Breaking News भिडियो राजनीति

चिनियाँ प्राध्यापक डा. योङहाङ भन्छन्, ‘प्रधानमन्त्री ओली दूरदर्शी नेता हुन्’ (भिडियोसहित)

चिनियाँ प्राध्यापक डा. योङहाङ भन्छन्, ‘प्रधानमन्त्री ओली दूरदर्शी नेता हुन्’ (भिडियोसहित)

काठमाडौं । चीनको सिचुवान विश्वविद्यालयका प्राध्यापक डा. डाई योङहाङले चीन र भारतबीच रहेको नेपाल ‘दुई ढुंगाबीचको तरुल’ नभएर ‘हीरा’ हो भन्ने परिभाषित गरेका छन् । 


प्राध्यापक डा. योङहाङले द्रुत गतिमा आर्थिक उन्नति गरिरहेको चीन र भारतबाट राम्रो रणनीति अपनाएर नेपालले पनि आफ्नो आर्थिक विकासका लागि पहल गर्नुपर्ने आवश्यकता औंल्याए । 


त्रिभुवन विश्वविद्यालयको निमन्त्रणा काठमाडौं आएका प्राध्यापक डा. योङहाङले नेपाल आजसँग विशेष कुराकानी गर्दै भने, ‘चिनियाँ राष्ट्रपति सि जिनपिङले आर्थिक समृद्धिका लागि थालिएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) का मुख्य पाँच सिद्धान्तबाट अधिकभन्दा अधिक फाइदा लिएर नेपालले पनि आफ्नो समृद्धिका लागि प्रयास गर्नुपर्छ भन्नेबारेमा म जोड दिन चाहन्छु ।’  


उनले बिआरआईको माध्यमबाट नेपालले चीनको सडक सञ्जालमार्फत आफ्नो आर्थिक विकास गर्न प्रशस्त लाभ उठाउन सक्ने बताए । उनको भनाइमा बिआरआईको माध्यमबाट चीनको सडक सञ्जालमा नेपाल जोडिएपछि उत्तरी नाकाबाट नेपाललाई तेस्रो मुलुकसँग आर्थिक सम्बन्ध विकास गर्न सहज हुनेछ । 


प्राध्यापक योङहाङले नेपाल र चीन सडक एवं रेल सञ्जालमा जोड्न आर्थिक रूपले मात्र होइन, प्राविधिक रूपमा पनि सम्भव भएकाले चाहे चीन होस् वा नेपाल अथवा अन्तर्राष्ट्रिय वित्तीय संस्थाको आर्थिक सहयोग वा स्रोत परिचालन गरेर भौतिक पूर्वाधारको विकास गर्नुपर्नेमा विशेष जोड दिए । 




प्राध्यापक योङहाङले नेपाललाई रेल सञ्जालमा जोड्ने अवश्य पनि चीनले सहयोग गर्ने पनि उल्लेख गरे । बिआरआईका माध्यमबाट नेपाल मात्र नभई लाओस, थाइल्यान्ड र म्यानमारले फाइदा लिन सक्छ उनको भनाइ छ । 
उनले एक प्रसंगमा भने, ‘नेपालको अर्को छिमेकी देश भारतसँग खुला सीमाना भएकाले कहिलकहीँ नेपालको आन्तरिक मामिलामा भारतको कुरा उठ्ने गरेको पाइन्छ । तर चीनसँग सीमा बन्द छ । तर नेपाललाई चीनले सदैव एक सार्वभौम सम्पन्न मुलुकको हिसाबले व्यवहार गर्दै आएको र चीनले नेपालको सार्वभौमसत्तालाई जहिले पनि सम्मान गरेको छ ।’


