मुख्य समाचार राजनीति

कांग्रेस नेता गच्छदारले दिए एकता भंग गर्ने चेतावनी

कांग्रेस नेता गच्छदारले दिए एकता भंग गर्ने चेतावनी

  
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको उपनेता विजयकुमार गच्छदारले पार्टी एकता भंग गर्ने चेतावनी दिएका छन् । सोमबार काठमाडौंमा पार्टीका पुराना नेताहरुसँगको अन्तरक्रियामा नेता गच्छदारले पार्टी एकीरकरणका बेला भएको सहमति कार्यान्वयन नभएको भन्दै पार्टी एकता भंग गर्ने चेतावनी दिएका हुन् । 

 

गच्छदारले भने, “रामजनम चौधरी एउटा चुनाव हार्दैमा ऊ केन्द्रीय सदस्य पनि हुन नसक्ने व्यक्ति कसरी भयो?” यस्तै अवस्था कायम रहे फेरि पनि राष्ट्रिय राजनीतिमा छवि बनाउन आफूलाई कुनै समस्या नभएको उनले बताए ।

 

 पार्टी सभापति देउवा र नेता पौडेल उपस्थिति कार्यक्रममा गच्छदारले अब पनि सहमति कार्यान्वयन नगरे देशभरका साथिहरुलाई बोलाएर पार्टी एकताबाट अलग हुने बताए ।


गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम र कांग्रेसबीच गएको असोज २१ गते पार्टी एकीकरण भएको थियो । नेता गच्छदारले पार्टी एकीकरणताका दुई पार्टीबीच भएको सहमति कार्यान्वयन नभएपछि आफू पार्टी एकता भंग गर्न बाध्य हुने अवस्थामा पुगेको पनि स्पष्ट पारे ।

 

नेता गच्छदारले लोकतन्त्रलाई बलियो बनाउन आफू कांग्रेसमा आए पनि पार्टी नेतृत्वले त्यसको उचित कदर नगरेकोमा आफूलाई दुःख लागेको प्रतिक्रिया पनि दिए । 

 

उनले गुट र उपगुटमा विभाजित कांग्रेसले कम्युनिष्ट नेतृत्वको सरकारलाई सामना गर्न नसक्ने दावी समेत गरे । नेता गच्छदारले पार्टी नेतृत्वले आफू र आफ्ना समर्थकलाई बिचल्लीमा पारेको आरोप पनि लगाए ।
 

विजयकुमार गच्छदार चेतावनी नेपाली काँग्रेस एकता भंग

विशेष