लक्षचण्डी महायज्ञमा पूर्वराजा परिवारसहित सहभागी हुने
काठमाडौं । भारतको मुम्बईमा हुने श्री लक्षचण्डी महायज्ञमा पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित सहभागी हुने भएका छन् । असोज २४ गतेदेखि कात्तिक १ गतेसम्म हुने महायज्ञमा सहभागी हुन श्री शिव–शक्ति राहुलेश्वरानंद फाउन्डेसनको निम्तोमा पूर्वराजा शाह असोज २८ मा महायज्ञस्थल पुग्ने कार्यत्रम तय भएको सम्बद्ध स्रोतले जानकारी दिएको छ ।
एक लाख चण्डी पाठ, १ हजारवटा हवनकुण्ड र १ हजार १ सय ब्राम्हणको सहभागीतामा हुने यस महायज्ञलाई विश्वकै विराट यज्ञको रुपमा समेत लिइएको छ । विश्वशान्ति एव जनकल्याणका लागि आयोजना हुने यस लक्षचण्डी महायज्ञ घटस्थापनाको दिन शुरु भई महानवमीमा सम्पन्न हुनेछ ।
विश्वको अद्धितीय तथा परमकल्याणकारी महापर्वका रुपमा लिइएको महायज्ञमा भारत, नेपालका मात्रै नभएर विश्वभरका हिन्दु संघसंस्था, राजनीतिक पार्टीहरुले समेत सहभागीता जनाउनेछन् ।
श्री शिव–शक्ति राहुलेश्वरानंद फाउन्डेसनका संस्थापक स्वामी राहुलेश्वरानंदले पृथ्वीको रक्षाका लागि महायज्ञको आयोजना गरिएको उल्लेख गरेका छन् । राहुलेश्वरानंदद्वारा जारी सन्देशमा भनिएको छ, ‘जब जब पृथ्वीमा भीषण संकट उत्पन्न हुन लाग्थ्यो, त्यो बेला लक्षचण्डी महायज्ञको आयोजना गरेर विपतलाई टार्न वा केही सीमासम्म कम गराउने गरिन्थ्यो । अहिले फेरि पनि पृथ्वी विभिन्न किसिमको संकटबाट सामना गर्न गइरहेको छ । सन् २०१८ देखि २०२५ सम्म मानिसको जीवनमा अनेक उथलपुथल आउनेछ । मानिसहरु अकाल मृत्युको कारण अतृप्त आत्म भट्किनेछ । जीवीत मानिसहरुमा त्राही त्राही मच्चिने छ । यहि विपत र संकटलाई टार्न लक्षचण्डी महायज्ञको आयोजना गरिएको हो ।’
राहुलेश्वरानंदको मार्ग निर्देशनमा हुने लक्षचण्डी महायज्ञ विशेषरुपले माँ भगवती चामुण्डा र विनायकको आराधना पनि मानिएको छ । यी चामुण्डा र विनायकको आराधनाबाट कलियुगमा समेत चाँडै फल प्राप्त हुने विश्वास गरिन्छ ।
श्री शिव–शक्ति फाउन्डेसनले नेपालमा पनि विभिन्न सामाजिक रुपान्तरणका क्षेत्रमा सांस्कृतिक चलन र परम्पराको माध्यमबाट समाजक विकासमा योगदान दिएको छ । शिव सेना नेपालको संयोजन र शिव–शक्ति फाउन्डेसनको प्रेरणामा नेपालमा १ सय जोडीको निःशुल्क सामूहिक विवाह पशुपतिनाथस्थित वनकालीमा सम्पन्न गरिएको थियो । भूकम्पका बेला विभिन्न जिल्लामा राहत वितरणका लागि समेत यो संस्था क्रियाशील भएको थियो । त्यतिमात्रै होइन भारतले गरेको नाकाबन्दीको समयमा ६ महिनासम्म निःशुल्क भण्डाराको आयोजना गरेको थियो ।
त्यस्तै गरी फाउन्डेसनले सामूहिक समावेशी चूडाकर्म (जनै धारण)को आयोजना पनि गर्दै आएको छ ।
फाउन्डेसनले आयोजना गर्ने लक्षचण्डी महायज्ञमा जोकोहीले पनि भाग लिन पाउनेछन् । यस्तो महान अनुष्ठानमा भाग लिन, सेवा गर्न चाहनेले श्री लक्षचण्डी महायज्ञ समितिमा सम्पर्क गर्न सक्नेछन् । यसकालागि ९८५१०६०७३३, ९८४०४७८९६७, ९८५७०४६१७५, ९८४१४६५३३० मा सम्पर्क गर्न सकिन्छ ।
महायज्ञमा नेपालबाट कम्तिमा एक हजार शिव सैनिकहरुले सहभागीता जनाउने भएका छन् । शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत ‘बाबा’का अनुसार विश्वमा बिरलै हुने यस्तो महायज्ञमा सहभागी हुन सार्वजनिक आह्वान गरिएको छ । जसअनुसार शिव सेनामार्फत करिब १ हजार शिव सैनिक भारत प्रस्थान गर्ने तयारी भएको हो ।
अनिल बस्नेत ‘बाबा’ राहुलेश्वरानंद लक्षचण्डी महायज्ञ