व्यापार मुख्य समाचार

के गर्दैछन् मन्त्री मातृका यादव ? काठमाडौंमा तरकारी अभाव सुरु

के गर्दैछन् मन्त्री मातृका यादव ? काठमाडौंमा तरकारी अभाव सुरु

काठमाडौं । सरकारी अनुगमनको विरोधमा व्यापारीहरूले मंगलबार कालिमाटी तरकारी बजार ठप्प पारेका छन् ।  


तरकारी आपूर्तिमा ‘बिचौलिया’ लाई समाप्त पार्ने उद्देश्यले कालिमाटी तरकारी थोक बजारमा अनुगमन गर्न सोमबार खटिएको सरकारी टोलीलाई घेराउ गरेपछि आपूर्तिमन्त्री मातृका यादव स्वयं कालिमाटी गएर स्थितिको मूल्यांकन गरेका थिए । 
व्यापारीहरूले त्यहाँ सरकारी टोलीमाथि दुव्र्यहारसमेत गरेका थिए । मन्त्री यादव थप सुरक्षाकर्मीका साथ कालिमाटी पुगेपछि व्यापारीहरू थप आक्रोशित भएका थिए । 


सरकारी टोली र व्यापारीहरूबीच भनाभन भएपछि कालीमाटी फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष भरत खतिवडालाई प्रशासनले नियन्त्रणमा लिएको थियो । अध्यक्षको गिरफ्तारीविरुद्ध मंगलबार उनीहरूले सांकेतिक रूपमा बजार बन्द गराएका हुन् । मंगलबार कालीमाटी तरकारी बजार सुनसान देखिएको छ । व्यापारीहरूले सञ्चारकर्मीहरूलाई पनि बजार क्षेत्रमा प्रवेश गर्न रोक लगाएका छन् । 


आपूर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले सोमबार बिहान तरकारीसम्बन्धी बिलहरू माग्न थालेपछि भनाभन सुरु भएको थियो । नेपाली सञ्चारकर्मीहरूले तरकारी आपूर्ति क्षेत्रमा बिचौलिया हावी भएको र उनीहरूले तरकारीको मूल्यमा तीन गुणा मूल्य बढाउने समाचार पहिल्यै नै प्रकाशन प्रसारण आएका थिए । लामो समयपछि तरकारीमा सिन्डिकेट हटाउन जुर्मुराएको सरकार मंगलबार अपराह्नसम्म ‘न एक्सन न वैकल्पिक व्यवस्था’ कुनै पनि एक कित्तामा देखिएको छैन । 


काठमाडौं उपत्यकामा व्यापारीको आन्दोलनका कारण तरकारी आपूर्तिमा समस्या देखिन थालेको छ । सदा झैँ मंगलबार बिहान थोक मूल्यमा तरकारी खरीद गर्न कालीमाटी पुगेका खुद्रा साना व्यापारीहरू तरकारीबिना फर्किन वाध्य भए । कालिमाटीका व्यापारीहरूले तरकारी लोड अनलोड गर्न उनीहरूलाई रोकेका थिए । 


केही खुद्रा व्यापारीहरूले भने केही दिन आन्दोलन लम्बिएमा काठमाडौंमा तरकारीको हाहाकार मच्चिने बताउँछन् । 
अहिले काठमाडौंमा तरकारीको आपूर्ति हिजो अस्तिको स्टकबाट चलिरहेको उनीहरूको भनाइ छ । आन्दोलनका कारण तरकारीको मूल्य डेढ गुणा बढिसकेको छ । 


उता आपूर्ति विभाग भने व्यापारीहरूसँग वार्ताको माध्यमबाट समस्या समाधान गर्ने प्रयासको रहेको छ । 
यसअघि यातायातको क्षेत्रमा सिन्डिकेट हटाउन सफल भएको दाबी गरेको ओली सरकार तरकारीमा व्याप्त बिचौलियालाई हटाउन सफल हुन्छ कि हुँदैन भन्ने हेर्न बाँकी नै छ । आपूर्तिमन्त्री यादवलाई सत्तारूढ दलका सांसदहरूले नै सरसल्लाह नगरिकन अनुगमनमा पठाएर समस्या सिर्जना गरेको आरोप लगाएका छन् । यस्ता आरोप लगाउने सांसदहरू पूर्व एमालेका हुन् । पूर्व एमालेका सांसदहरूको तरकारी क्षेत्रमा राम्रो नेटवर्क रहेको छ । किनभने काठमाडौं उपत्यकामा अत्यधिक तरकारी आपूर्ति हुने जिल्लाहरूमा काभ्रे, धादिङ, मकवानपुर र चितवन पर्दछ । यसको अतिरिक्त पूर्वपश्चिम राजमार्गको भित्री भागबाट पनि काठमाडौंमा तरकारीको आपूर्ति हुने गरिन्छ । त्यस्तै भारतबाट पनि आयात गरिने तरकारीका आयातकर्तामा एमाले समर्थक नै बढी छन् । एमालेले नै पहिले उनीहरूलाई संगठित हुन सिकाएका थिए । 


तरकारी आपूर्ति क्षेत्रमा बिचौलियाले किसानसँग किनेको मूल्यभन्दा तीन गुणा बढी मूल्य निर्धारण गरेर कालिमाटी, बल्खु, कोटेश्वरलगायत उपत्यकाका बिक्री केन्द्रमा  थोक रूपमा तरकारी बिक्रीवितरण गर्दै आएका छन् ।   
बिचौलियाका कारण तरकारी उत्पादनकर्ता किसान तथा उपभोक्ता दुबै मारमा परेका छन् । 


प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि आफ्ना सहकर्मी मन्त्रीहरूको कार्य मूल्यांकन सुरु गरिसकेको मन्त्रिपरिषद्को बैठकमा जानकारी दिँदा प्रायः धेरैजसो मन्त्रीहरू मुखामुख भएका थिए । यही परिवेशमा ‘एक्सन’ मा उत्रिएका आपूर्तिमन्त्री यादवलाई अनुगमन निल्नु न ओकल्नु भएको छ । अब हेरौँ मन्त्री यादवको गुणवत्ता । मंगलबार अपराह्नसम्म व्यापारीहरूले भन्न थालेका छन् ‘हामीले त बजार बन्द गरायौँ, सरकारले के गर्न सक्छ ?’ –नेपाल आज डेस्क   
 

कालिमाटी तरकारी बजार ठप्प

विशेष