राप्रपाका सबै पदाधिकारी पदमुक्त
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय पदाधिकारी नयाँ ढंगबाट पुनःगठन गर्ने प्रयोजनका लागि हाल कायम रहेका पार्टीका सबै केन्द्रीय पदाधिकारीलाई सोेमबारकै मितिदेखि पदमुक्त गरिएको छ ।
संशोधित विधानको भावनानुरुप पार्टीलाई अघि बढाउन पदाधिकारी तथा केन्द्रीय समिति विघटन गरिएको हो । पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संशोधित विधान परिमार्जनसहित अनुमोदन गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिए ।
नयाँ विधानअनुसार पार्टीको महाधिवेशन प्रतिनिधि सक्रिय सदस्यबाट चयन हुने व्यवस्था गरिएको छ । केन्द्रीय कार्यसमिति भने २ सय ७७ सदस्यीय हुने व्यवस्था छ । प्रत्येक जिल्लाबाट कम्तीमा एक एकको केन्द्रीय कार्यसमितिमा अनिवार्य प्रतिनिधित्वको सुनिश्चितता हुने गरी निर्वाचन हुने व्यवस्था छ ।
विधानमा उल्लेख भएका पदाधिकारीमध्ये ५० प्रतिशत महाधिवेशनबाट निर्वा्चित हुने र ५० प्रतिशत अध्यक्षबाट मनोनयन हुने व्यवस्था छ । गत जेठमा वीरगन्जमा सम्पन्न केन्द्रीय परिषद् बैठकले निर्देश गरेबमोजिम विधान संशोधन गर्न उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा उपसमिति गठन गरिएको थियो ।