अन्तरवार्ता भिडियो

मेलम्ची नगर प्रमुख अर्याल भन्छन्, ‘स्थानीय तहलाई पूर्ण अधिकार नै छैन’ (भिडियोसहित)

मेलम्ची नगर प्रमुख अर्याल भन्छन्, ‘स्थानीय तहलाई पूर्ण अधिकार नै छैन’  (भिडियोसहित)

काठमाडौं । मुलुकमा स्थानीय तहको चुनाव भएको एक वर्ष बितिसक्दासम्म स्थानीय तहमा जनअपेक्षित कामहरू हुनसकेका छैनन् । जनताले जिताएका जनप्रतिनिधिले जनताको आकांक्षा पूरा सकेनन् भनेर आरोप खेपिरहेका छन् । उसो त जनप्रतिनिधिहरूलाई केन्द्रीय सरकारले पूर्ण रूपमा अधिकार दिएको छैन । संविधानले तोकेको अधिकार स्थानीय तहले पाउनुपर्छ भन्दै उनीहरूले आवाज उठाइरहेका छन् । 


नेपाल आजले मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्यालसँग स्थानीय तहको समस्या र चुनौती तथा मेलम्ची नगरको सम्भाव्यताका विषयमा कुराकानी गरेको छ ।

 
कुराकानीको क्रममा मेयर अर्यालले स्थानीय तहले पाएको अधिकारलाई केन्द्र सरकारले हस्तक्षेप गर्नाले काममा समस्या भएको बताए । उनले भने, ‘केन्द्रका कर्मचारीहरूले जनप्रतिनिधिहरू असक्षम छ भनेर आरोप लगाएका छन् । तर त्यस्तो होइन । स्थानीय तह आफैेँ अधिकार कार्यान्वयन गर्न सक्षम छ । हामीलाई काम गर्ने वातावरण बनाइदिनुप-यो ।’ 


मेलम्ची नगरपालिकाले प्राप्त भएको २२ वटा अधिकारमध्ये १३ वटाको कानुनसमेत बनाएर कार्यान्वयन गर्नमा लागिरपरेको मेयर अर्यालले बताए । उनका अनुसार मेलम्ची नगरले शिक्षा र स्वास्थ्य क्षेत्रलाई बढी महत्व दिएको छ । उनले भने, ‘हामीले स्वास्थ्य र शिक्षामा बढी काम गर्ने योजना बनाएका छौँ । वडाहरूमा स्वास्थ्यचौकी निर्माणका काम गरिसकेका छौँ । शिक्षा व्यापक क्षेत्र भएको हुनाले यसलाई व्यवस्थित गर्न खोजेका छौँ ।’ 


शिक्षा क्षेत्रमा काम गर्न खोजेपनि केही प्राविधिक समस्याका कारण व्यवस्थापनमा कठिनाइ भएको उनी बताउँछन् । ‘शिक्षा क्षेत्रको काम स्थानिय तहले पाउने कानुनमा उल्लेख भएपनि सरकाले जिल्ला शिक्षा कार्यालयलाई नै जिम्मेवारी दिएको छ । तर त्यहाँका कर्मचारीहरूले काम नगर्नाले हामीलाई समस्या भएको छ ।’ स्थानीय तहलाई शिक्षा क्षेत्रमा काम गर्न नदिनाले शिक्षा क्षेत्रनै अलपत्र बनेको मेयर अर्यालको गुनासो छ । पहिले जिल्ला शिक्षा कार्यालय थिए, अहिले जिल्ला एकाइका रूपमा  छन् । यिनीहरूले शिक्षाको गुणस्तरमा सहयोग पु¥याउन सकिरहेका छैनन् । त्यहाँका कर्मचारीले काम गरिहेका छैनन् । कर्मचारीले शिक्षा कार्यालयमा बस्ने र तलब पकाउने काममात्र गर्छन् । हामीले बोलाउँदा पनि उनीहरू आउँदैनन् । उनी भन्छन् ‘जबसम्म स्थानीय तहका जनप्रतिनिधिले शिक्षा क्षेत्रमा काम गर्ने अधिकार पूर्ण रूपमा उपभोग गर्ने अधिकार पाउँदैनन् , तबसम्म शिक्षा क्षेत्रमा परिवर्तन आउन सक्दैन ।’  शिक्षा क्षेत्रको अधिकारलाई संघीय सरकारले अड्काउने काम गरिरहेको पनि उनले बताए ।

 
स्थानीय तहको अधिकारलाई केन्द्रले हस्तक्षेप गर्न नहुने मेयर अर्यालको भनाइ छ । यसका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउन लागिएको पनि उनले बताए । 




मेलम्चीमा पर्यटनको सम्भावना 


मेलम्ची नगरपालिकालाई पर्यटकीय गन्तब्यको रूपमा विकास गर्न गुरुयोजना तयार पारिरहेको मेयर अर्यालले बताए । त्यसैले नगरको विभिन्न ठाउँहरूमा सम्भाव्यताको अध्ययन गरिरहेको पनि उनले बताए । उनले भने, ‘मेलम्चीलाई पर्यटकीय नगरको रूपमा विकास गर्छौँ । त्यसैले मेलम्ची नगरको विकासको लागि हामीले गुरुयोजना बनाएका छौँ । विशेषगरी मेलम्ची नगरपालिकाको इन्द्रावती नदीको व्यवस्थित गर्ने काम गरिहेको छौँ ।’ त्यसैगरी मैलम्चीको औद्योगिक क्षेत्र र कृषिको क्षेत्रमा महत्वपूर्ण योजना बनाइहेको पनि मेयर अर्यालले बताए । 

 

मेलम्ची नगरपालिका मेयर डम्बर अर्याल मेयर डम्बर अर्याल  मेलम्ची नगरपालिका

विशेष