भव्य रुपले नाग पञ्चमी मनाउने तयारी
ललितपुर । ललितपुर उपमहानगरपालिका वडा नम्बर २४ धापाखेलस्थित नागदहमा बिहीबार लाग्ने नाग पञ्चमी मेलाको तयारी पुरा भएको छ । मेलाको तयारी पुरा भएको नागदह मेला आयोजक मूल समारोह समितीले जनाएको हो ।
मेलामा संस्कृति मन्त्री आउने भएकाले हरिशरण गिरीको संयोजकत्वमा स्वयंसेवक परिचालन गरिएको छ । सांसद पम्फा भुषालले, 'जात्रालाई पर्व र महोत्सव बनाउने बताइन् । उनले सुखी जनता समृद्ध ललितपुर बनाउन पर्नेमा जोड दिइन । महोत्सवलाई सफल पार्न उनले सबैसामु आग्रह गरिन् ।' ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरको नागदह धार्मीक, सांस्कृतिक र प्राकृतिक हिसाबले महत्वपूर्ण भएको बताए ।
महोत्सवलाई व्यवस्थित गर्न वडाअध्यक्ष दिनेश कार्कीको संयोजकत्वमा मेला मूल समारोह समिति गठन गरीएको छ । मेलालाई भव्य र सभ्य रुपमा सफल बनाउन मन्दिर व्यवस्थापन, प्रचार प्रसार, सरसफाई र स्वयम्सेवक परिचालन उपसमिति गठन गरिएकोे छ ।
प्राकृतिक एवं सास्कृतिक स्थलको धार्मीक तथा पर्यावरणीय पर्यटकीय महत्वलाई आम समुदायमाझ पुर्याउन जरुरी रहेको संयोजक कार्कीले बताए । मेलालाई महोत्सवका रुपमा परिणत गर्न प्mलेक्स, पर्चा, सामाजिक सञ्जाल र पत्रकार सम्मेलनसँगै सञ्चार माध्यमबाट प्रचार प्रसार गरिएको उपसमिती संयोजक देवराज लामीछानेले जानकारी दिए ।
मन्दिरका पूजारी एवम् मन्दिर व्यवस्थापन उपसमिती संयोजक राम गिरीका अनुसार मन्दिरमा रंगरोगनको काम सकिएको छ । नाग भगवानलाई रिझाए राम्रो हुने जनविश्वास अनुसार त्यहाँ बासुकी नागको पुजा आजा गरिने उनले बताए ।
नागदह सरसफाई उपसमिती संयोजक सलामसिं मोक्तानले मन्दिर र दह वरपर सरसफाइ पुरा भएको बताए । नागदहको गहिराई समग्र २५ फिट भएपनि वीच भागमा ४१ फिट रहेको छ । दहको चौडाई ९ सय ३७ मिटर रहेको गिरीले बताए ।
ललितपुरको सदरमुकाम लगनखेलबाट करिब ५ कि.मी. दक्षिण तर्फ ललितपुर महानगरपालिका वडा नं.२४, धापाखेलमा रहेको नागदह ५२ रोपनी क्षेत्रफलमा फैलिएको प्राकृतिक दह हो । परापुर्वकालमा तालको रुपमा रहेको काठमाडौंको पानी चोभारका गल्छीबाट पठाइएपछि स्वतः निर्मित दहको आफ्नै छुट्टै महत्व रहेको छ ।
नागदहमा बासुकी नागको निवास मानिएको नागदहमा नागपञ्चमी तथा भाद्र शुक्ल पञ्चमीका दिन अर्थात् ऋषि पञ्चमीका दिन ठूलो मेला लाग्ने गरेको छ । मेलामा उपत्यकाका विभिन्न स्थानबाट श्रद्धालु भक्तजनको उपस्थित हुने गरेको समितीले जनाएको छ ।
नागदह धार्मिक एवं सांस्कृतिक क्षेत्रका साथै राष्ट्रिय सिमसार क्षेत्र समेत रहेकाले यहाँ विभिन्न स्थानबाट आउने आगन्तुक पक्षिको समेत बासस्थान रहेको पुजारी गिरीले जानकारी दिए ।
प्राकृतिक पर्यावरणीय क्षेत्रको गरिमा जोगाइराख्नु हामी सबैको दायित्व हो, वडा अध्यक्ष कार्कीले भने, यसै कारण नागदहको दिगो विकास एवं पर्यावरणीय सन्तुलन कायम राख्न वृहतर गुरुयोजना सहित काम अगाडी बढाएका हौँ ।
आगामी दिनमा नागदहलाई केन्द्रमा राखेर बासुकी, आँखीदह, गौखुरेश्वर महादेव, सप्तऋषी मन्दिर, नौलिङ्गेश्वर महादेव मन्दिर सहितका सबै क्षेत्रको विकासलाई अगाडि बढाउने योजना रहेको पनि बताए ।
आदिकालमा काठमाडौं उपत्यकाका तीन सहर जलमय भइरहेको बेलामा मञ्जुश्रीले चोभार र बाँडेगाउँको पहाडलाई तान्त्रिक बिधिबाट छेदन गरी पानी बाहिर पठाएको किम्बदन्ती छ । त्यसरी पानी बाहिर पठाउँदा नाग राजा पनि बाहिर जाने भएकोले दह बनाएर नागराजालाई राखिएको र त्यही दह धापाखेलस्थित नागदह भएको इतिहास सम्बन्धी पुस्तकहरुमा उल्लेख छ ।
यस दहमा बासुकी नाग बिराजमान भएकोले नाग पञ्चमी र ऋषि पञ्चमीका दिन मेला लाग्ने गरेकोछ । मेला भर्न उपत्यका र त्यस आसपासका जिल्लाबाट भक्तजनहरु आइ दहमा स्नान गर्नुका साथै विभिन्न भाकलहरुको समेत नाग मन्दिरमा पूजा गर्ने तथा दर्शन गर्ने चलन छ । मेलामा धापाखेल, झरुवाराशी, चापागाँउ, ठैव, हरिसिद्धी, लुभु, लेले, गोदावरी, छम्पि, सातदोबाटोबाट भक्तजनहरू आउने गरेका छन् ।