मुख्य समाचार राजनीति

प्रतिनिधिसभाको संसदीय समितिले पूर्णता पाउँदै

प्रतिनिधिसभाको संसदीय समितिले पूर्णता पाउँदै

काठमाडौं । प्रतिनिधिसभाको १० वटा संसदीय समितिले पूर्णता पाएका छन् । प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको १० महिनापछि समितिहरू गठन भएका हुन् । सत्तारूढ नेकपाले ८ वटा र प्रमुख प्रतिपक्षी कांग्रेसले एक र अर्को सत्तारूढ दल संघीय समाजवादी फोरमले १ समितिको सभापति  लिएर संसदीय समिति गठन प्रक्रिया सम्पन्न भएको हो ।

 

सार्वजनिक लेखा समितिमा कांग्रेसका भरतकुमार शाहको मात्र उम्मेदवारी परेको छ । लेखा समिति विपक्षीदललाई दिने प्रचलनअनुसार कांग्रेसलाई दिइएको हो । सत्ता साझेदार दल फोरमले  उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा विमलप्रसाद श्रीवास्तवलाई पठाएको छ । 

 

८ वटा समितिमध्ये तत्कालीन एमालेबाट पाँच जना र तत्कालीन माओवादी केन्द्रबाट तीन जनाले समितिको सभापति पाउने पक्का भएको हो । नेकपाका सांसद कृष्णप्रसाद दाहालले अर्थ समितिमा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पनि पवित्रा निरौला खरेल, कानुन, न्याय तथा मानवअधिकार समितिमा कृष्णभक्त पोखरेल, महिला तथा सामाजिक समितिमा निरुदेवी पाल, विकास तथा प्रविधि समितिको सभापतिमा कल्याणीकुमारी खड्का, राज्य व्यवस्था तथा सुशासन समितिमा शशी श्रेष्ठ, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा पूर्णाकुमारी सुवेदी, शिक्षा तथा स्वास्थ्य समितिमा जयपुरी घर्तीलाई पठाइएको छ ।

समितिका सभापतिहरू निर्वाचित भएको औपचारिक  घोषणा शुक्रबार हुँदैछ ।   

संसदीय समिति

विशेष