कार्टेलिङ स्वीकार्य छैन : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि निर्माण र उत्पादन कार्य सँगसँगै अगाडि बढाउनुपर्ने भएकाले कुनै प्रकारको एकाधिकार (कार्टे्लिङ) स्वीकार्य नहुने बताएका छन् ।
नेपाल निर्माण व्यवसायी महासङ्घको २० औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले वर्तमान सरकारलाई कुनै अवाञ्छित लाभ लिन वा काम गर्नुपर्ने नभएकाले समयमा गुणस्तरीय कानुनसम्मत काम गर्न आग्रह गरेका हुन् ।
उनले व्यवसायीले समयमा काम गर्न नसक्ने औचित्वपूर्ण अवस्था भएमा सम्झौता अवधि बढाउन सकिने तर क्षमताभन्दा बढी काम ओगटेर काम नगर्ने कम्पनीका लागि पटकपटक अवधि थप्न नसकिने प्रधानमन्त्री ओलीले स्पष्ट गरे ।
व्यवसायीको हितमा मात्र नभई समग्र जनताको काम गर्न आग्रह गर्दै उनले जानीजानी कम गुणस्तर वा कम मात्राको सामग्री राखेर निर्माण गरी अनुचित लाभ लिन खोजेमा कारवाही हुने दृढता व्यक्त गरे । उनले आर्थिक अवस्थाअनुसार कम खर्चमा बढी उत्पादन र प्रतिफल हुने गरी काम गर्नुपर्ने भएकाले निर्माण व्यवसायीलाई समयमा गुणस्तरीय काम गरेर आफ्नो छवि राम्रो राख्न पनि आग्रह गरे । उनले कमीकमजोरी रहेका कानून परिमार्जन गर्न सरकार तयार रहेको बताए ।