कला साहित्य साहित्य आज

‘तुरुप’ : रेशम विरहीको काव्ययात्राको साक्षी

निर्भीकजंग रायमाझी

‘तुरुप’ : रेशम विरहीको काव्ययात्राको साक्षी

रेशम विरही नेपाली साहित्यका अनेक विधामा आफ्नो स्पष्ट पहिचानसहित देखा पर्ने स्रष्टा हुन् । मूलतः कविता विधाबाट साहित्यमा उनलाई सफलता मिलेको देखिन्छ । यद्यपि उनका निबन्धहरू, संस्मरण र आख्यान कमजोर भन्न खोजिएको होइन ।उनै कवि रेशम विरहीको पाँच वटा कवितासंग्रहबाट प्रतिनिधि कविताहरू छनोट गरी नयाँ  प्रकाशित भएको कवितासंग्रह  ‘तुरुप’ बजारमा आएको छ । ‘इन्डिगो इन्क’ले प्रकाशन गरेको यस कवितासंग्रहमा कूल ५४ थान कविताहरू संग्रहित छन् ।

 

विगत पाँच दशकदेखि कविता लेखनमा सक्रिय विरहीले मूलतः राजनीतिक र सामाजिक विषयमा कविता लेखेका छन् । माक्र्सवादी दर्शनबाट प्रेरित एवं जीवनको विभिन्न कालखण्डमा राजनीतिमा क्रियाशील विरहीले यिनै जीवन–अनुभवहरू  समेटेर आफ्ना कविताहरू वैचारिक र कलात्मक बनाएका छन् ।जीवनमा आफ्नो निष्ठा डगमगाउने तथा पटकपटक राजनीतिक रंग फेर्ने पात्रहरूविरुद्ध खरो रूपमा कविता लेख्ने उनी आफू पनि सदैव निष्ठापूर्वक जिउन चाहन्छन् । जीवन र स्वतन्त्रताको पक्षमा अत्यन्त सचेत रहने कवि विरहीको पाँच दशक लामो काव्यसाधनाको प्रतिबिम्ब हो — ‘तुरुप’ ।

 

उनै कवि रेशम  विरहीको कविता ‘ऐना अगाडि’ यहाँ प्रस्तुत गरिएको छ, जसबाट नै उनको कवित्वको बेग्लै क्षितिज भेट्न सकिन्छ ।

ऐना अगाडि

राजनीतिको पुच्छरमा झुण्डिएर 
वैतरणी पार गर्ने सपना देख्यो 
अखबारी व्यसनमा पुरै बैंस खन्याएर 
हातमुखको जोहो गर्यो
ओठमा कलेटी पारेर
कविताको पोखरीमा हामफाल्यो
न पारि पुग्यो  
न वारि नै रह्यो

पश्चिम हानियो
पूर्व फर्कियो

न उताको भयो 
न यताको भयो

इमानले चिनेन
बेइमानले छोडेन
युग जवान हुँदै आयो
आफू बुढो हुँदै गयो 

उभिन्छ ऐनाअगाडि 
हेर्छ आफ्नै अनुहार
र देख्छ–
जीवनको ढोल बजाइरहेको
एउटा अभिसप्त मानिस
म 
रेशम विरही ।
०००
 

निर्भीकजंग रायमाझी रेशम विरही तुरुप

विशेष