मुख्य समाचार राजनीति प्रदेश २

राज्यमन्त्री शर्मा साधारण तारेखमा रिहा

बर्दिबास । सशस्त्र प्रहरीका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन बिक हत्या अभियोग लागेका प्रदेश नम्बर २ का सामाजिक कल्याण राज्यमन्त्री अभिराम शर्मा साधारण तारेखमा रिहा भएका छन् । 

 

आइतबार मध्याह्न महोत्तरी जिल्ला अदालतमा आफैँ हाजिर भएका राज्यमन्त्री शर्माको बयान र मुद्दाको बहसपछि उनलाई जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको आदेशले साधारण तारेखमा रिहा गरिएको हो । महोत्तरी ३ ‘क’ प्रदेशसभाबाट गत निर्वाचनमा निर्वाचित भएका शर्मालाई केही साता पहिलेमात्र मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले समाजकल्याण राज्यमन्त्री नियुक्त गरेका थिए । 

 

यसअघि जनकपुर उच्च अदालतले असई बिकका परिवारजनले दिएको निवेदनमा सुनुवाइ गर्दै शर्मालगायत फरार अभियोगीलाई पक्राउ गरी अदालतमा बुझाउन प्रहरीलाई आदेश दिएको थियो । ०७२ भाद्र २५ गते सीमा सुरक्षा कार्यालय महोत्तरीमा हाजिर हुन घर बिदाबाट फर्किएका असई बिकलाई जलेश्वरमा एक्लै फेला पारेपछि त्यतिखेर आन्दोलनरत् मधेसी मोर्चाका कार्यकर्ताले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । 

 

गम्भीर घाइते बिकलाई उपचारका लागि जनकपुर लैजाँदै गर्दा जिल्लाको सनउखडा बस्ती नजिक आन्दोलनकारीले एम्बुलेन्सबाट थुतेर निर्घात कुटपिट गरी हत्या गरेका थिए । यस घटनामा प्रदेश नम्बर २ का राज्यमन्त्री शर्मासहित २८ जनालाई हत्या अभियोगमा महोत्तरी जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो ।
 

राज्यमन्त्री अभिराम शर्मा

विशेष