मृत्युदण्ड भएका मुलुकमा पनि हुन्छन् बलात्कार
कञ्चन न्याैपाने
नेपालआज । नेपालमा बलात्कारको घटना वृद्धि हुँदै गएको र बलात्कारीलाई फाँसीकोसजाय दिनु पर्छ भन्ने माग बलियो गरी उठिरहेको छ ।
शनिबार सिंहदरवारअगाडि केही महिला अर्धनग्न रुपमा प्रस्तुत भएर बलात्कारीलाई फाँसी हुनु पर्ने कानुन माग गरे । ‘पेटिकोट’ लगाएर प्रदर्शनमा उत्रिएका उनीहरुको नारा थियो ‘बलात्कारीलाई फाँसी दे’ । यही भाद्र १ गतेदेखि लागू भएको मुलुकी फौजदारी संहितामा बलात्कारीलाई दिइने सजाय अपर्याप्त भएको भन्दै फाँसीको सजाय दिइनुपर्ने माग उनीहरुले गरे ।
बलात्कारमा मात्रै होइन, आजकल ‘हत्यारालाई फाँसी दे’ ‘भ्रष्टाचारीलाई फाँसी दे’ जस्ता नाराहरु लाग्ने गर्छन् । अथवा भनौं आन्दोलनका बेला मान्छे बढी भावनामा बहकिँदा यस्तो नारा लगाउँछ ।
चीनमा भ्रष्टाचारीलाई फाँसी दिइन्छ । तर चीन भ्रष्टाचारमुक्त छैन । साउदी अरबमा बलात्कारीलाई सार्वजनिक स्थलमा गर्धन काटेर दुई टुक्रा पारिन्छ । तर त्यहाँ पनि बलात्कार शुन्यमा झर्न सकेको छैन ।
केहीले बलात्कारीको लिंग काटिदिनु पर्छ भन्ने माग राखेका छन् । अचम्म त के छ भने जोसँग लिंग नै छैन बलात्कार त उसले पनि गर्न सक्छ । जस्तो कि महिलाले नै बलात्कार गरेका घटना पनि त छन् यहि समाजमा । बच्चालाई स्तनपान गराइरहेकी महिलालाई हेर्दा कसैलाई कामभावना उत्पन्न हुँदैन । तर अलिकति ‘क्लिभेज’ देखाएर हिँड्ने महिलालाई पुरुषहरुले सकेसम्म हेर्छन् । अर्थात स्तन भनेको एक अंग हो । अंगको कारण मानिस उत्तेजनामा आउने होइन बरु सोचका कारण आउने हो भन्न सकिन्छ ।
मानिसहरु भन्छन् कि केटीहरुले लगाउने छोटो पहिरनका कारण पुरुषहरु उत्तेजित हुन्छन् । यो कुरा सहि हो । सडकमा यदि १०० मा २ जना महिला त्यसरी तीघ्रा देखाएर हिँडछन् भने मानिसहरुले उनीहरुलाई अवश्य हेर्छन् । तर १०० जनाले नै छोटो कपडा लगाए भने हेर्न छाड्छन् । अर्थात तीघ्रा देखाउँदैमा पुरुष आकर्षित भएर बलात्कार गर्छन भन्ने होइन । व्यक्तिको सोच कस्तो छ त्यसमा निर्धारण हुन्छ । सात वर्षीया बालिकादेखि ७० वर्षीया वृद्धा पनि बलात्कारको सिकार भएका छन् । के तिनले तीघ्रा देखाएर हो त ?
