दिल्लीबाट ३९ जना चेलीको उद्धार गरेका राय भन्छन्, ‘नेपाली चेलीको तस्करीमा पोलिटिक्स र पावर संलग्न’ (भिडियोसहित)
काठमाडौं । ‘२७ जुलाई’ सामाजिक अभियन्ता तथा भोलिन्टियर कभर्स् नेपालका अध्यक्ष सरोज रायलाई चुनौतीपूर्ण दिन बन्यो । नेपाली चेलीबेटी बेचबिखन यो पहिलो पटक पक्कै थिएन । इजरायलमा कार्यरत सरिन तामाङले रायलाई सामाजिक सञ्जालमार्फत नयाँदिल्लीका होटलहरूमा नेपाली चेलीहरूलाई अन्य देशमा बेचिन लागेको खबर दिएको दिन थियो त्यो । खबर पाउना साथ राय दिल्ली हानिए ।
दिल्लीकी अधिकारकर्मी स्वाती मालीवाल (नयाँदिल्ली महिला आयोग अध्यक्ष) सँगको सहकार्यमा कसरी नेपाली चेलीहरूको उद्धार गरे भन्नेबारे रायले नेपाल आजकी अर्कना खातुनसँग कुराकानी गरेका छन् ।
यसरी पुगे दिल्ली
खबर पाउनासाथ राय २९ जुलाईमा दिल्ली पुगे । त्यसको भोलिपल्ट दिल्ली प्रदेशका मुख्यमन्त्री केजरीवालको अफिसमा पुगेका रायले अघिल्लो दिन नेपालबाटै उनीसँग भेट्न समय मिलाएका थिए । त्यहाँ पुगेपछि थाह भयो कि भेटघाटको समय त केजरीवालको निवासका लागि पो तय गरिएको रहेछ । उनको निवासमा बिहान ९ देखि ११ बजेसम्म ‘जनताको दरबार’ लाग्दो रहेछ । अर्थात् स्वतन्त्र भेटघाट ।
त्यसपछि, यो विषयलाई लिएर उनी अलि अलमलिए । सबैको अगाडि कुरा राख्न ठीक लागेन । तर, उनीसँग दुईटा विकल्प थियो । कि त महिला आयोगको सहयोग लिनु, कि त प्रहरीको । उनले दिल्लीको महिला अधिकारकर्मी स्वाती मालीवालको नाम सुनेका थिए ।
स्वातीसँग उनको लिखित र मौखिक दुवै रूपमा सहकार्य भएको थियो । उनी सीधै स्वातीको कार्यालयमा गए । उनीसँग कसरी ती महिलाहरूलाई उद्धार गर्नेबारे छलफल गरेपछि उनको काममा सहयोगी भाव जनाउँदै उद्धार गर्नका लागि स्वातीले रायलाई एउटा टिम दिइन् । उनले जानकारी पाएअनुसार पहाडगन्जस्थित तीनवटा होटलमा १ सय ३७ जना नेपाली महिलालाई अन्य मुलुकमा बेच्न भनी राखिएको रहेछ ।
राय भन्छन्, ‘मैले यो विषय कसैसँग सेयर गरिनँ ।’ सरकार र प्रशासनले कसरी काम गर्छ भन्नेबारे राम्रोे हेक्का भएकै कारण उनले त्यो कुरालाई मिडियाबाजी पनि गर्न उचित ठानेनन् । किनभने यो कुरामा मिडियाबाजी गरेको भए ती पीडित महिलाहरू त्यहाँबाट अन्य मुलुकमा बेचिनसक्ने खतरा थियो । त्यसकारण उनले आफू सीधै दिल्लीमै गएर उद्धार गर्ने योजना बनाए ।
३९ महिलाको उद्धार
१ सय ३७ जनामध्ये जम्मा ३९ जनाको उद्धार गर्न सफल हुनुभयो, बाँकीको कसरी छुटे भन्ने प्रश्नमा उनले भने, ‘स्वातीको सहकर्मी किरण नेगीसँगको योजनाअनुसार म पहाडगन्ज क्षेत्रमा पुगे । त्यहाँ हामीलाई पूर्वजानकारी अनुसार नेपाली चेलीहरूलाई दुईटा होटलमा राखिएको छ भनिएको थियो । मैले स्वातीजीलाई रेस्क्यु गर्न रातीको करिब ३ बजेर ४५ मिनेटमा इमेल पठाएँ ।’
साउन १६ गते स्वाती र प्रहरीको सहयोगमा होटल इनबाट ३६ जना र केल्सनबाट ३ जना महिलाको उद्धार गरियो । रायका अनुसार, दिल्लीबाट हरेक दिन ४५ जना महिला पठाइन्छ । बाँकी महिलाहरूलाई अन्य मुलुकमा पठाइएको होला कि त कुनै अर्को होटलमा
राखिएको हुनसक्छ । त्यसबारे जानकारी प्राप्त नभएकाले ती महिलाहरू उद्धार गर्न नसकिएको रायले बताए ।
यसरी हुन्छ तस्करी
रायले बताएअनुसार, ती महिलाहरूलाई सतह मार्गबाट दिल्ली पु¥याइन्छ र दिल्लीमा दुईटा भिसा बनाइन्छ । एउटा दुबईको भिजिट भिसा र टिकट बनाउँछन् भने अर्को अरू कुनै मुलुक जाने भिसा र टिकट बनाउँछन् । त्यसरी उनीहरू दुबई पुग्छन् ।
त्यहाँबाट अर्को मुलुकको लागि प्लेन चढेपछि दुबईको भिसा जुन पेपरमा लागेको हुन्छ त्यो कागज स्यानेटरी प्याडभित्र लुकाउँछन् । जस्ले गर्दा नष्ट गर्न सजिलो हुन्छ । प्याडसँगै पछि ट्वाइलेटमा फ्लस गर्दिन्छन् । त्यसरी जाँदा उता उनीहरूलाई मारिदिए पनि पत्तो हुँदैन ।
रायले बताएअनुसार, नेपालमा मानव तस्करको सञ्जाल धेरै ठूलो छ । तस्करहरूले चेलीबेटीलाई नेपालबाट सतह मार्गबाटै लगेका हुन्छन् । र, अन्य मुलुकहरूमा तस्करीको संयुक्त सञ्जाल अत्यन्तै ठूलो रहेको हुन्छ । प्रहरीदेखि प्रशासन र दलालदेखि उच्च पदका राजनेताहरूको पनि यसमा मिलेमतो रहेको उनी बताउँछन् । दिल्लीका होटलहरूमा ठूलौ संख्यामा नेपाली चेलीहरूलाई राखिँदा
पनि दिल्ली प्रहरीले कुनै कारबाही नगर्ने गरेको उनको भनाइ छ ।
राय भन्छन्, ‘नेपाली दिदीबहिनीहरू पैसा कमाउन बाध्यताले त्यसरी कसैमाथि भरोसा गरेर विदेश जान्छन् । विदेश गएपछि जब दुःख पाउछन् अनि मात्र आफू त्यहाँ बेचिएको वा फसेको भन्ने थाहा पाउँछन् । नेपाली महिलाहरू आफू पनि यो विषयलाई लिएर सचेत हुनुपर्ने हुन्छ । यति ठूलो संख्यामा नेपाली चेलीहरू दिल्लीबाट पक्राउ पर्दा पनि नेपाल सरकारले यसलाई गम्भीर रूपमा लिएको छैन र ठोस कदम चालेको देखिँदैन् ।’