मुख्य समाचार समाज

बिम्स्टेक शिखर सम्मेलनको कार्यसूची पारित

बिम्स्टेक शिखर सम्मेलनको कार्यसूची पारित

काठमाडौं । बिम्स्टेकको मन्त्रीस्तरीय बैठकले सचिवस्तरीय बैठकले तयार पारेको कार्यसूचीलाई पारित गरेको छ ।

 

काठमाडौंमा बुधबार सम्पन्न बिम्स्टेक सदस्य राष्ट्रहरूको १६औं मन्त्रीस्तरीय बैठकले सचिवस्तरीय बैठकले मंगलबार तयार पारेको कार्यसूचीमाथि छलफल गरी त्यसलाई पारित गरेको हो ।

 

बैठकले बिम्स्टेक ग्रिड इन्टर कनेक्सनको सम्झौतापत्र पनि पारित गरेको परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता भरतराज पौड्यालले जानकारी दिए ।

 

सचिवस्तरीय बैठकले विभिन्न ८ वटा क्षेत्रका १४ वटा विषयमा छलफल गरी कार्यसूची बनाएको थियो ।

 

क्षेत्रीय लगानी तथा व्यापार, पारवहन तथा सञ्चार, प्रविधि, प्रतिआतंकवाद तथा अन्तरदेशीय अपराध नियन्त्रण, कृषि, गरिबी निवारण र जनस्वास्थ्यलगायत विषयमा एक भएर अगाडि बढ्ने सहमति सदस्य राष्ट्रहरूबीच भएको छ ।

 

मन्त्रीस्तरीय बैठकको अध्यक्षता गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बिम्स्टेक क्षेत्रको सामाजिक–आर्थिक रूपान्तरण संगठनको अबको कार्यसूची हुनुपर्ने उल्लेख गरे ।

 

व्यापार र लगानीबाटै आर्थिक–सामाजिक रूपान्तरण हुने भन्दै उनले त्यसका लागि रेल, सडक, हवाईमार्ग र अप्टिकल फाइबरका माध्यमबाट सम्पर्क विस्तार, ऊर्जा र प्रविधिको उपयोगबाटमात्र सम्भव हुने बताए ।


बैठकमा बंगलादेशका विदेशमन्त्री अबुल हसन महमुद अली, भारतका वाह्य मामिला राज्यमन्त्री भिके सिंह, म्यानमारका अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी संघीयमन्त्री क्याव तिन, श्रीलंकाका विदेश राज्यमन्त्री वसन्ता सेनानायके, थाइल्यान्डका विदेशमन्त्री दोन प्रमुदविनय र भुटानका विदेशसचिव सोनाम छोङले सहभागी थिए ।


 

बिम्स्टेक

विशेष