विश्वका विभिन्न देश जस्तै चीन, अफ्गानस्तान, साउदी अरब, उत्तर कोरिया, इजिप्ट, इरान आदिजस्ता देशहरुमा बलात्कारीलाई मृत्युदण्ड दिइन्छ । भारतमा बलात्कारको घटना धेरै हुन्छन् तर प्रहरीमा दर्ता कम हुन्छन् । तथ्यांक हेर्दा भारतमा भन्दा बढी बलात्कार त अमेरिकामा हुन्छ । अमेरिकामा प्रति एक लाखमा २६ जना बलात्कारमा पर्छन् । भारतमा १ दशमलव ८ जना पर्छन् । सेक्स फ्रि भएको थाइल्यान्डमा समेत एक लाखमा ६ जना बलात्कारको सिकार हुन्छन् ।
आयरल्याण्ड (बेलायको एक हिस्सा) र नर्वे जस्ता विकसित मुलुकमा बलात्कारको दर क्रमश १०.७ र १९.२ छ । बलात्कारको यो स्थिति हुँदा पनि ती मुलुकमा मृत्युदण्ड दिइँदैन । तर सामान्य भन्दा सामान्य अपराधको मामिला पनि प्रहरीमा पुगेपछि जरैसम्म पुगेर न्यायालय पुर्याइन्छ । बलात्कार जघन्य अपराध हो । तर यो पाशविक होइन । किनभने पशुमा बलात्कार हुँदैन । अर्थात पशुले पनि यस्तो अपराध गर्दैन ।
विगतमा बलात्कारको सम्बन्धमा यस्ता धेरै नाराहरु आए र गए । तैपनि बलात्कारका घटना रोकिएनन् । झनै बाबुले छोरीलाई नै बलात्कार गर्ने, दाजुले बहिनीलाई नै बलात्कार गर्ने, ६० वर्षकी वृदालाई किशोरले बलात्कार गर्ने प्रवृत्तिले बलात्कार छोटा कपडाका कारण मात्रै हुने होइन भन्ने स्पष्ट भयो ।
फाँसीको सजाय दिइदैंमा बलात्कार रोकिने भए भारतमा बलात्कारको संख्या कम हुनुपर्ने । छिमेकी देश भारतमा अझै पनि दैनिक रुपमा ९३ जना महिला बलात्कारमा पर्छन् । वर्षमा ३४ हजार भन्दा बढी बलात्काारको घटना घट्ने गर्छ भारतमा । त्यस्तैगरि अर्को छिमेकी देश चीनमा वर्षेनी ३१ हजार भन्दा बढी महिलाहरु बलात्कारको शिकार हुन्छन् । तर यही चीनमा बलात्कारीलाई मृत्युदण्ड छ । साउदी अरेबीयामा बलात्कारीलाई सार्वजनिक स्थलमा तरवारले काटेर मृत्युदण्ड दिइन्छ । यहि हुँदाहुँदै पनि एक लाख जनसंख्यामा वर्षमा ३ जना महिलाको बलात्कार हुन्छ ।
बलात्कार युवा भएर हुने होइन र वृद्ध भएर पनि हुने होइन । बलात्कार एउटा मनोविज्ञान हो । सबैले बलात्कार गर्दैनन् र मुख्यतः पुरुष वा महिलाले बलात्कार गर्ने होइन, बलात्कार बलात्कारीले गर्ने हो । यो कुरा जान्न सबैलाई जरुरी छ ।
यसबारे विभिन्न व्यक्तिहरुको आफ्नो आफ्नै धारणा व्यक्त भएको पाइन्छन् । यौनबारे खुलेर कुरा गर्ने नयाँ शक्ति पार्टीका नेता मदन राई भन्छन्, ‘यौन जीवनको नभइ नहुने कुरा हो र यो खुल्ला हुनुपर्छ । यौन कुण्ठा भित्रभित्रै गुम्सिनु हुँदैन । यसले ठूलो समस्या ल्याउँछ । समाजमा विवाहपछि अरुसँग हुने यौन सम्बन्ध स्वीकार्य हुँदैन । श्रीमान श्रीमतिबीच मात्र यौन सम्बन्ध हुनुपर्छ भन्ने छैन । कसैको सहमतिमा र राजी खुशीमा इच्छा चाहना हुँदा यौन सम्पर्क राख्दा त्यसमा नराम्रो केही हुँदैन । तर कसैलाई धम्क्याएर र तर्साएर यौन सम्बन्ध राख्नु ठिक होइन । हाम्रो नेपाली समाजमा यौनलाई खुल्ला रुपमा स्वीकार नगर्दा नै बलात्कारको घटना घटेको हो ।’
