मुख्य समाचार राजनीति

संसद् र प्रदेशसभामा कर्मचारी अपुग भएको राष्ट्रपतिसमक्ष गुनासो

संसद् र प्रदेशसभामा कर्मचारी अपुग भएको राष्ट्रपतिसमक्ष गुनासो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी निकै कम भएको गुनासो गरेका छन् । 
राष्ट्रपति भवन शीतल निवासमा भएको उक्त भेटमा उनीहरूले कर्मचारीको पटक पटक हुने सरुवाले कामलाई सुव्यवस्थित गर्न कठिनाइ भएको तथा पुराना भौतिक संरचनामा कार्यालय सञ्चालन हुँदा भएको असुविधाबारे जानकारी दिए । 


जनप्रतिनिधिको मर्यादाक्रम, भौतिक संरचना र कर्मचारीको अभावबारे पनि उनीहरूले गुनासो गरेका थिए । स्थानीय तहका जनप्रतिनिधिको मर्यादाक्रमको विषय पनि टड्कारो रूपमा उठेकाले नयाँ परिवेशअनुसार मिलाउनुपर्ने आवश्यकताबारे जानकारी गराइएको प्रदेश नं ७ का सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए । 

नयाँ जनप्रतिनिधि र नयाँ कर्मचारी भएका कारण प्रदेशका गतिविधि चुस्त र व्यवस्थित ढङ्गबाट अघि बढाउने सन्दर्भमा तालमेल मिलाउन कठिनाइ भएको हुँदा अनुभवी कर्मचारीको व्यवस्थापन र विज्ञसँगको छलफल र परामर्शलाई आगामी दिनमा घनीभूत ढङ्गले अघि बढाउनुपर्ने आवश्यकता देखिएको विषय सभामुख र उपसभामुखले राष्ट्रपतिसमक्ष राखेका थिए । 

सो अवसरमा राष्ट्रपति भण्डारीले सभामुख र उपसभामुखले उठाएका विषयवस्तुबारे सरकारलाई जानकारी गराइने बताइन् । 
विभिन्न कोणबाट सङ्घीयताप्रति उठाइएको भ्रम चिर्न एवं कानुन निर्माणमा एकरुपता ल्याउन, प्रशासनिक र प्राविधिक पक्षलाई चुस्त तुल्याउन, दक्ष र अनुभवी कर्मचारीको व्यवस्था गर्न तथा संसद् सेवालाई फराकिलो बनाउन टड्कारो आवश्यकता देखिएको विषय पनि भेटघाटका क्रममा उठेको थियो । भेटघाटमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे तथा सातै प्रदेशका सभामुख र उपसभामुख सहभागी थिए । 

संसद् र प्रदेशसभा

विशेष