कांग्रेसको काम नै विरोध गर्ने हो : मन्त्री ज्ञवाली
काठमाडौं । पराराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाली कांग्रेसले सरकारविरुद्ध कथाकथित अधिनायकवादको कृत्रिम हल्ला गरी भ्रम फैलाउने कार्य गरिरहेको आरोप लगाएका छन् ।
भक्तपुरमा आइतबार आयोजित एक अन्तरसंवाद कार्यक्रममा मन्त्री ज्ञवालीले तातो चियाको बाफ उडे जस्तै कृत्रिम हल्ला उडेको टिप्पणी गर्दै यस्ता हल्लाले सरकारलाई असर नपर्ने बताए ।
उनले सरकार लोकतन्त्रप्रति प्रतिबद्ध रहेको र देशमा शान्तिसुरक्षा कायम गर्न, सुशासनको प्रत्याभूति दिन र देशलाई सम्बृद्धितर्फ लैजान सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।
मन्त्री ज्ञवालीले भने, ‘अघिल्लो सरकारले ल्याएको बजेट र समस्यालाई समाधान गर्न सरकारलाई पाँच महिना लाग्यो, अनि कसरी देखियोस सरकारका प्रभावकारी कामहरू, अब सरकारले नयाँ बजेटअनुसार काम सुरु गरेको छ, अब काम प्रभावकारी रूपमा अगाडि बढ्छ ।’
प्रतिपक्षको रूपमा कांग्रेसले विरोधका लागि विरोध मात्रै गरेको टिप्पणी गर्दै उनले भने, ‘सत्ताबाट बाहिरिनु परेको, पार्टी खुम्चेको पीडाले स–साना कुरामा पनि विरोध गरेर चर्चामा आउन खोजेको छ ।’ उनले कांग्रेसलाई विरोध भन्दा पनि रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न आग्रह गरे ।
सरकारले प्रभावकारी रूपमा कूटनीतिक प्रयास गरिरहेको बताउँदै उनले भारतसँग विश्वासको आधार निर्माण गरिसकेको, चीनसँग बृहत्तर विकास साझेदारीको खाका तयार पार्न सफल भएको बताए ।
सम्बृद्धि नेपाल, सुखी नेपालको सरकारको अभियान सफल पार्न वाह्य सम्पर्क, सम्बन्ध असाध्यै राम्रो बनाएका छौँ भन्दै उनले आगामी तीन वर्षमा नेपाललाई अल्पविकसित राष्ट्रबाट माथि उठाउने र सन् २०३० सम्ममा देशलाई मध्यमस्तरको देशमा ल्याउन दाताहरूको सहयोगसमेत जुटाउने कामका लागि सरकार लागिपरेको बताए ।
परराष्ट्रमन्त्री ज्ञवालीले नेपालको व्यापार घाटा घटाएर सन्तुलित बनाउन र वैदेशिक लगानी अभिवृद्धि गर्न, आयातमा कर छुट गर्न र नेपालमा पर्यटक भित्र्याउन पहल भइरहेको बताउँदै नेपालको अहिले परिपक्व, अनुकूल र राम्रो वाह्य सम्बन्ध विस्तार भइरहेको दाबी गरे ।
अघिल्लो सरकारले गरेको नियुक्ति बदर गर्दै प्रतिशोध साँध्ने काम सरकारले नगरेको भन्दै परराष्ट्र मन्त्री ज्ञवालीले भने, ‘वर्तमान सरकारले देउवा सरकारले गरेको नियुक्ति बदर गरेको होइन, देउवा सरकारले माओवादीका मन्त्रीहरूलाई बिनाविभागीय बनाएर सत्ताको दुरुपयोग गरी निर्वाचन आचार संहिताविरुद्ध निर्वाचनलाई नै प्रभावित पार्ने गरी गरेको नियुक्ति बदर गर्न खोजेको हो ।’
मन्त्री ज्ञवालीले भने, ‘दोहोर कर जनताले तिर्नु पर्दैन, त्यस्तो कर छ भने सरकारले हटाउँछ, करको दायरामा नआएकालाई दायरामा ल्याउन खोज्दा कतिपय समस्या आउँछन्, यद्यपि दोहोरो करका बारेमा सरकारले रिपोर्ट संकलन गरिरहेको छ, त्यस्तो पाइएमा त्यस्ता हटाइने छ ।’
संविधानले नै प्रदेश र स्थानीय सरकारलाई पनि कर लगाउँन अधिकार दिएको स्मरण गराउँदै उहाँले जनताले दोहोरो कर भने तिर्नु नपर्ने बताए ।