यौनको बारेमा उदार भाव र विचार राखिनुपर्नेमा उनी जोड दिन्छन् ।
मनोविद गंगा पाठक भन्छिन्, ‘फाँसी दिने सजाय ठिक हुँदैन । यसले झनै अरु समस्या निम्त्याउन सक्छ । सर्वप्रथम यौैन शिक्षा दिनु जरुरी हुन्छ । कतिपय मानिसहरु यौन शिक्षाकोबारेमा नै जानेका हुँदैनन् । आफूलाई हुने यौन दुव्र्यवहारबारे अनविज्ञ हुन्छन् । बलात्कार एउटा विकृति हो । यसका विविध कारणहरु मध्ये मनोविज्ञान पनि मुख्य कारण हो कसैमा सेक्स हर्र्मोन बढी हुन्छ । यस्तो सन्दर्भमा अभिभावकहरु सजिलै स्वीकार गर्न मान्दैनन् । कुनैै समस्याको सामाधान यौन हुन्छ तर यसलाई खुल्ला रुपले स्वीकार नगर्ने हुँदा यसले समस्या निम्त्याउँछ । त्यसकारण बलात्त्कारको अन्त्य गर्न यौन शिक्षा दिइनु एकदमै जरुरी छ ।’ बलात्कारलाई जरैदेखि उखेल्न यौन शिक्षा आधारभूत रहेको उनले प्रष्ट पारिन् ।
यसकारण दिइनु हुँदैन मृत्युदण्ड
कुनै पनि मानिसलाई यदि फाँसीको सजाय सुनाइन्छ भने त्यो निर्णयलाई परिवर्तन गर्न मिल्दैन । यसरी भइहाल्ने निर्णयले कति मानिसहरु आफू नगरेको गल्तीको पनि सजाय भोग्न पुग्छन् । अमेरिकाको एक अनुसन्धानले देखाएअनुसार, नैतिक रुपमा स्वांङग पार्नका लागिमाात्र पनि मृत्युदण्ड दिइँदा मृत्युदण्ड दिइएकामध्ये चार प्रतिशत मानिसहरु दोषी थिएनन् । जुन कुरा पछिमात्र थाहा भयो । उक्त विषययबारे छानबिन गर्ने टोलीले जनाएअनुसार, सन् १९७३ देखि २००४ सम्म भएको ७,४८२ मानिसलाई मृत्युदण्ड दिइयो जसमध्ये १.६ प्रतिशत मुद्दालाई पछि सच्याइयो र ४.१ प्रतिशत ती मामला पूर्र्ण रुपमै सच्ययाइनिुुपर्र्ने अथवा मृत्युदण्ड पाएका ती व्यक्तिहरुले बिना कसुर सजाय भोगेकोे पाइयो ।
मृत्युदण्डले अपराधका घटनालाई न्युनिकरण गरिहाल्छ भन्ने आवस्था छैन । सन् १९७६ मा क्यानडामा मृत्युदण्डलाई कानूनी रुपमा हटाएपछि त्यहाँ हुने हत्याको संख्या पनि कम भएको थियो । मृत्युदण्डले गर्दा समाजमा हत्या हिंसाका गतिविधी बढ्ने पनि खतरा देखिन सक्छ ।
मृत्युदण्डलाई धेरै देशबाट हटाइदैं आइएको छ । सन् २०१७ मा गिनिया र मंगोलियामा मृत्युदण्डलाई हटाइयो । अहिले विश्वका टप १०६ शक्तिशाली राष्ट्रमा मृत्युदण्डलाई अस्वीकार गर्ने प्रवृत्ति बढ्दो छ ।
महात्मा गान्धीले भनेका थिए, ‘आँखामाथि आँखा थपियो भने संसार अन्धकार हुन्छ ।’ यसको मतलब हिंस्रक गतिविधीकोे उपचार त्यही हिंस्रक ढंगबाट गर्दा त्यसको नतिजाको कसले लेखाजोखा गर्छ ? यसले संसार नैै खराब गर्छ ।
सुधार केन्द्र
