राजनीति

नारायणकाजीले पार्टी छाड्लान् कि फुटाउलान् ?

नेकपा गठनको सूत्रधार नारायणकाजी श्रेष्ठ किन बने असन्तुष्ट ?

नारायणकाजीले पार्टी छाड्लान् कि फुटाउलान् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रवक्ता पदबाट राजीनामा दिएका नारायणकाजी श्रेष्ठ पार्टी छाड्ने मुडमा पुगेका छन् ।

 

उनीनिकट स्रोतले दिएको जानकारीअनुसार डा. गोविन्द केसीको मागमा समर्थन जनाएका कारण पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली रुष्ट भएपछि साउन ७ गते नै राजीनामा दिएका थिए ।

 

राजीनामापछि श्रेष्ठ पार्टी छाड्ने तयारीमा रहेको विशेष स्रोतले नेपाल आजलाई जानकारी दियो । तर, यस विषयमा उनले निर्णय भने लिइसकेका छैनन् । केसीको माग पुरा भइसकेको अवस्थामा पार्टी अध्यक्षले श्रेष्ठलाई फकाउन सक्ने सम्भावना पनि उत्तिकै छ । 


ओलीसँग विवाद
केसीको अनसनलाई लिएर सरकार कडा रुपमा प्रस्तुत भइरहेका बेला प्रवक्ता श्रेष्ठले महाराजगंज शिक्षण अस्पताल पुगेर केसीलाई भेटे । साथै, सार्वजनिक रुपमै उनले केसीका मागमा समर्थन जनाए ।

 

श्रेष्ठको यस्तो कार्यबाट असन्तुष्ट बनेका नेकपा अध्यक्ष ओलीले केसीको विषयमा छलफल गर्न अर्को दिन (साउन ७ गते) प्रमुख नेताहरुलाई बालुवाटार डाके । छलफलका क्रममा श्रेष्ठले गोविन्द केसीको पक्षमा लबिङ गरेका थिए । 


बालुवाटार स्रोतका अनुसार बैठकमा ओलीले अध्यक्षसँग सल्लाह नै नगरी केसीलाई भेटेको, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, कृष्ण पहाडीलगायतसँग छलफल गरेको भन्दै श्रेष्ठलाई हप्काएका थिए । जसमा प्रचण्डले पनि साथ दिए । 


बैठकमा सहभागी एक नेताले भने, ‘गोविन्द केसीको विषयलाई ओली र श्रेष्ठबीच केहीबेर चर्काचर्की भयो । दुवै अध्यक्ष आफ्नो विपक्षमा देखिएपछि श्रेष्ठ ‘तपाईंहरु प्रवक्ता तपाईंहरु नै राख्नुस्’ भनेर निस्कनुभयो ।’ श्रेष्ठले सोही दिन नै प्रवक्ता पदबाट राजीनामा दिए । 


यसअघि पनि उनले गोविन्द केसीको मागका विषयमा आफूनिकट केही व्यक्ति र शिक्षामन्त्री गिरिराजमणी पोखरेलसँग कुराकानी गरेका थिए । मन्त्री पोखरेल स्रोतका अनुसार श्रेष्ठले उनलाई केसीका माग जायज भएकाले समर्थन गर्न भनेका थिए । 


प्रचण्डसँग नमिलेको ‘क्यामेस्ट्री’


एमालेसँग पार्टी एकता हुनुअघिदेखि नै पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रेष्ठको ‘क्यामेस्ट्री’ नमिल्दो थियो । श्रेष्ठको गतिबिधिलाई लिएर प्रचण्ड रुष्ट थिए । श्रेष्ठले आफूसँग बार्गेनिङ गर्ने गरेको, पार्टीको मुख्य सिद्धान्तभन्दा बाहिर गएर काम गरेको, आफ्नाविरुद्ध गुट चलाएको आरोप प्रचण्डको थियो ।

 

पछिल्लो समय एमालेसँग पार्टी एकता नभएको खण्डमा श्रेष्ठ माओवादीको एक तप्का लिएर एमाले प्रवेश गर्ने सूचना प्रचण्डले पाएका थिए । त्यसैले पनि उनीहरुबीच असमझदारी धेरै थियो । पार्टी लाइनका हिसाबले पनि श्रेष्ठले फरक मत राख्दै आएका थिए । स्रोतका अनुसार उनले पटक–पटक पार्टी फुटाएर प्रचण्डलाई अफट्यारो पार्ने धम्की दिने गरेका थिए । त्यसैले उनीहरुको सम्बन्ध त्यति सुमधुर थिएन । 


त्यसैले पनि गोविन्द केसीको विषयलाई लिएर अध्यक्ष ओलीले श्रेष्ठसँग असन्तुष्टी पोख्दा प्रचण्डले ओलीकै सपोर्ट गरे । प्रचण्डनिकट स्रोतका अनुसार श्रेष्ठले पार्टी छाडेको अवस्थामा प्रचण्डलाई कुनै पीर पर्ने छैन । पछिल्लो समय नेकपामा रहेर श्रेष्ठले आफैविरुद्ध गुटबन्दी त गर्ने होइनन् भन्ने भय प्रचण्डलाई थियो ।


अब के गर्छन् श्रेष्ठ ?
श्रेष्ठको राजीनामा पार्टीमा अझै गुपचुप राखिएको छ । राजीनामापछि उनीसँग पार्टी छाड्ने, नयाँ पार्टी गठन गर्ने वा अन्य कुनै पार्टीमा प्रवेश गर्ने भन्ने तीन विकल्प छन् । तर, श्रेष्ठले पार्टी छाड्न लागेको भन्ने विषयमा भने पार्टीभित्र धेरैको मत विभाजन छ ।

 

कतिपय नेकपा गठनका सूत्रधार भएकाले उनले पार्टी छाड्नै नसक्ने बताउँछन् भने कतिपय उनले पार्टी छाड्ने विषयमा छलफल चलाइसकेको दाबी गर्छन् । 


उनीनिकट एक नेताका अनुसार श्रेष्ठले आफूनिकट रहेका नेता अमिक शेरचन, शिक्षामन्त्री गिरिराजमणी पोखरेल, लिलामणी पोखरेल, डिआर पौडेल, विश्वनाथ शाहसँग अब के गर्ने भन्ने विषयमा छलफल गरेका छन् ।

 

यी नेताले विगतदेखि नै नारायणकाजीलाई साथ दिँदै आइरहेका छन् । त्यस्तै, नेकपा गठन प्रक्रियामा सहभागी नभएका अर्का उनीनिकट तत्कालिन माओवादी नेता आहुतीले ‘वैज्ञानिक समाजवाद कम्युनिष्ट पार्टी, नेपाल’ गठन गरेका छन् । 


यी नेताले साथ देलान् त श्रेष्ठलाई ?
नेकपा गठन प्रक्रियामा असन्तुष्ट जनाउँदै तत्कालिन माओवादी नेता हितमान शाक्यले पार्टीको कुनै जिम्मेवारीमा नबस्ने घोषणा गरे । त्यस्तै, नव गठित पार्टीमा भूमिकाबिहीन भएको, जिम्मेवारी नमिलेको भन्दै नेताहरु अमृत बोहरा, भीम रावल, अमिक शेरचन, अष्टलक्ष्मी शाक्यलगायतका नेता असन्तुष्ट छन् । तर, यी नेता पार्टी फुटाइहाल्ने पक्षमा छैनन् ।  
 

नारायणकाजी श्रेष्ठ नेकपा

विशेष