पत्रपत्रिकामा प्राथमिकता: डा केसीप्रति प्रधानमन्त्री आक्रामक, यातायातमन्त्रीको उल्टो यात्रा
काठमाडौं । राजधानीबाट प्रकाशित आइतबारका राष्ट्रिय दैनिक पत्रिकाहरुले डा गोविन्दकेसीको अनसन र प्रधानमन्त्री केपी ओलीको अडानलगायतका विषय मुख्य प्राथमिकतामा पारेका छन् ।
आजको कान्तिपुर, नागरिक र नयाँ पत्रिका दैनिकले डा केसीको खबरलाई पहिलो पृष्ठमा महत्वका साथ छापेका छन् । प्रधानमन्त्री ओलीले अनसन बस्दैमा मेडिकल कलेज खोल्न नरोक्ने अडान राखेको र माग पुर नभए मर्न तयार रहेको भनि डा केसीले चेतावनी दिएको विषयलाई आजको कान्तिपुरले प्राथमिकताका साथ छापेको छ ।
नागरिक दैनिकले भने 'कर्णाली चिनाउन पनि जुम्ला अनसन' शीर्षकमा खबर लेखेको छ । उसले गोलपोस्टमा अनसन बसिरहेका डा केसी र चिकित्सा विद्ययकको फुटबल हान्न ठिक्क परेका ओली र प्रचण्डको कार्टुन पनि समाचारसंगै छापेको छ । नयाँ पत्रिकाले भने 'प्रधानमन्त्री ओलीको अडानः अनशन तोडाउन सबै माग सम्बोधन हुँदैन' शीर्षकमा खबर लेखेको छ ।
नयाँ पत्रिका दैनिकले नै यातायातमन्त्रीको उल्टो यात्रा शीर्षकमा मुख्य समाचार छापेको छ । उसले मन्त्री रघुवीर महासेठकै संरक्षणमा सिन्डिकेट फर्काउने योजना बुनिएको समेत खुलासा गरेको छ । यातायात व्यवस्था विभाग नेतृत्वविहीन बनाइएको छ भने सिन्डिकेटविरोधी तत्कालीन महानिर्देशक रुपनारायण भट्टराईलाई भूमिकाविहीन बनाइएको नयाँ पत्रिकाले लेखेको छ ।
मुस्ताङमा भएको टिपर दुर्घटनाले सिंगो गाउँ शोकमा डुवाएको विषयलाई मुख्य समाचार बनाएको आजको अन्नपूर्ण पोस्टले राजनीतिक नियुक्तिका लागि दौडधुप सुरु भएको विषयलाई एङ्कर न्युज बनाएको छ ।
अघिल्लो सरकारले गरेका झन्डै ४ दर्जन राजनीतिक नियुक्ति खारेजीमा परेसंगै रिक्त पदमा पुग्न दौडधुप सुरु भएको छ । महत्वपूर्ण र आकर्षक नियुक्ति लिन सत्तारुढ दल निकटस्थहरु सक्रिय देखिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले बतायो भनेर समाचारमा उल्लेख गरिएको छ ।