मुख्य समाचार समाज

यसरी सम्झिए गणेशमानको योगदान

यसरी सम्झिए गणेशमानको योगदान

काठमाडौं । ०४६ को जनआन्दोलनका सर्वोच्च कमान्डर एवं लौहपुरुष गणेशमान सिंहको शालिकमा माल्यार्पण गरी उनको योगदानको स्मरण गरिएको छ । 


सिंहको २१औँ स्मृति दिवसका अवसरमा राजधानीमा मंगलबार बिहान गणेशमान सिंह फाउन्डेसनले शोभा भगवतीमा आयोजना गरेको कार्यक्रममा सिंहको शालिकमा श्रद्धासुमन अर्पण गरिएको हो । 


नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा सिंहको महत्वपूर्ण भूमिका रहेको चर्चा गरे । ‘सिंह संघर्षशील, त्यागी र प्रजातान्त्रिक आन्दोलनलाई सहज ढंगले नेतृत्व गर्ने नेता हुनुहुन्थ्यो’, उनले भने । 


नेता सिंहले मुलुकमा अलग अलग धारमा विभाजित कम्युनिस्टलाई एक ठाउँमा ल्याउन स्व. सिंहले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । ‘एकदलीय शासन व्यवस्थामा विश्वास गर्ने कम्युनिस्टलाई बहुदलीय प्रजातन्त्रमा ल्याउन त्यतिबेला स्व. सिंहको महत्वपूर्ण योगदान छ’, उनले भने । 


सिंहले वर्तमान सरकारले जनताको समस्यालाई चित्तबुझ्दो तरिकाले समाधान गर्न नसकेको आरोप लगाउँदै भने, ‘सरकारले राखेको लक्ष्य सुशासन र समृद्धिको नारालाई पूरा गर्न सकेको छैन ।’ उनले कांग्रेस जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको दाबी गरे । 

 

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशी, सुरेन्द्र पाण्डे, बद्री पाण्डे, काठमाडौं पार्टी सभापति सबुज बानियाँ, भ्रातृ संस्थाका अध्यक्ष एवं पदाधिकारीको उपस्थिति रहेको थियो । विसं १९७२ कात्तिक २४ गते जन्मिएका सिंहको २०५४ असोज २ गते निधन भएको थियो । 

गणेशमान सिंह

विशेष