अन्तरवार्ता भिडियो

‘ट्राफिक प्रहरी देख्दा मात्र कडा तर रमाइलो पनि गर्दा रहेछन्’ (भिडियोसहित)

‘ट्राफिक प्रहरी देख्दा मात्र कडा तर रमाइलो पनि गर्दा रहेछन्’ (भिडियोसहित)

काठमाडौं । अहिलेको समयमा महिला प्रहरीको संख्या बढ्दो क्रममा रहेको छ । कुनैपनि मौसममा सडकमा खटिएका ट्राफिक महिलाहरूले पुरुषको तुलनामा राम्रो ट्राफिक व्यवस्थापन गरेको थापाथली सडक प्रयोगकर्ताले बताएका छन् । महिला ट्राफिक प्रहरीले जथाभावी सवारी चलाउनेहरूलाई लचिलो भएर ट्राफिक नियम सिकाउने गरेको पनि पाइएको छ । 


ट्राफिक प्रहरी नायब निरीक्षक सती घिसिङ सडक प्रयोगकर्ताहरू सरल र सहज तरिकाले आ–आफ्ना गन्तव्यसम्म पुगोस् भन्ने हाम्रो चाहना रहेको बताउँछन् ।

 

नेपाल आजकी अर्कना खातुनसँग कुराकानी गर्दै महानगरीय प्रहरी प्रभाग थापाथलीकी घिसिङ भन्छिन्, ‘अहिले भन्नुपर्दा लेन अनुशासन पालना गर्न हामीले बस स्टपमा बढी फोकस गर्ने गरेका छौँ ।

 

मलगायत २८ जना महिला ट्राफिक प्रहरी त्यसक्षेत्रमा खटिएका छाै‌ं । हाम्रो सरदरमा डिउटी आवर १२–१३ घन्टा पर्न जान्छ । दिउँसोको चेकिङदेखि रातीको मापसेसम्मको डिउटी एक जना ट्राफिक प्रहरीलाई दिइएको हुन्छ ।

 

सिफ्ट वाइज बिहान ६ बजेबाट १० बजेसम्म हुन्छ । १० देखि ३ बजेसम्म र फेरि ३ देखि ७ बजेसम्म हुन्छ । १२–१३ घन्टाको डिउटी गर्दा जाह्रो त भइहाल्छ, तर जब नेचर नै त्यस्तै छ ।’


उनलाई काम गर्न गाह्रो छैन भन्ने प्रश्न गर्दा उनले भनिन्, ‘आफैंले रोजेर सेक्टर हो गाह्रो मानेर भएन ।’ 


थापाथली र त्रिपुरेश्वर क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्दा के कस्ता चुनौती र अफ्ठयाराहरूको सामाना गर्नु पर्ने हुन्छ भन्ने प्रश्न गर्दा उनी भन्छिन्, ‘सवारी चालकहरूले  नियम उल्लंघन नगरी सवारी चलाइदिए हामीलाई व्यवस्था गर्न सहज हुन्छ ।

 

उहाँहरूले पनि बुझेर बस स्टपमा गएर रोकिदए, जहाँ पाए त्यहींबाट यु टर्न नगरिदिए सहज हुन्थ्यो । अहिलेको सडकको अवस्था पनि त्यस्तै छ । सब–वे छैन, आकाशे पुल छैन । पूर्वाधार विकास भएको छैन् । त्यही भएर हामीलाई अलि अफठ्यारो हुन्छ ।’ 

 

उनले अगाडि भनिन्, ‘धेरै जाम भएको बेला महाशाखाबाट जनशक्ति माग्ने गरेका छौं । ठूलो पानी पर्दा र ठूलो गाडी बिग्रिँदा मात्र जाम हुने गरेको छ । नत्र खासै जाम हुँदैन् ।’ 

 

धुलोधुवाँले गर्दा स्वास्थ्य समस्या हुने तथा महिनावारी हुँदा डिउटी गर्न गाह्रो हुँदैन र त्यस समय के गरी कार्य मिलाउनु हुन्छ ? भन्ने प्रश्नका सम्बन्धमा उनले भनिन्, ‘सबैलाई एकै बेला पिरियड हुँदैन् र कोही भएको छ भने डिउटी आवर मिलाएर गर्ने गर्छौं ।

 

रेस्ट दिन्छाै‌ं । खासै समस्या आउँदैन् । स्वास्थ्यकै कुरा गर्ने हो भने कहिलेकहीँ ढाड दुख्ने, लामो समयसम्म खोकी लाग्ने । त्समाथि त आफू व्यवस्थापनका लागि चुस्त भएर आइसके पछि गाह्रो माने नै भएन नि ।’ 

 

प्रहरी सबैको  सुरक्षाका लागि हो । तर पनि प्रहरी देख्ना बित्तिकै सबै डराउँछन् ? किन होला भन्ने जिज्ञासामा घिसिङले भनिन्, ‘राम्रो मान्छे कहिल्यै डराउँदैनन् नि ? गल्ती नै नगरी कोही किन डराउने । कागजपत्र नभएकाहरू जस्ले गल्ती गर्दै हिँड्छन् तिनीहरू मात्र डराउँछन् । राम्रो मान्छेले त सेफ महसुस गरेको हुन्छ ।’ 

 


ट्राफिक नियमका सम्बन्धमा उनको भनाइ छ, ‘हाम्रो ऐननियम त एकदमै राम्रो लाग्छ मलाई । मेरो अनुभवले भन्नुपर्दा कार्यान्वयन राम्रो भएन । कार्यान्वयन गर्न सक्नुपर्‍यो । सवारीचालकहरूले र सडक प्रयोगकर्ताहरूले कहाँ सवारी रोक्दा र कहाँ ओर्लिंदा ठीक हुन्छ, त्यो आफँै पनि बुझदिए झन् सहज हुन्थ्यो काम गर्न ।’ 

 


रात दिन जनताका लागि खट्नु हुन्छ, त्यस्तो बेला कहिलेकहीँ सडक प्रयागकर्ताहरूले भने जस्तो नगरिदिए, नमान्दिए रिस त उठ्दो होला नि भन्ने प्रश्न गर्दा उनले भनिन्, ‘नेपाली समाज हो । उहाँहरू रिसाउनु हुन्छ ।

 

 

हामीलाई एक वर्षको सहनशीलता र धैर्यताको तालिम दिएर पठाएको हुन्छ त्यसैले उहाँहरू रिसायो भन्दैमा हामी रिसाउनु भएन नि । नत्र पब्लिक र पुलिसमा के नै फरक पर्‍यो र ? उहाँहरू झगडा गर्दा हामी अलि सहनै पर्छ ।’ 

 


कामको चापमा के कति रमाइलो गर्नु हुन्छ सोध्दा घिसिङले भनिन्, ‘म रमाउन प्रायः गीत सुन्छु ।’ घिसिङले कुराकानीको अन्त्यमा ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ भन्ने गीत गाएर सुनाइन् पनि । 


पेसाप्रतिको बफादारी र कामलाई सम्मान गरेकाले उनीहरूलाई उत्कृष्ट महिला प्रहरीमा छनोटसमेत गरिएको थियो ।

ट्राफिक प्रहरी सती घिसिङ

विशेष