नेपाली सेनाले व्यापार नगरेको स्पष्टोक्ति
काठमाडौं । नेपाली सेनाले आफ्नो कल्याणकारी कोषमा ४१ अर्ब मौज्दात रहेको जनाएको छ ।
जंगीअड्डामा बुधबार आयोजित पत्रकार सम्मेलनमा सैनिक कल्याणकारी निर्देशनालयका निर्देशक सहायक रथि रघु भण्डारीले कोषमा ०७५ असार मसान्तसम्म कुल मौज्दात ४१ अर्ब २९ करोड ८२ लाख ४६ हजार पुगेको जानकारी दिए ।
यसमध्ये नगद मौज्दात ३५ अर्ब ७७ करोड २४ लाख ५९ हजार छ भने कोषमार्फत् विभिन्न आयोजनामा ५ अर्ब ५२ करोड ५९ लाख ८७ हजार लगानी गरिएको छ ।
सेनाले संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यमा सहभागी सैनिकले पाउने पारिश्रमिकबाट कट्टा गरी ०३२ सालमा कोषको स्थापना गरेको थियो । त्यसबेला १ करोड २४ लाख १ हजारबाट कोष सुरु गरिएको थियो । सेनाले गत आर्थिक वर्ष ०७४ र ०७५ मा विभिन्न वाणिज्य बैंकहरूमा राखिएको निक्षेपबाट प्राप्त व्याजबापत मात्र ४७ करोड कर तिरेको समेत जानकारी दिइएको छ ।
बहालवाला तथा अवकाश प्राप्त सैनिक र तिनका परिवारका लागि स्वास्थ्य सेवा, शिक्षालगायतका कल्याणकारी कार्य गर्ने भन्दै स्थापित कोष पछिल्लो समय जंगीअड्डाको नाफामुखी व्यवसाय गर्ने मुख्य स्रोत बन्न पुगेको छ ।
सेनाले कोषको रकम लगानी गरेर नाफामुखी पेट्रोल पम्प, मेडिकल कलेजलगायत सञ्चालन गरिरहेको छ ।
पत्रकार सम्मेलनमा सेनाले व्यापार गरिरहेको सन्दर्भमा सेनाका प्रवक्ता एवं सहायक रथि गोकुल भण्डारीले हामीले जे गरिरहेका छौं, त्यो सबै बहालवाला तथा अवकाश प्राप्त सैनिक र तिनका परिवारका लागि हो भन्ने कुरा स्पष्ट पारे । उनले भने, ‘आजका दिनमा पैसा नभई केही काम हुन सक्दैन । कल्याणकारी कार्य गर्न पनि पैसा आवश्यक पर्ने हुँदा त्यसका लागि स्थापित कोष जोगाइ राख्नुपर्ने भएकाले सैनिक ऐन र नियमको परिधिमा रही आयआर्जनका कार्य गरिरहेका छौं ।’