मुख्य समाचार राजनीति

किन बन्द गरिँदैछ पेरिस डाँडाको अफिस

किन बन्द गरिँदैछ पेरिस डाँडाको अफिस

काठमाडौं । अन्ततः राजधानीको कोटेश्वरस्थित पेरिस डाँडामा रहेको नेकपा माओवादीको केन्द्रीय कार्यालय सदाका लागि बन्द गरिने भएको छ । 


सो स्थान रहेको माओवादीको कार्यालय बन्द गर्ने नेपाल कम्युनिस्ट पार्टीको सचिवालयको प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार बसेको उच्चस्तरका नेताहरूको बैठकले निर्णय गरेपछि पूर्वमाओवादी कार्यकर्ताहरूमा खिन्नता छाएको छ । 


यसअघि तत्कालीन एमाले र माओवादीबीच एकता हुँदा नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा राख्ने सहमति भएको थियो । दुई पार्टी एकता हुने प्रक्रिया चलिरहँदा पेरिस डाँडाको कार्यालय बन्द गर्ने समझदारीप्रति माओवादी कार्यकर्ताले अप्रसन्नता प्रकट गरेपछि पन्ध्र दिनको अन्तरालमा अध्यक्षद्वय पालैपालो गरी दुइटै कार्यालयमा जाने सहमति भएको थियो । त्यसैअनरूप तालिका पनि सार्वजनिक गरिएको थियो । 


बालुवाटारको बैठकमा खर्च र कार्यसम्पादनको हिसाबले पनि पेरिस डाँडाको कार्यालय निष्प्रयोजन देखिएकाले बन्द गर्ने निर्णयमा उच्चस्तरका नेताहरू पुगेको देखिन्छ । यता भने पूर्वमाओवादी नेता एवं कार्याकर्ताहरू भने पेरिस डाँडाको कार्यालय सञ्चालन गरिरहँदा खासै फरक नपर्ने र उक्त कार्यालयमा आफूहरूको ‘भावनात्मक सम्बन्ध’ भएकाले एकाएक बन्द निर्णय गर्नाले ठेस पुगेको महसुस गर्छन् । 


पूर्वमाओवादीका एक नेताले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘बाहिर जसरी कमरेड प्रचण्डलाई एमालेसँग लम्पसार परेको भनी दोष लगाइएको त्यसलाई बल पु-याउने हिसाबले पेरिस डाँडाको कार्यालय बन्द गर्ने निर्णय भएको छ । कार्यकर्ताको भावना यही हो, बाँकी कुरा नेताहरू नै जानून् ।’


ती नेताका अनुसार एमालेसँग भित्री मनबाटै मिल्न नसकेका तर योगदान पु¥याएका नेता तथा कार्याकर्ताले पेरिस डाँडालाई आफ्नो दुःख बिसाउने र मनको बह पोख्ने चौतारीका रूपमा प्रयोग गर्थे । अब त्यो पनि समाप्त हुने भयो ।           


पछिल्लो समय पार्टी एक भए पछि एउटै पार्टीको दुई ठाउँमा कार्यालय सञ्चालन भइरहेमा दुई पार्टी एक भएको बेला सिद्धान्त र व्यवहारमा नमिल्ने एवं सन्देश पनि राम्रो नजाने हुनाले दुईमध्ये एक कार्यालय खारेज गर्नुपर्ने अध्यक्षद्वयलगायत अन्य नेताहरूले स्पष्ट महसुस गरेका थिए । विशेष गरेर पेरिस डाँडाको कार्यालय बन्द गर्ने मामिलामा प्रचण्ड बढी अग्रसर रहेको देखिन्थे । 


प्रचण्डको बुझाइमा पेरिस डाँडाको तुलनामा धुमबाराहीको कार्यालय सडक सञ्जाल, आन्तरिक साजसज्जा, प्रविधिमैत्री र सुविधाजनक रहेको छ ।      


‘पार्टीको केन्द्रीय कार्यालय धुमबाराहीमा रहने निर्णय गरिएको छ’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने । केन्द्रीय नेताहरूले पार्टी कार्यालयका रूपमा पेरिस डाँडाको कार्यालय बन्द गर्ने भएतापनि आफ्ना कार्यकर्ताको भावनालाई कदर गर्दै उक्त स्थानमा  पार्टीको भ्रातृ संगठनका अफिसहरू राखिने छ ।  


स्मरणीय छ, गत जेठ ३ गते दुई पार्टीबीच एकता हुँदा अध्यक्षद्वय धुमबाराही र पेरिस डाँडा पुगेर अध्यक्षको कार्यभार सम्हालेका थिए ।


 

नेपाल कम्युनिस्ट पार्टी

विशेष