मधेस बेग्लै देश हो भनेर अन्तर्राष्ट्रिय मञ्चमा दर्ता गरिसकेछन् (भिडियाेसहित)
काठमाडौंं । नेपाली सेनाका पूर्वसहायक रथि डा. प्रेम सिंह बस्न्यातले संघीयताका कारण साधारण खर्च बढेर धान्नै नसकिने स्थितिमा पुगेको बताएका छन् । उनले तीन तहको संघीयतामा ‘जनता भन्दा बढी कर्मचारी, जनता भन्दा बढी भ्रष्टाचारी’ जस्तो स्थिति सिर्जना भएको उल्लेख गरे ।
नेपालआज डट कममा उनको नियमित भिडियो स्तम्भ ‘स्ट्रेट फरवार्ड’मा बोल्दै बस्न्यातले भने, ‘१२ बुँदे सहमति गर्ने पापीहरुका कारण मुलुक ओरालोतर्फ लागेको हो । त्यो सहमतिको सूत्रधार भारत हो । भारतले त सकेसम्म नेपाललाई नै लैजान्छ नी ।’
१२ बुँदेमा सहमत भएका नेताहरु मुलुकका खलपात्र रहेको बस्न्यातको निष्कर्ष छ । बाबुराम भट्टराईले त कम्युनिष्टहरुको किरिया गरेर निस्केको बस्न्यातको ठहर छ । कम्युनिष्ट भएर १७ हजार मान्छे मारिसकेपछि ‘म कम्युनिष्ट होइन’ भन्ने बाबुराम खलपात्र नै भएको बस्न्यातको आशय छ ।
नेपाल टुक्रा पार्न चाहने मुख्य आर्किटेक्ट बाबुराम भट्टराई नै भएको बस्न्यातको आरोप छ । उनले भने, ‘एक मधेस एक प्रदेश दिन चाहने, तराईमा अत्तो न पत्तोसँग आठ जिल्लाको प्रदेश बनाउने पनि उनै हुन् ।’
बाबुराम भट्टराई पानी मुनी लुके पनि, उनको निधन भइसके पनि उनको अस्थिपञ्जर झिकेर भए पनि नेपाली जनताले एक दिन अवस्य सजाय दिने बस्न्यातको दाबी छ ।
तराईका नक्कली नागरिकहरु, हुलमुलमा अंगिकृत लिएकाहरुले नेपालको हित नचाहेको बस्न्यात बताउँछन् । उनले तराईका वास्तविक भूमिपुत्रहरुले यो सबै चाहेकै छैनन् । उनले भने, ‘केही नयाँ नेपालीहरु छन् तराईमा, जसको उद्देश्य नेपालमा आगो लगाउनु र लुटेर खानु मात्रै हो ।’
सिके राउतले खुलेआम देश टुक्र्याउछु भनिरहेको छ । बस्न्यातको मतमा सिकर ओढेर दुष्कर्म गर्नेहरु पनि छन् । बस्न्यात भन्छन्, ‘सीमा पारि गएर हामीलाई ढुंगा हान्ने पनि यिनै, नाकाबन्दीको काँध थाप्ने पनि यिनै अनि अहिले मन्त्री बन्ने पनि यिनै । यस्ताले बिगारेका छन् देश ।’