मुख्य समाचार समाज

न्यायका लागि निर्मलाका बुवाआमा काठमाडौंमा

न्यायका लागि निर्मलाका बुवाआमा काठमाडौंमा

 काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका बुवाआमा लामो समयसम्म न्याय नपाएको भन्दै न्यायको माग गर्न काठमाडौं आइपुगेका छन्। प्रधानमन्त्री, गृहमन्त्रीसहित विभिन्न दलका नेतालाई भेटेर न्यायको माग गर्ने उनीहरूले बताएका छन्।

 

तीन दिनसम्मको बाटोको जाम खेपेर बुधवार बिहानमात्रै राजधानी आएका निर्मलाका बुवाआमासँगै महेन्द्रनगरका नौजना महिला अधिकारकर्मी पनि आएका छन्। राजधानी आउनुको कारणबारे निर्मालाकी आमा दुर्गादेवी पन्तले भनिन्, ‘झन्डै दुई महिना पुग्न लाग्दासम्म न्याय पाउँछौँ कि भन्ने आशामा महेन्द्रनगरमै बस्यौँ। तर न्याय नपाउने अवस्था आएपछि सरकारका ठूला मान्छेलाई भेट्न काठमाडौं आयौँ ।’

 

छोरीको हत्यासम्बन्धी अनुसन्धानमा प्रहरीले सुरुदेखि नै लापरबाही गरेको दुर्गादेवीको आरोप छ । छोरी हराएको सूचना दिएलगत्तै खोजीमा चासो नदिएको, प्रमाणहरूलाई नष्ट गरेको र अनुसन्धानको दायरामा ल्याउनुपर्ने व्यक्तिलाई नल्याएको उनको भनाइ छ ।

 

बलात्कार घटनाबारे संसद्मा चर्को बहस भएको सन्दर्भमा दुर्गादेवीले भनिन्, ‘सबै तीजमा रमाउँदैछन्, हामी न्यायका लागि हारगुहार गर्दैछौँ। अब न्याय नपाएसम्म महेन्द्रनगर फर्किंदैनौँ ।’ अनुसन्धानका क्रममा पक्राउ गरिएका दुई महिलासहित तीनजना नै रिहा भइसकेका छन्।

 

निर्मलाकी बुवाले भने, ‘प्रधानमन्त्रीलाई भेटेर भन्छु कि हामीलाई नेपाली होइनौँ भनिदिनुर्पयो, होइन भने न्याय दिनुर्पयो ।’ प्रधानमन्त्रीले केही दिनअघि एउटा टेलिभिजन अन्तर्वार्तामा दिएको अभिव्यक्तिले मन दुःखेको पनि उनले बताए। ‘भेट्नुपर्ने कसैलाई पनि नछोडी भेट्छौँ, तर न्याय नपाई फर्किँदैनौँ।’ –बिबिसी


 

निर्मला पन्त

विशेष