अर्थ कर्पोरेट मुख्य समाचार राजनीति प्रदेश ३

पुनर्निर्माण प्राधिकरणका सीईओ भुसाल पदमुक्त

पुनर्निर्माण प्राधिकरणका सीईओ भुसाल पदमुक्त

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युवराज भुसाल पदमुक्त भएका छन् । अघिल्लो सरकारका पालामा भएका सबै राजनीतिक नियुक्ति बदर गर्ने निर्णय सरकारले गरेपछि भुसाल आइतबारबाट पदमुक्त भएका हुन् ।

 

प्रधानमन्त्री कार्यालयले शुक्रबार नै प्राधिकरणमा भुसाल पदमुक्त भएको जानकारी गराएको थियो । तर, भुसालले प्रधानमन्त्री कार्यालयको पत्र बुझेका थिएनन् ।

 

नेपाली कांग्रेस निकट भुसाल गत वर्ष कात्तिक ६ गते प्राधिकरणको सीईओ नियुक्त भएका थिए । कांग्रेस नेतृत्वको सरकारको पालामा पाँच महिना र कम्युनिष्ट नेतृत्वको सरकारको पालामा चार महिना काम गरेको बताउँदै उनले दुवै सरकारबाट आफू सन्तुष्ट भएको बताए ।

 

उनले भने, ‘पत्रमा कस्तो भाषा प्रयोग भएको छ त्यो त हेर्न बाँकी छ तर सरकारको नीतिगत निर्णयलाई सम्मान गर्छु ।’ प्राधिकरणको ऐनमा सीईओलाई जुनसुकै बेला सरकारले हटाउन सक्ने उल्लेख छ । तर, त्यसअघि स्पष्टीकरणको मौका दिनुपर्ने व्यवस्था ऐनमा छ ।

 

सीईओ भुसालले आफ्नो ९ महिने कार्यकाल सफल भएको दावीसमेत गरे । यसअघि परामर्श समिति र निर्देशक समितिको बैठकबारे छलफल गर्न बालुवाटार पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भेट नदिइ भुसाललाई फर्काइदिएका थिए ।

 

तीन वर्षको अवधिमा प्राधिकरणको नेतृत्व चार पटकसम्म फेरिइसकेको छ । अब पाँचौ सीईओ नियुक्तिको तयारीमा सरकार लागेको छ । 

पुनर्निर्माण सीईओ पदमुक्त

विशेष