चाहे त्यो बलात्कारी होस् या भ्रष्टाचारी, मृत्युदण्ड दिइने नियममा हत्याराको आरोप लागेकाहरुलाई सुधारगृहमा राख्ने कुरलाई सकारात्मक रुपमा लिइँदैन । तर, यसका धेरै राम्रा पाटाहरु पनि छन् । विशेषगरी सुधार केन्द्रमा राख्दा हत्यारालाई मात्र सहयोग मिल्दैन, उसले हत्या या केही गलत काम गर्नुपछाडि भएका विविध कारण जसलाई मनोविज्ञानमा (मोटिभेसन)पनि भनिन्छ । सुधार केन्द्रमा राखिँदा ती कारणहरुलाई पनि फुकाउनमा मद्दत पुर्याउँछ । यसरी ती कारणहरु बेलैमा थाहा पाउँदा पनि आगामी दिनमा पनि त्यस्ता अपराधको न्युनिकरण गर्न सकिन्छ ।
यौन शिक्षा
आजको युगमा यौन शिक्षा जति महत्वपूर्ण सायदै अरु केही होला । महिला या पुरुषमा हुने यौन दुव्र्यवहारजस्ता घटना बढ्दै आएक छन् । तर यसबारे पीडितहरु खुलेर बोल्न सक्दैनन् । किनभने कतिपयलाई यौन दुव्र्यवहारबाररे पत्तो नै हुँदैन । घरमा बाबुद्वारा छोरीलाई यौन दुव्र्यवहार भइरहेको छ भने त्यो कुरा छोरीले कुन रुपमा सोच्ने ? बुबाले माया गर्नु भएको हो भन्ने कि दुव्र्यवहार हो भन्ने ? कतिपय सन्दर्भमा मानिसको नियत ठिक हुँदा पनि उसले गर्ने प्रस्तुति नकारात्मक भइरहेको हुन सक्छ । त्यसकारण यौन शिक्षाबारे जान्नु बुझ्नु एकदमै जरुरी हुने मनोविद् गंगा पाठक बताउँछिन् ।
उनका अनुसार, बलात्कार विकृती हो र यो सर्वप्रथम मानिसको मनोविज्ञानबाट नै आउने हो । यसमा पारिवारिक, जेनेटिक, हुर्का बढाई, वरिपरिको वातावरणहरुको पनि भर पर्छ । कसैले आफ्नो शक्ति देखाउन पनि कमजोर व्यक्तिmमाथि यसको प्रयोग गर्ने गर्छन् ।
उनले थपिन्, ‘अहिले यौन चाहना गलत तरिकाले आइरहेको छ । त्यो रोग हो । त्यसको उपचार गर्ने की फाँसी दिने ? प्रकृतिक रुपमा हुने समस्यालाई प्रकृतिक रुपमा हल गर्नुपर्छ । कसैलाई उमेर नपुग्दै यौन चाहना बढी हुन्छ । त्यस्तो समस्यालाई प्राकृतिक रुपमा हल गर्नु पर्छ ।’
सेक्स हर्मोनको मात्रा
मानिसहरुमा हुने सेक्स हर्मोन पनि कसैमा कम या कसैमा धेरै हुने गर्छ । सेक्स हर्मोन धेरै हुनेहरुले व्यवहारको माध्यमबाट त्यस्ता यौनभावका संकेत देखाइरहेका पाइन्छन् । यस्तो सन्दर्भमा परिवारले पनि समस्यालाई बुझिदिनुपर्छ र यौन सम्बन्धप्रति उदार भाव राखिइनुपर्ने जरुरी भएको डा.पाठक बताउँछिन् । उनले थपिन्, ‘ नेपाली समाजमा यौन शिक्षाको विकास अझै राम्ररी भएको छैन । यौन हर्मोन बढी हुनेहरुले अभिभावकबाट पनि राम्रो साथ पाउँदैनन् । आफंै उत्ताउलो भएर यस्तो भएको भनेर धेरै अभिभावकले भनेको र यौनको समस्यालाई स्वीकार गर्न नसकेको पनि देखेकी छु ।’
मूल प्रश्न यो हो कि बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गर्दा पनि बलात्कार रोकिएन भने के गर्ने ? बलात्कारीका परिवारलाई पनि सजाय दिने ? वा उसलाई तड्पाइ तड्पाई मार्ने ? त्यति गर्दा पनि बलात्कार रोकिएन भने बलात्कारी बस्ने गाउँ टोलका सबैलाई सजाय दिने ? सजाय नै समस्याको एकमात्र समाधान हो त ?