कभर स्टोरी देश

ब्याचलरमा विएससी सिएसआइटी पढ्ने सोच छ ? अवैध कलेजबारे चनाखो हुनुहोस् !

ब्याचलरमा विएससी सिएसआइटी पढ्ने सोच छ ? अवैध कलेजबारे चनाखो हुनुहोस् !

काठमाडौं । औसत नेपाली विद्यार्थीहरूको प्लस टुको पढाइ एसइईको नतिजामा भर पर्ने गर्छ । कोही राम्रो अंक आएकै भरमा विज्ञान पढ्छन् त कोही परिवारको करकापमा । कोहीले आफ्नो भविष्य कसरी बनाउनेबारे समयमै निर्णय गरेर विषय छनोट गरेका हुन्छन् । विशेषगरी प्लस २ मा विज्ञान लिएर पढ्नेहरू ब्याचलर लेभलमा गएर दोधारमा पर्छन् । अझै परिवारको करकापकै भरमा विज्ञान पढ्नेहरू त अन्योलमा पर्ने नै भए । मेडिकल र फिजिक्सको क्षेत्रमा मात्र नभएर अहिले विज्ञानका विद्यार्थीहरू विएससी सिएसआइटीतिर पनि लोभिएका छन् । पढ्नुअघि यसबारे विस्तृत ज्ञान लिनु अझ उचित हुन्छ ।

 

यस्ता छन् यसका विशेषता :


ब्याचलर लेभल विएससी सिएसआइटी भनिने यो ४ वर्षको कोर्समा आठ सेमेस्टर हुन्छ । प्लस टुमा विज्ञान विषय लिएर पास गरेका विद्यार्थीले यो कोर्स पढ्न पाउँछन् ।

 

त्यसमा पनि सबै विषयमा न्यूनतम ‘सि ग्रेड’ मा पास भएको हुनुपर्छ । अरू विषयमा ए प्लस नै भएर कुनै एकमा ‘सि’ भन्दा तल छ भने पनि यो कोर्स पढ्न पाइँदैन् । 

 

पढनुपर्ने विषयहरू :

 

कम्प्युटर विज्ञानका भित्री विषयहरू जस्तै अपरेटिङ सिस्टम, कम्पाइलर, डिजाइन एन्ड एनालाइसिस, थ्योरी अफ कम्पिटेसन, आइटी आदि गरेर ४५–५० वटा विषयहरू यो कोर्समा समावेश हुन्छन् ।  


यसमा गणित, स्टाट्टिक्टिस र एउटा फिजिक्स पनि पढ्नुपर्छ । त्यसैगरी म्यानेजमेन्ट र रिपोर्ट राइटिङको एक विषय पनि पढ्नुपर्छ । सातौं सेमेस्टरमा प्रोजेक्ट वर्क र आठौं सेमेस्टरमा इन्टर्नसिप गर्नुपर्छ ।   

 

यो विषय प्रयोग हुने स्थानहरू :

 

यो पढेपछि यसका जनशक्तिहरू सफ्टवेयर कम्पनीहरूमा, आइटी कम्पनी, बैंक, आइएसपीहरूमा, टेलिभिजनहरूमा, टेलिकमहरूमा, निजामती सेवामा, कलेजमा परिचालन हुन सक्छन् । यसका साथै स्वदेशमा बसेर विदेशी काम गर्न पनि सकिन्छ । विशेषगरी यो प्राविधिक विषय भएकाले जागिरको टाउको नदुखाए हुन्छ । राम्रो विद्यार्थीलाई यसको प्रयोग हुने प्राविधिक संस्थामा तानातान हुन्छ । 


कति छन कलेज ? यो विषयको स्नातकोत्तर त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कीर्तिपुरमा मात्रै पढाइ हुन्छ । अन्य विश्वविद्यालयको पनि होला । तर देशभर त्रिविका मात्रै पनि विएससी सिएसआइटी ५० भन्दा बढी कलेज खुलिसकेका छन् । 

 

यो कोर्स पढाइने कलेज काठमाडौं उपत्यकामा करिब ३० वटा छन् । लगभग दुई हजार विद्यार्थी छन् यस कोर्सका । पढाउने शिक्षक पनि करिब १ सय ५० जति छन् । दुःखको कुरा, यसको शिक्षक पाउन गाह्रो छ । अर्थात् यो क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ । पढेर जागिर खाने यो पनि राम्रो हो । पाइलटभन्दा कम शिक्षक यो विषयका छन् । सबैजसो कलेजले पार्ट टाइम शिक्षक राखेर काम चलाएका छन् । किनभने फुल टाइम राख्नका लागि शिक्षक पाउन गाह्रो छ । 

