बुधबारदेखि मौसममा सुधार आउने सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी केहीसम्म मुलुकभर मध्यम वा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ ।
महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार मनसुन न्यूनचापीय रेखा नेपाल नजिक तराईको सिमाना क्षेत्रमा रहेकाले विगत केही दिनयता निरन्तर वर्षा भइरहेको र यो अझैँ केही दिन लम्बिने छ ।
अहिलेको वर्षा अन्य कुनै मौसमी प्रणालीको प्रभाव नभई मनसुन न्यूनचापीय रेखाको प्रभावले नै बदली र वर्षा गराएको तथा बुधबारदेखि मौसममा क्रमिक सुधार आउने मौसमविद् पौडेलको भनाइ छ ।
महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी आइतबार जानकारी दिँदै मंगलबार दिउँसो र राती देशभर सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुनेछ भने पश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
बंगालको खाडी हुँदै नेपाल प्रवेश गर्ने जलवाष्पयुक्त हावालाई नै मनसुन भनिन्छ । नेपालमा वर्षभरि मनसुनका कारण ८० प्रतिशत र पूर्वमनसुन र पश्चिमी वायु प्रणालीको प्रभावले २० प्रतिशत वर्षा हुने गरेको छ ।