सिन्धुपाल्चोकका भूकम्पपीडित अझै टहरामा
सिन्धुपाल्चोक । भूकम्प गएको ४१ महिना बितिसक्दा पनि सिन्धुपाल्चोकमा हालसम्म ५२ प्रतिशतले मात्र नयाँ घरमा बस्न पाएका छन् भने ४८ प्रतिशत पीडित परिवारले अझै पनि टहरोमा नै कष्टकर जीवन बिताइरहेका छन् ।
जिल्लामा कुल लाभग्राही ८६ हजार ९ सय ७१ परिवारमध्ये ४४ हजार ७ सय ३४ परिवारले मात्र नयाँ घर निर्माण गरी बसिसकेका छन् । ७७ हजार ५ सय ८२ परिवारले निर्माण कार्य सुरु गरेका र नौ हजार ३ सय ८९ परिवारले अहिलेसम्म घर निर्माण सुरु नै नगरेको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका निमित्त प्रमुख इञ्जिनियर टङ्क गौतमले बताए ।
उनका अनुसार हालसम्म ७६ हजार १ सय ७७ परिवारको दोस्रो र ४८ हजार परिवारको तेस्रो किस्ता सिफारिस गरिसकिएको छ । जिल्लामा सुरुको अवस्थामा ७८ हजार ५ सय ३७ परिवार लाभग्राहीको सूचीमा थिए ।
गुनासोमा दर्ता गर्नेको संख्यामा वृद्धि भएपछि लाभग्राही सूचीमा पनि वृद्धि भई ८३ हजार ९ सय ७१ पुगेको हो । ०७४ मंसिर मसान्तसम्म गुनासोमा दर्ता गर्नेको संख्या २३ हजार ९ सय ५८ मध्ये आठ हजार ४ सय ३४ परिवारले अनुदान पाउने निर्णय भएको र बाँकीको टुङ्गो लाग्न बाँकी भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले जानकारी दिएको छ ।
भूकम्पबाट अति प्रभावित १४ जिल्लामध्येको सिन्धुपाल्चोकका विभिन्न स्थानमा बसोबास गर्दै आएको कतिपय परिवारको जमिन पहिरो गएको तथा जमिन भास्सिएर चिरा परी बस्नै नहुने अवस्थाका छन् ।
अति जोखिममा रहेका ६ सय ९३ परिवारमध्ये १ सय ५३ परिवारलाई दुई लाखका दरले उपयुक्त ठाउँमा घडेरी खरिद गरिएको छ र बाँकीको हकमा चाँडै टुङ्गो लगाइने स्थानीय पूर्वाधार कार्यालयप्रमुख जिल्ला इञ्जिनियर माधवजङ्ग कार्कीले जानकारी दिए ।