 

खर्च :

 

आंगिक कलेजहरूमा यो विषय पढ्न केही सस्तो छ । ४ वर्षको २ लाख २० हजारदेखि ४ लाखसम्म खर्च हुन्छ । यो सरदर हो । निजीमा सरदर ८ लाख पर्छ । १५ लाखसम्म असुल्ने नाफाखोरहरू पनि छन् । 


त्रिवि नियमनअनुसार प्रतिवर्ष एक शिक्षकको दरले चार वर्षमा चार शिक्षक र संयोजकसहित पाँच जना पूर्णकालीन हुनुपर्छ । कतिपय कलेजमा संयोजक समेत छैनन् । सबैजसो शिक्षकहरू पार्ट टाइमका छन् । 

 

चलेका कलेजहरूको पनि हालत खराब छ । कति कलेजहरूको पैसा मात्रै तान्ने नियत देखिन्छ । धेरैजसो कलेजहरूले विश्वविद्यालयले तोकेको मापदण्ड पूरा गरेका छैनन् । तर ती कलेजहरू सबै नियम पूरा गरे झैँ गरी विद्यार्थीबाट पैसा असुल गर्छन् । 


केही कलेजहरूले वर्षमा एक एक लाख फि बढाउँछन् । कलेजले त्रिवि सेवा शुल्क पनि दिनुपर्नेे । त्यो शुल्क भने बढाएर त्रिविलाई तिर्दैैनन् । आठ वर्ष अगाडि जति तिरिरहेको छ, त्यही तिर्दै आएका छन् । विद्यार्थीलाई १ लाख बढाउँदा न शिक्षकको तलब बढ्छ न विश्वविद्यालयलाई बुझाउनुपर्ने सेवा शुल्क बढाउँछन् । यस्ता शिक्षाका लुटेराहरूको जगजगी भएका कारण विद्यार्थीहरू सजिलै लुटिन्छन् । ४८ विद्यार्थीका हकमा २४ –२४ को सेक्सन हुनुपर्छ । एक सेक्सनमा २४ जनाभन्दा बढी हुन हुँदैन । ‘सेक्सन ब्रेक’ नगरी पनि पढाउनेहरू धेरै छन् । 

 

नवीकरण नगरी कलेज :

 

यो क्षेत्रमा कलेज नै नवीकरण नगरी चलाउनेहरू पनि धेरै छन् । नवीकरण नगरी भर्ना नै लिन मिल्दैन । तर पनि उनीहरूले यो गरिरहेका छन् । यसरी चलाउने अवैध कलेजहरू काठमाडौंमा मात्रै पनि करिब २० वटा जति छन् । तर ती कलेजहरूबारे आम विद्यार्थी जानकार छैनन् । त्यस्ता कलेजमा पढ्नु भनेको कुनै पनि बेला समय र पैसा डुबाउनु हो । ती कलेजहरूलाई कुनै पनि बेलामा विश्वविद्यालयले खारेज गरिदिन सक्छ । 


मापदण्डविपरीतका कक्षा कोठा :

 

कतिपय कलेजहरूमा मापदण्डविपरीतका कक्षा कोठाहरू पनि छन् । विद्यार्थीबाट मोटो भर्ना शुल्क असुल्ने तर न्यून गुणस्तरको सुविधा दिनेहरू धेरै छन् । कलेजहरू जति धेरै हाइफाइ हुन्छन् त्यति नै आन्तरिक रूपमा भ्रष्ट पनि देखिएका छन् । कार्यक्रमका लागि घुस खुवाउने कलेजहरू नै बढी चल्तीमा छन् । 

 

कार्यक्रम संयोजक बन्नका लागि एमएससी सिएसआइटी गरेको हुनुपर्छ । तर विएससी सिएसआइटी पनि गर्न नसकेकाहरूलाई पनि संयोजक बनाएर केही कलेजहरूले राखेको पाइको छ ।

 

अरू फयाक्ल्टी पढेकाहरूलाई ल्याएर संयोजक बनाएको पनि पाइन्छ । आट्र्समा स्नातकोत्तर गरेकोलाई साइन्सको संयोजक बनाउने भद्रगोले कलेजहरू धेरै छन् । विद्यार्थीहरूले यस्ता कलेजलाई चिन्न सक्नुपर्छ ।


(सिएसआइटिको विद्यार्थीको लागि विशेष सन्दर्भ सामाग्रीहरु लिएर हामी चाँडै आउँदै छौं ।)

नेपाली विद्यार्थी त्रिवि प्लस टु सिएसआइटी अवैध कलेज

विशेष