कांग्रेसले भन्यो राष्ट्रियतामा ओली सरकार चुक्यो
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केपी शर्मा ओलीको सरकार गठन भएको ६ महिनामा मुलुकका जल्दाबल्दा ७ वटा मुद्दामा चुकेको बताएका छन् ।
ओली सरकारको ६ महिने कार्य समीक्षाबारे कांग्रेस पार्टीको धारणा सार्वजनिक गर्न पार्टी केनद्रीय कार्यालय सानेपामा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले भने, ‘गत वर्ष फागुन ३ गते गठित वर्तमान सरकारले आज भदौ ३ को दिन ६ महिना पूरा गरेको छ । सय दिन र वर्ष दिनमा सरकारको समीक्षा गरिने स्थापित सामान्य प्रचलन भएपनि स्वयं सरकारले ६ महिने मूल्याकंन सार्वजनिक गरेपछि, केही समीक्षात्मक टिप्पणी सार्वजनिक गर्नु हाम्रो कर्तव्य बन्न पुगेको छ ।’
पत्रकार सम्मेलनमा कांग्रेसले सरकारको नेतृत्व राष्ट्रवादको मुद्दामा नराम्रोसँग चुकेको, सरकाले प्रतिपक्षप्रति द्वेषयुक्त अभिव्यक्तिहरू, निषेधाज्ञा, मिडियामा बढ्दो हस्तक्षेप र नागरिक स्वतन्त्रतामाथि अतिक्रमण, संघीयता कमजोर गराउने, आलोचना बढाउने र असफल गराउने नियतमा संघीय सरकार देखिएको, विश्वविद्यालयका उपकुलपतिमाथि अपमानजनक व्यवहार, सुन प्रकरणमा भनिएका ठूला माछाको उन्मुक्ति, अनि भ्रष्टाचारको सत्ता संरक्षित विकेन्द्रीकरण, स्थानीय तहमा कर आतंक हँुदै गर्दा सिंहदरबारको उदासीन भूमिका, सरकारले समृद्धि यात्रा सपनाको हवाई उडान तर नीति तथा कार्यक्रममा इच्छाशक्ति नदेखिएको, न्यायालयमा प्रधानमन्त्रीको दोहोरो चरित्र र कार्यपालिका व्यवस्थापिकाको लाचार छायाँ बनाउने षड्यन्त्र जस्ता ७ वटा मुद्दामा सरकार चुकेको जनाएको छ ।