मुख्य समाचार समाज देश

मन्दिरको भेटी पारदर्शी हुन सकेन् 

मन्दिरको भेटी पारदर्शी हुन सकेन् 

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले धार्मिकस्थलको भेटी व्यवस्थापन निर्देशिका जारी गरेको दुई वर्ष बित्दासमेत कार्यान्वयन हुन सकेको छैन । 

 

सरकारले दैनिक ५० र वार्षिक २० हजार बढी दर्शनार्थी आउने धार्मिकस्थलका हकमा यो निर्दे्शिका लागू हुने जनाएको थियो ।  निर्देशिकाले मठमन्दिर, गुम्बा, मस्जिद र चर्चलाई पनि धार्मिकस्थल भनी परिभाषित गरेको छ । विसं २०७३ कात्तिक २ गते मन्त्रालयले  निर्देशिका जारी गरेको थियो । धार्मिकस्थलमा श्रद्धापूर्वक अर्पण गरिने नगद र द्रव्य पदार्थ एवं जुनसुकै प्रकारको जिन्सी सामानसमेत भेटी हुने  निर्देशिकामा उल्लेख छ । निर्देशिका आएलगत्तै कार्यान्वयनका लाग तत्कालीन जिल्ला विकास समितिलाई पत्राचार गरिएको मन्त्रालयका पुरातत्व अधिकृत करुणा नकर्मीले जानकारी दिइन् ।

 

“पत्राचार गरेपछि पोखराको विन्ध्यवासिनी मन्दिरमा समिति गठन गरेर भेटी व्यवस्थापन भएको जानकारी प्राप्त भएको छ, अनुगमनका क्रममा अन्यत्र भेटी व्यवस्थापन हुन सकेको छैन”, उनले भनिन् । 

 

अनुगमनका क्रममा बागलुङको कालिका मन्दिरमा समितिले नै भेटीलगायतको व्यवस्थापन राम्रो गरेको भेटिएको मन्त्रालयले जनाएको छ । विसं २०६८ चैत २६ गतेदेखि पशुपतिनाथ मन्दिरको भेटी भने पारदर्शी हुन थालेको छ । पशुपति क्षेत्र विकास कोषले बनाएको भेटी व्यवस्थापन नियमावलीले पशुपति क्षेत्रका अन्य मन्दिरको भेटी पारदर्शी गर्ने भनिए पनि अझै हुन सकेको छैन । पशुपतिनाथको चन्दा बाकसमा हालिएको भेटी हालसम्म खर्च कटाएर १८ करोड कोषको खातामा रहेको लेखा शाखा प्रमुख प्रेमहरि ढुङ्गानाले जानकारी दिए । भेटीबाट जम्मा भएको पैसाले पशुपतिनाथको नित्य, विशेष पूजा चलाउने, भट्ट, भण्डारीलगायत कर्मचारीलाई तलब दिने गरिएको कोषले जनाएको छ । 

मन्दिरको भेटी

विशेष