व्यापार स्वास्थ्य

‘ट्रमाडोल’ सिफारिसबिना बिक्री गर्न नपाइने

काठमाडौं । औषधि व्यवस्था विभागले ट्रमाडोल नामक औषधि चिकित्सकको सिफारिसबिना बिक्रीवितरण नगर्न रोक लगाएको छ । 

 

सो औषधि दुखाइ कम गर्न प्रयोग हुन्छ । केही मुलुकमा बिक्रीवितरणमा रोक लगाइएको सो औषधिलाई नेपालमा अन्यत्र प्रयोग हुन थालेपछि विभागले यही भदौ १५ गतेदेखि चिकित्सकको सिफारिसबिना बिक्रीवितरणमा रोक लगाउन लागेको हो । औषधि पसलबाहेक अन्य खुद्रा पसलमा बिक्रीवितरण गर्न बाँकी रहेका ती औषधि थोक बिक्रेतालाई फिर्ता गर्न विभागले आग्रह गरेको छ । 

 

विभागका महानिर्देशक नारायण ढकालले चिकित्सकले सिफारिस गरेका ट्रमाडोलको संख्या औषधि पसलले भदौ १५ गतेदेखि अभिलेख राखेर मात्र वितरण गर्नुपर्ने व्यवस्था गर्न लागेको जानकारी दिए । सो औषधि बर्सेनि कति खपत हुन्छ भन्ने कुनै तथ्यांक छैन । अब औषधि उत्पादक कम्पनी तथा आयातकर्तालाई पनि के कति मात्रामा सो औषधि उत्पादन एवं आयात गरिएको हो भन्ने यकिन तथ्यांक विभागमा बुझाउन भनिएको छ । 

 

यसैबीच विभागले हालसम्म १ सय १७ प्रकारका अत्यावश्यक औषधिको मूल्य निर्धारण गरी कार्यान्वयनमा ल्याएको छ । ती औषधिमा प्यारासिटामोलदेखि अल्मिनाडोेलसम्मका छन् । विशेषगरी पछिल्लो समय नसर्ने रोग (मुटु, मिर्गाैला, रक्तचाप) मा प्रयोग हुने औषधिको मूल्य निर्धारण भएको छ । नेपालमा पछिल्लो समय सर्नेभन्दा नसर्ने रोगीको संख्या दिन प्रतिदिन बढिरहेको छ । कार्यविधि बनाई औषधिको मूल्य निर्धारण गरिएको महानिर्देशक ढकालले जानकारी दिए । 
 

औषधि ट्रमाडोल

विशेष