भिडियो

दरबारबाहिर टायर पड्किँदा बुझ्न पठाइन्थ्यो, भित्र वंश नाश हुँदा कोही पसेनन् (भिडियोसहित) 

दरबारबाहिर टायर पड्किँदा बुझ्न पठाइन्थ्यो, भित्र वंश नाश हुँदा कोही पसेनन् (भिडियोसहित) 

काठमाडौं । २०५८ सालसम्म खगेन्द्र पाठक दरबारमा शाही रक्षक सैनिक प्रहरीका रुपमा कार्यरत थिए । शाही सदस्यहरुको सुरक्षामा खटिने अधिकृतहरु मध्येका एक उनी दरबार हत्याकाण्ड लगत्तै परदेश लागे । दरबार हत्याकाण्ड हुँदा उनी तालिममा थिए । दरबार हत्याकाण्डमा १० जना शाही सदस्यको निधन भयो । 

 

उनीहरुको सुरक्षामा खटिएकाहरुले आफ्नो कर्तब्य पूरा गर्न सकेनन् । आफ्नो कर्तव्यबाट च्युत भएकाहरुको सुचीमा पाठकको नाम परेन । पद, प्रतिष्ठा र ऐश्वर्य भन्दा आफ्नो आत्मसम्मान प्रिय ठान्ने पाठकले शान सौकत भएको सेनाको जागिर पनि छाडे ।

 

राजा ज्ञानेन्द्रको राज्यभिषेकमा सरिक हुँदै उनले आफ्नो जागिरे जीवनमा पूर्णबिराम लगाए । अत्यन्त सरल, राजपरिवारप्रति आस्था राख्ने पाठक विश्व हिन्दु महासंघ युरोप च्याप्टरका अध्यक्ष हुन् । साहित्यमा पनि पाठकको योगदान छ । उनी विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान युरोप च्याप्टरका पनि अध्यक्ष हुन् । 

 

फौजीहरुमा बोल्ने कला भन्दा गर्ने कला बढी हुन्छ भन्ने गरिन्छ । पाठकमा पनि यो छनक पाइन्छ । उनीसँग एक बसाईमा एकछिन कुरा गरेर ज्ञान र जानकारीको भण्डार खोतलिँदैन । 



हरेक मान्छेले आफ्नो जीवन फर्केर हेर्दा केही उपलब्धी, केही गल्ती खुट्याउँछ । पाठकलाई धेरै घोच्ने विषय भनेको दरबार हत्याकाण्ड हुँदाको रात हो । उनी भन्छन्, ‘त्यति धेरै सैनिकले सुरक्षा दिएको बेला ९० राउण्ड गोली चलिसक्दा पनि अंगरक्षकहरु भित्र पसेनन् । तत्कालीन सेनापति, सैनिक सचिवले जिम्मेवारी लिनु परेन । अझ सैनिक सचिव विवेक शाहले त लाजै नमानी पुस्तक निकाले ।’

 

दरबारबाहिर सडकमा मोटरका टायर पड्किँदा पनि बुझ्न पठाइन्थ्यो । उनी भन्छन्, ‘सात हात पर्तिर गोली चल्दा अंगरक्षकहरु हात बाँधेर बसे । पहिलो गोली चल्ने बित्तिकै अंगरक्षकहरु भित्र पसेको भए बढीमा एक जनाको ज्यान जान्थ्यो बाँकी, सबै बाँच्थे ।’ पाठक केही वर्षदेखि बेलायतमा छन् । बेलाबेला काठमाडौं आइरहन्छन् ।   

 

आफ्ना केही बाध्यता र विवसताले विदेशीनु परे पनि उनी आफ्नो मातृभूमि बिर्सन नसक्ने बताउँछन् । उनले भने, ‘एउटा नेपालीले विदेशिएर जतिसुकै पैसा कमाओस्, इज्जत कमाओस्, जे सुकै गरोस्  । उसले आफ्नो मातृभूमि कहिल्यै बिर्सन सक्दैन ।’  
 

दरबार हत्याकाण्ड दरबार हत्या काण्ड खगेन्द्र पाठक

विशेष