राजनीति

फिल्मी शैलीमा गाडीको लस्कर लगाउने मन्त्री भन्छिन्, ‘जनता गाडीमा आए त म के गर्न सक्छु ?’

फिल्मी शैलीमा गाडीको लस्कर लगाउने मन्त्री भन्छिन्, ‘जनता गाडीमा आए त म के गर्न सक्छु ?’

काठमाडौं । साउथ इन्डियन फिल्मको झल्को दिन गरी गाडीको लस्कर लगाएर सवारी चलाउने प्रदेश नम्बर २ कि भौतिक पूर्वाधार राज्यमन्त्री डिम्पलकुमारी झाले त्यस्तो लस्करबारे आफैं अञ्जान रहेको बताएकी छन् ।  नेपालआजसँग छोटो कुरा गर्दै मन्त्री झाले भनिन्, ‘जनताहरु मेरो स्वागतका लागि गाडीमा आएका रहेछन् । मेरो सम्मानका लागि जनता आउँदा मैले कसरी रोक्न सक्छु ?’

 

सामाजिक सञ्जालमा भइरहेको चर्चाबारे आफू जानकार रहेको उनले उल्लेख गर्दै भनिन्, ‘मानिसहरुले मेरो लागि सामाजिक सञ्जालमा दुई चार शब्द खर्च  गर्छन् भने त्यो पनि ठिकै छ । सबै कुरालाई म नकारात्मक ठान्दिनँ । लोकतन्त्रमा सबैलाई बोल्ने अधिकार छ ।’ 

 

प्रदेश २ को राजधानी जनकपुरबाट गृहजिल्ला रौतहट जाँदा चन्द्रनिगाहपुरमा मानिसहरु जम्मा भएका थिए । मंगलबारको सो लस्करबारे थप जानकारी दिँदै मन्त्री झाले भनिन्, ‘चपुरमा धेरै मानिसहरु जम्मा हुनुभएको थियो । पहिले पनि मेरा समर्थकहरुको त्यस्तै जमघट हुन्थ्यो । यो पटक म मन्त्री नै भएपछि साथीहरु आउनु भएको हो ।’

 

सवारीमा लस्कर त्यति लामो भइसकेको आफूले पत्तै नपाएको झाले दाबी गरिन् । पति (अनिल झा) पनि त्यो दिन काठमाडौंमा रहेको उनले बताइन् । तर भिडियोमा अनिल पनि देखिन्छन् । 

 

मन्त्री झाले मुलुकको विकासका लागि, महिला विकासका लागि धेरै काम गरेको बताइन् । उनले भनिन्, ‘म मन्त्री हुँदा जनता यति धेरै उत्साहि भएका छन् । म कामना गर्छु कि जनताको सेवाका लागि मैले अझै धेरै गर्न सकूँ ।’

 

आफूविरुद्ध केही मिडिया पूर्वाग्रही भएको मन्त्री झाको गुनासो छ । संसदमा धेरै दम्पत्ति सांसद थिए । तर चर्चा आफ्नो बढी भएको उनले बताइन् । उनले भनिन्, ‘पति पत्नी नै सांसद भएको भनेर मेरो बारेमा चर्चा धेरै भयो । तर कति पहाडीयाहरुको पनि त दम्पत्ति संसदमा थिए । विगतमा पनि उनीहरुको कुरा ओझेलमा पार्ने अनि मेरो मात्रै बढी कुरा निकालियो ।’

 

मन्त्री झा राजपाबाट प्रदेश २ मा मन्त्री भएकी हुन् । सो प्रदेशमा  नेतृत्व संघीय समाजवादी फोरमका लालबाबु राउत मुख्यमन्त्री छन् । 

साउथ इन्डियन फिल्म प्रदेश नम्बर २ डिम्पलकुमारी झा

विशेष