मुख्य समाचार समाज देश

दिल्लीबाट ६८ नेपाली महिलाको उद्धार

दिल्लीबाट ६८ नेपाली महिलाको उद्धार

नयाँदिल्लीबाट गतसाता उद्धार गरिएका ६८ नेपाली महिलालाई गैरकानुनी रूपमा अरब मुलुक पठाउन खोजिएको पुष्टि भएको छ । उद्धार गरिएका ७१ नेपाली महिलामध्ये ६८ जनालाई दिल्ली हुँदै अरब पठाउन लागिएको पुष्टि भएको हो ।

 

उनीहरूमध्ये १६ जनालाई मंगलबार काठमाडौं ल्याइएको छ, ३६ जनालाई शनिबार साँझ दिल्लीबाट भैरहवातर्फ ल्याइएको छ । बाँकी १६ जनालाई मंगलबार मात्रै दिल्लीबाट नेपाल फर्काउने तयारी छ ।

दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति मालिवालका साथमा नेपाली चेली । उद्धार गरिएका ६८ मध्ये १६ जनालाई काठमाडौं ल्याएर आफन्तको जिम्मा लगाइयो । ३६ जनालाई शनिबार दिल्लीबाट भैरहवातर्फ पठाइएको छ । बाँकी १६ जना मंगलबार दिल्लीबाट आउँदै छन् ।

 

नयाँदिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता हरिप्रसाद ओडारीले दिल्ली महिला आयोग र दिल्ली प्रहरीको समन्वयमा तीन स्थानमा छापा मार्दा ७१ नेपाली महिला भेटिएको बताए । उनका अनुसार १४ साउनमा दक्षिण दिल्लीको मुनिरकामा १६, १५ साउनमा मैदानगढीमा १६ र १६ साउनमा पहाडगन्जमा ३९ युवती भेटिएका थिए । पहाडगन्जमा सुरुमा ५२ जना महिला भेटिएका थिए ।

 

तीमध्ये १३ जना स्वेच्छाले दिल्ली पुगेको र त्यहीँ रहने पुष्टि भएपछि उनीहरूलाई छाडिएको थियो । बाँकी ३९ जनामध्ये तीनजनाले दिल्ली महिला आयोगको सेल्टर होममा बयान बदलेका थिए । उनीहरू स्वेच्छाले दिल्ली पुगेको र त्यहीँ रोजगारीका लागि बस्न चाहेको प्रमाणित भएपछि बाँकी ३६ जनालाई मात्रै शनिबार नेपाल फर्काइएको प्रवक्ता ओडारीले जानकारी दिए ।

 

मंगलबार जहाजबाट काठमाडौं ल्याइएकामाथि केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरिरहेको छ । दूतावासका काउन्सलर पुरुषोत्तम कँडेलले उनीहरूलाई काठमाडौं ल्याएका हुन् । मैदानगढीमा भेटिएका १६ जनालाई माइती नेपाल र रेस्क्यु फाउन्डेसन दिल्लीको जिम्मा लगाइएको छ । उनीहरूलाई पनि केही दिनभित्रै काठमाडौं ल्याइने जानकारी दूतावासले दियो । हाल उनीहरू दिल्ली महिला आयोगको सेल्टर होममा छन् । - नयाँ पत्रिकाबाट ।

नयाँदिल्ली नेपाली महिला नेपाली दूतावास

विशेष