दार्जलिङका कवि मनोज बोगटी भन्छन्, ‘नौलाखे तारा गीतका कारण हामी विभेदमा पर्यौँ ’
समर्पण श्री
काठमाडौं । भारतीय मूलका मनोज बोगटी नेपाली भाषाको सशक्त कवि हुन् । पश्चिम बंगालको दार्जिलिङमा बसी साहित्य साधना गरिरहेका उनी लेखनमा फरक विषयको खोजी गर्छन् । उनका ६ वटा कविता संग्रह प्रकाशित छन् ।
कवितामा भिन्न उचाइ बनाइसकेका बोगटीले हालै पहिलो कथा संग्रह ‘लाइफ अ बटरफ्लाई’ सार्वजनिक गरे । कवितामा प्रभाव जमाइरहेका बोगटी कथामा कमजोर देखिए भन्दै केही पाठकहरूले आलोचना गरे ।‘कवि बोगटीले कथा लेखेर लेखनमा न्याय गर्न सकेन’ भनेर केही पक्षले आरोपसमेत लगाए । तर उनी आफैँभने आफ्नो लेखनप्रति स्पष्ट छन् । ‘समाजमा त्यस्ता धेरै कुराहरू छन्, जुन कवितामा भन्न सकिदैँन। त्यसैले ती विषयलाई उत्थान गर्नका लागि मैले कथा लेखेँ ।’
‘लाइफ अ बटरफ्लाई’ कथामा नयाँ प्रयोग भएको हुनाले केही पाठकले बुझ्न नसकेको उनको ठम्याइ छ । कथामा बोगटी कमजोर देखियो भन्नेहरूका लागि उनको जवाफ छ, ‘ किताब नै नपढी अधिकांशले धारणा व्यक्त गरेका छन् । कथा कमजोर छ जस्तो मलाई लाग्दैन । नयाँ प्रयोगलाई पाठकले बुझ्न नसकेका मात्र हुन् ।’ संग्रहभित्र ८ वटा कथा छन् । समाजमा लुकेका विषयवस्तुहरूलाई भिन्नै तवरले प्रस्तुत गरेको उनी बताउँछन् । ‘समाजमा तेस्रो लिंगीहरूको विषयमा कमैले लेखेका छन् । मेरो कथाले यस्तै इस्युहरू बोकेका छन् ।’
दार्जिलिङको साहित्य र भाषा आन्दोलन
दार्जिलिङमा बसेर नेपाली भाषाको साहित्यमा योगदान पुर्याउने थुप्रै लेखकहरू छन् । इन्द्रबहादुर राई, मनप्रसाद सुब्बा, अगमसिंह गिरीलगायत लेखकहरूकाे नेपालमा बलियाे हस्तक्षेप छ । पश्चिम बंगालमा नेपाली भाषाको आन्दोलनमा थुप्रै नेपाली भाषी लेखकहरूको सक्रियता रह्यो । मनोज बोगटी आन्दोलनको अभियन्तामध्ये एक हुन् ।
पश्चिम बंगालका नेपाली भाषीहरूलाई अझैपनि त्यहाँको सरकारले विभेदमा राखेको छ । यही विभेदको अन्त्य गर्नका लागि पनि आफूहरू विभिन्न आन्दोलनहरूमा सक्रिय रहेको कवि बोगटीको भनाइ छ ।लेखनबाटै पनि लेखकहरूले विभिन्न आन्दोलनहरू चलाए । बाेगटी भन्छन्, ‘आन्दोलनका कारण नेपाली भाषालाई भारतले आठौं अनुसूचीमा सरकारी भाषाको रुपमा मान्यता दिएको छ ।’
राईको लेखनले टाढिए पाठक
इन्द्रबहादुर राईको तेस्रो आयाम, लीला लेखन एउटा महत्वपूर्ण आन्दोलन हो । यसलाई पछिल्लो समयसम्म पनि नेपालका केही लेखकले अनुशरण गरेर लेखे । कवि बोगटी भने इन्द्रबहादुर राईको लेखनले पाठकको संख्या घटाएको बताउँछन् । उनी भन्छन्, ‘इन्द्रबहादुर राईको लेखन निकै क्लिस्ट भयो । पाठकहरूले बुझेनन् ।यसले पाठकको संख्यालाई घटायो ।’ यस्ता लेखकहरूले पाठक संख्या बढाउन नसक्ने उनको ठम्याइ छ । इन्द्रबहादुर राईले तेस्रो आयाम सुरु गर्दा जटिल लेखन नै शक्तिशाली लेखन हो भनेर कतिपयले धारणा बनाएको उनी सम्झन्छन् ।
यसप्रति आलोचना गर्दै उनी भन्छन्, ‘जटिल लेखेर शक्तिशाली हुने होइन । हामीले जटिलतालाई अब सरलतातर्फ लैजानुपर्छ ।’ त्यसैगरी अगमसिंह गिरीद्वारा रचित ‘नौलाखे तारा’ गीतले दार्जिलिङका नेपाली भाषीहरू विभेदमा परेको उनी सुनाउँछन् । ‘त्यस गीतपछि हामीलाई त्यहाँको सरकारले विदेशी भन्यो । विदेशीले किन पहिचानको कुरा गरेको भनेर हामीलाई दबाउन खोज्यो ।’
नेपाल र दार्जिलिङबीचको सहकार्य
नेपाल र दार्जिलिङबीचको सम्बन्धको प्रसंग जोड्दा बोगटी मुस्कुराउँदै भन्छन्, ‘पहिले पहिले हाम्रा बाजेहरू भन्थे, पहिले दार्जिलिङले सोच्छ, अनि नेपालले सोच्छ ।’ अघिदेिख नै नेपालको गीत, संगीत, साहित्य र संस्कृतिको क्षेत्रमा दार्जिलिङको महत्वपूर्ण भूमिका भएको बोगटी बताउँछन् । पश्चिम बंगालजस्तो सानो कुनामा बसेर गरेको साहित्यिक गतिविधिले नेपाली साहित्यको प्रभाव नेपालसम्म परिरहेको उनको विश्लेषण छ ।
पछिल्लो समय नेपालका लेखकहरूले आख्यानमा फड्को मारेको कवि बोगटीको विश्लेषण छ । तर दार्जिलिङमा भने आख्यानको अवस्था नाजुक भएको उनी बताउँछन् । उनी भन्छन्, ‘दार्जिलिङमा कविता निकै सशक्त लेखिन्छन् । तर आख्यानमा भने अझै कमजोर छौँ ।’
नेपालमा प्रकाशन गृहहरू धेरै छन् । पत्रकारितामा पनि फरक शैलीले प्रभाव पारेको र यसको प्रभाव दार्जिलिङमा पनि परेको उनी बताउँछन् । उनले थपे, ‘नेपालको प्रभाव दार्जिलिङमा पनि परेको छ । त्यसैले नयाँ पुस्ताहरूले अहिले राम्रो लेख्दै आएका छन् ।’
नेपाली भाषा कवि मनोज बोगटी