व्यापार मुख्य समाचार

कोरिया जाने नेपालीका लागि हवाई भाडा घट्यो

कोरिया जाने नेपालीका लागि हवाई भाडा घट्यो

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदारले हवाई टिकटबापत तिर्नुपर्ने रकम घटेको छ । 

 

नेपालबाट कोरिया जाने प्रत्येक नेपाली कामदारले हवाई भाडाबापत तिर्ने रकम ५ सय ३० अमेरिकन डलरबाट ४ सय ११ अमेरिकन डलरमा झरेको वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले जनाएको छ । अब नेपाली कामदारले कोरिया जाँदा हवाई टिकटबापत ४ सय ११ अमेरिकी डलर अर्थात् ४५ हजार २ सय ९२ रुपैँया तिर्नुपर्नेछ । 

 

इपिएस प्रणालीबाट दक्षिण कोरिया जाने कामदारले तिर्ने हवाई भाडा सार्वजनिक खरिद ऐनअनुसार पहिलो पटक विद्युतीय बोलपत्रको माध्यमबाट प्रतिस्पर्धा गराइएको शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए । बोलपत्रमा पाँच ट्राभल्स कम्पनीले सहभागिता जनाएका थिए । 

 

सिलिङ्गस ट्राभल्स एण्ड टुर्स प्रालिले नेपाली कामदारलाई सबैभन्दा कम मूल्यमा हवाई टिकट उपलब्ध गराउने बोलकबोलसहित आइतबार टेण्डर पाएको हो । सिलिङ्गस ट्राभल्सले अब कोरिया जाने नेपाली कामदारलाई ४५ हजार २ सय ९२ मा हवाई टिकट उपलब्ध गराउने छ । उक्त ट्राभल्ससँग नेपालबाट सीधै दक्षिण कोरियाको सियोलसम्मको हवाई टिकट उपलब्ध गराउनुपर्ने सम्झौता गरिएको छ । कोरिया जाने नेपाली कामदारलाई काठमाडौं–सियोल सीधा उडान नभए ५ घन्टाभन्दा कम ट्रान्जिट भएको हवाई टिकट उपलब्ध गराउनुपर्ने प्रावधान राखिएको छ । 

 

प्रतिस्पर्धाका माध्ययमबाट हवाई भाडा निर्धारण गर्दा कोरिया जाने नेपाली कामदारले तिर्ने रकममा वार्षिक १० करोडभन्दा बढी बचत हुने निर्देशक खनालले बताए । हाल वार्षिक करिब आठ हजारको संख्यामा नेपाली कामदार रोजगारीका लागि दक्षिण कोरिया जाने गरेका छन् । 

 

सन् २००८ देखि इपिएस प्रणाली लागू भएसँगै दक्षिण कोरिया जाने नेपाली कामदारले हवाई भाडाबापत ५ सय ४१ अमेरिकी डलर र ०७३ पुसदेखि ५२९.७५ अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँ ५८ हजार २ सय ७२ सम्बन्धित ट्राभल्स एजेन्सीलाई बुझाउँदै आएका थिए । 

 

नेपाल सरकार र दक्षिण कोरियाबीच भएको समझदारीअनुसार सन् २००८ देखि रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत रोजगारीका लागि नेपाली कामदार दक्षिण कोरिया जान थालेका हुन् । कोरियामा कृषि क्षेत्रमा काम गर्ने नेपाली कामदारले अन्य देशको कामदारले भन्दा उत्कृष्ट काम गर्दै आइरहेका छन् । त्यस्तै औद्यौगिक क्षेत्रमा काम गर्ने नेपाली कामदारले पनि अन्य मुलुकका कामदारको तुलनामा इमान्दार काम गर्दै आएका छन् । हाल नेपाललगायत १६ मुलुकबाट वार्षिक करिब ५० हजार कामदार इपिएस प्रणालीमार्फत दक्षिण कोरिया जाने गरेका छन् । 

 

इपिएसमार्फत कोरिया जाने नेपालीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । खाडी मुलुकमा जस्तो कामदारले अनावश्यक झन्झट व्यहोर्नु नपर्ने र आकर्षक तलब सुविधाका कारण पनि कोरिया नेपाली कामदारको रोजाइमा पर्दै आएको छ । अहिले नेपाली कामदारले मासिक  एक लाख ५० हजारदेखि दुई लाखसम्म पारिश्रमिक पाउँदै आएका छन् । 

 

त्यस्तै सुरक्षित गन्तव्य, कामको सुनिश्चितता कामदार र रोजगादरदाताको कार्यसम्झौता, वैधानिकता र अधिकार स्थापित हुने, काम गर्ने अवधिको निश्चिता (चार वर्ष १० महिना), पुनः कोरिया जान सकिने, तेस्रो पक्ष र दलालको गुन्जायस नहुनेलगायत कारणबाट कोरिया जान इच्छुक नेपालीको संख्या बढ्दै गएको इपिएस कोरिया शाखाका निर्देशक खनालले बताए । 

 

सन् २००८ देखि गत जेठ मसान्तसम्म इपिएसमार्फत ५४ हजार ३ सय ६३ नेपाली कामदार दक्षिण कोरिया गएका छन् । जसमा महिला तीन हजार ३ सय ३८ र पुरुष ५१ हजार ०२५ रहेका छन् । 

 

सन् २०१८ को भाषा परीक्षाबाट सात हजार ९ सय ९८ कामदार कोरिया जाँदै छन् । यसबाहेक कोरियाबाट फर्केका नेपाली कामदार कम्प्युटरमा आधारित परीक्षाबाट समेत कोरिया जान सक्ने इपिएस कोरिया शाखाले जनाएको छ ।   
 

रोजगार अनुमति प्रणाली (इपिएस)

विशेष