मुख्य समाचार राजनीति

राउटेले मनाए चौथो संविधान दिवस

राउटेले मनाए चौथो संविधान दिवस

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पहिलो पटक राउटेले चौथो संविधान दिवस मनाएका छन् । 

 

उनीहरुले खुलेरै आज संविधान दिवसको गुणगान गरे । विगतमा आफ्नै रीतिथितिमा तल्लीन हुने र आफूलाई जङ्गलको राजा मान्ने उनीहरु यस वर्ष कर्णाली प्रदेश सरकारसँगै हातेमालो गर्दै दिवस समारोहमा सामेल भए । दिवसमा उनीहरुले पैसरु नाच देखाए, अरूलाई आकर्षित गरे, प्रदेश प्रमुखसहित मन्त्री र सरकारका उच्च अधिकारीहरुलाई समेत मनोरञ्जन दिए । 

 

जङ्गलको बास छोडेर दैलेखेको गुराँस गाउँपालिका–८ झ्याजेस्थित बस्दै आएका राउटे दक्षिण एशियाको लोपोन्मुख जातिका रुपमा मानिन्छ । पछिल्लो समयको विकास र मानव चहलपहलका कारण राउटे रहनसहन र संस्कार छोडेर आधुनिक संस्कृति अँगाल्न थालेका छन् । यसबारेमा भने राउटेका मुखिया वीरबहादुर शाहीले जङ्गलमा आफ्नो सिकार सकिएकाले मान्छेको नजीक जान बाध्य भएको बताए । 

 

“मान्छेले जुङ्गल मास्या (फँडानी गरे) । हाम्मो बास उठाया । सिकार नेठ्या (सके) । जङ्गलमा गुना बाँदर सकिदा मेरा जन्ता भोकै भया” मुखिया शाहीले दुःखेसो पोख्नुभयो, “हामी हाम्मै संस्कारमा रमाउन चाहान्छौँ ।” मुखिया शाहीले भन्नुभयो, “सरकारका ठूला मान्छेसँग संविधान दिवस मनाउन पाउँदा खुशी लाग्याछ । यहाँका जुन्तासँग दिवस मनाउन आया हौँ ।” 

 

सफा कपडा लगाएको, पढेको, चिल्लो र फुर्तिलो दुनियाँभन्दा आफ्नो पहिचान माथि रहेको उनले दाबी गरे । राउटे संस्कार, पहिचान र रहनसहन फेरबदल हुनुले अस्तित्व सङ्कटमा पर्ने चिन्ता रहेको मुखिया शाहीको भनाइ थियो । सामाजिक समन्वय केन्द्र (सोसेक)ले उनीहरुलाई गुराँस गाउँपालिकासँगको समन्वयमा दिवसमा सहभागी गराएको थियो । 

 

दिवस समारोहमा कर्णाली प्रदेश प्रमुख दुर्गाकेशर खनालले राउटे, कुसुण्डा जातिको हितमा सरकारले काम गर्नुपर्नेमा जोड दिए । उनले गुराँस गाउँपालिका दैलेखले पछिल्लो समयमा राउटेलाई राज्यको मूल प्रवाहमा ल्याउन परिचयपत्र उपलब्ध गराएको भन्दै धन्यवादज्ञापन गरे । 

राउटे संविधान दिवस

विशेष