिअन्तर्गत माल्दिभ्सलाई उपयोग गरिएको हो ।’

 

सुवेदीको विश्लेषण छ, ‘साउदी अरेबिया र पश्चिमाले भारतमा बलियो सरकार होस् भनेर कहिल्यै चाहेको थिएन, त्यसको बाबजुद मोदी राम्रै बहुमत लिएर सत्तामा आए । तर, अब २०१९ को चुनावमा मोदीलाई असफल पार्ने प्रयासअन्तर्गत त्रिशंकु संसद् खडा गर्ने प्रयत्न हुँदैछ । मोदी कै पार्टी सत्तामा आएपनि कमजोर सरकार खडा होस् भन्ने साउदी र पश्चिमाको चाहना छ ।’

 

सुवेदीले भने, ‘पेट्रोलियम पदार्थको कारोबारलाई लिएर अकल्पनीय राजनीतिक परिस्थिति उत्पन्न हुँदै आएको र त्यसको परोक्ष वा अपरोक्ष असर कुनै न कुनै राष्ट्रमाथि परिरहेको हुन्छ, त्यसकै सिलसिलामा आगामी दिन सिसिलीमा पनि राजनीतिक अस्थिरताको संकेत देखिन सक्छ । तेलकै व्यापारका लागि स्ट्रेट अफ हर्मुजमा तनाब उत्पन्न हुने सम्भावना छ ।’

 

विश्लेषक सुवेदीले भने, ‘साउदी र पश्चिमाले भारत र चीनमा अस्थिरता उत्पन्न गर्ने क्रममा नेपाल जानी नजानी उपयोग भइरहेको  सन्दर्भमा अब हामी चीन र भारतमा अस्थिरता ल्याउन चाहनेको पछि लाग्ने कि त्यसको विरुद्धमा लाग्ने नेपालका राजनीतिज्ञहरूले विचार गर्नुपर्ने बेला आएको छ ।’  
 

अरुण सुवेदी साउदी अरेबिया माल्दिभ्स

विशेष