केही भारतीय राजनीतिज्ञहरूले नेपालले चीनसँगको सम्बन्धलाई निरन्तरता दिन नहुने भन्ने विचार व्यक्त गरेका छन् यससम्बन्धमा तपाईंको भनाइ के छ ? भन्ने एक प्रश्नको उत्तरमा प्राध्यापक डाईले भने, ‘मेरो विचारमा यस्तो हुन सक्छ र ? चीनसँगको सम्बन्धलाई नेपालले निरन्तरता नदिइयोस् ? अथवा पश्चिमी राष्ट्रसँग पनि । भारत आफैँ पश्चिमी राष्ट्रसँग सम्बन्ध विकास गर्न गइरहेको छ । यो परिकल्पनासम्म पनि गर्न सकिन्न । के नेपालले भारतसँगमात्र सम्बन्ध विकास गर्नुपर्छ ? म तपाईंलाई प्रश्न सोध्न चाहन्छु, के नेपालले यस प्रस्तावलाई स्वीकार्छ ? के यो सम्भव छ ? के नेपाली जनता चाहन्छ त्यस्तो प्रस्ताव ? के तपाईंलाई लाग्छ तमाम भारतीय जनताले यस प्रस्तावलाई स्वीकार्छ ? नेपालले भारतसँग मात्र सम्बन्ध राख्नुपर्छ भन्ने मान्यताको पक्षमा म छैन । चीनले नेपालको आन्तरिक मामिलामा कहिले पनि हस्तक्षेप गर्ने छैन र चीनले नेपाललाई जहिले पनि एक सार्वभौम सम्पन्न र स्वतन्त्र राष्ट्रको रूपमा सम्मान प्रकट गरेको छ । यस्तो विचार वा सल्लाह दिने राजनीतिज्ञ हुन सक्दैन । चिनियाँ जनताले कहिल्यै पनि भन्दैन कि नेपालले भारतसँगको सम्बन्धलाई निरन्तरता दिनु हुँदैन भनेर । हामी भन्छौँ नेपालले चीन र भारतका बीचमा राम्रो सम्बन्ध राख्नुपर्छ, किनभने नेपाल, चीन र भारतको बीचमा छ ।’


भूकम्पपछि मधेस आन्दोलन ताका भारतले लगाएको नाकाबन्दीको समयमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग मात्र होइन, चीनसँग पनि व्यवहारिक सम्बन्ध विकास गर्नुपर्छ भनेर गरेको प्रयासप्रति तपाईं के भन्नुहुन्छ भन्ने प्रश्नको जवाफमा प्राध्यापक योङहाङले भने, ‘मेरो विचारमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली एक दूरदर्शी, बलिया नेता एवं संगठन चलाउन सक्ने कुशल व्यक्ति हुन् । मैले उहाँलाई बेइजिङमा भेटेको थिएँ । उहाँ सरल विचारका राजनीतिज्ञ हुनुहुन्छ । नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रको आर्थिक विकासका लागि उहाँले बढीभन्दा बढी अन्तर्राष्ट्रिय बजारका लागि पहुँचको खोजी गर्नु स्वाभाविक हो ।’


उनले टिप्पणी छ, ओली सरकारले नेपालको आर्थिक विकास गर्न धेरै परिश्रम गरिरहेको छ भन्ने म बुझ्दछु । आर्थिक विकास भनेको केही रातमै हुने होइन । चीले पनि त्यसै आर्थिक विकास गरेको होइन । समय लाग्छ । मुख्य कुरा प्रधानमन्त्री ओलीले उठाएका एजेन्डालाई नेपाली जनताले स्वीकारेका छन् । मलाई लाग्छ राजनीतिक वातावरण ठीक छ, धैर्यको खाँचो छ ।’


तपाईंको विचारमा चिनियाँ रेल कहिलेसम्म नेपालमा आइपुग्ला भन्ने प्रश्नको जवाफ प्राध्यापक डाईले भने, ‘मेरोे आशामा लाग्छ चिनियाँ रेल काठमाडौंमा चाँडै र राम्रैसँग आउँछ । चीनको सिगात्सेबाट काठमाडौंसम्म रेल ल्याउन सजिलो काम त होइन । तर अत्याधुनिक प्रविधिको माध्यमबाट नेपालमा चिनियाँ रेल ल्याउन सम्भव छ भन्ने सबैलाई लागेको छ । जहाँसम्म पुँजीको कुरा छ, त्यो नेपाल र चीन सरकारको संयुक्त प्रयासबाट पनि हुनसक्छ । चिनियाँ रेल नेपालमा आउने त्यो दिन चाँडै आउने छ ।’


उनले नेपाल–चीन सम्बन्धमा पूर्वप्रधानमन्त्री प्रचण्डको ठूलो योगदान रहेको चर्चा गर्दै एमाले र माओवादी दुई पार्टी एकीकरण नेपालको आर्थिक विकाससँग जोडिएको विचार व्यक्त गरे ।               
 

प्राध्यापक डा. डाई योङहाङ नेपाल, चीन, भारत

विशेष